हगुल्टेमा भेटिएको विस्फोटक पदार्थ सेनाद्वारा डिष्पोज



डडेल्धुरा । 

सशस्त्र द्वन्द्वका बेला तत्कालीन माओवादी र सुरक्षाफौजबीच पटक पटक भिडन्त भएको डडेल्धुराको महाभारत वन क्षेत्रमा खतरनाक विस्फोट पदार्थ भेटिएको छ।
आइतबार आलिताल गाउँपालिका–१ हगुल्टेको रतनटुडास्थित सामुदायिक वनमा विस्फोटक पदार्थ भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हगुल्टे लेकको चुचुरोमा पर्ने चित्रकुट सामुदायिक वनभित्र विस्फोटक पदार्थ फेला परेको छ । आलिताल गाउँपालिका–११ का ४५ वर्षीय भक्त बहादुर बोहराले बाख्रा चराउने क्रममा एट्टीवान (८१)  मोर्टारको एक थान सेल भेटाएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चौकी गाङखेतबाट प्रहरी टोली त्यहाँ पुगेको सदरमुकाम नजिकै रहेको दह ब्यारेकबाट खटिएको  नेपाली सेनाको टोलीले विस्फोटक पदार्थ डिष्पोज गरेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

सशस्त्र द्वन्दकालमा माओवादी वा सेनाले प्रयोग गरेकोे हतियार हुन सक्ने प्रहरीको आशङ्का छ । हगुल्टेको यो क्षेत्रमा संकटकालमा द्वन्द्वरत माओवादी र सेनाबीच पटक पटक दोहोरो भिडन्त भएको थियो । वि.सं. २०६१ साल जेठ ६ गते भएको दोहोरो भिडन्तमा तत्कालीन शमशेर दल गणका सहसेनानी लक्ष्मण अधिकारीसहित ६ जना सेना मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्