प्रेस चौतारी नेपाल रामेछापद्वारा महासङ्घको भवनमा कालो झन्डासहित तालाबन्दी



रामेछाप।

प्रेस चौतारी नेपाल रामेछापले नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रामेछापमा कालो झन्डासहित तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासङ्घले जारी गरेको सदस्यता शुद्धीकरणसम्बन्धी मापदण्ड, २०७९ विपरीत सदस्यता शुद्धीकरण र नयाँ सदस्यताका लागि सिफारिस गरेपछि प्रेस चौतारी रामेछापले आज महासङ्घमा कालो झन्डासहित तालाबन्दी गरेको हो ।

 प्रेस चौतारी रामेछापले गत जेठ ३२ गते एक विज्ञप्ति जारी गरी ४८ घण्टाभित्र आफ्ना गलत निर्णय सच्याएर अघि बढ्न आग्रह गदै नसच्याएर चरणबद्ध रूपमा आन्दोलन कार्यक्रम अघि बढाउने चेतावनी दिएको थियो । तर महासङ्घले आफ्ना गलत निर्णय र कदमबाट पछि हट्ने कुनै सङ्केत नदेखाएपछि आन्दोलनको कार्यक्रम अघि बढाएको प्रेस चौतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिनुभयो।

प्रेस चौतारी रामेछापले २०८० जेठ २८ गते पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरेलाई भेटेर ध्यानाकर्षण पत्रसहित एक विज्ञप्ति नै सार्वजनिक गरेर सदस्यता शुद्धीकरणसम्बन्धी मापदण्ड, २०७९  अक्षरशः पालना गरेर अघि बढ्न आग्रह गरेको थियो । तर लगत्तै महासङ्घले आफू निकट कुनै दल विशेष पार्टीको कार्यकर्ता भर्ती केन्द्रको रूपमा स्थापित गर्ने गरी योग्य सदस्यलाई शुद्धीकरणका नाममा हटाउने र नयाँ सदस्यताका लागि योग्य पत्रकारलाई समेत सदस्यता प्राप्त गर्नबाट वञ्चित गर्ने गलत मनसायका साथ निर्णय गरेको थियो ।

त्यसपछि प्रेस चौतारी रामेछापले पुनः विज्ञप्ति निकालेर पत्रकार महासंघ सदस्यता शुद्धीकरणसम्बन्धी मापदण्ड, २०७९ अनुसार निर्णय सच्याएर अघि बढ्न आग्रह गरेको थियो ।

तर आफूहरूले गरेका सबै आग्रह र अनुरोधको बेवास्ता गरेपछि पत्रकार महासङ्घ रामेछापको असक्षम, अविवेकी र भ्रष्ट वर्तमान नेतृत्वले गरेका गलत निर्णयका विरुद्धमा आन्दोलनको कार्यक्रम सशक्त ढङ्गले अघि बढाइएको प्रेस चौतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठले बताउनुभयो ।

 अझैँ महासङ्घले आफ्ना गलत निर्णय नसच्याए यसअघि सार्वजनिक गरिएका मापदण्ड विपरीत सदस्यता कायम रहेका सदस्यको नाम सार्वजनिक गर्ने, पत्रकार महासङ्घका प्रतिनिधि सहभागी हुने कार्यक्रममा हस्तक्षेप र बहिष्कार गर्ने,  निर्णय नसच्चिएसम्म पत्रकार महासङ्घका सबै गतिविधि ठप्प गराउने र प्रेस चौतारी नेपालको जानकारीमा रहेका सरकारी सेवामा कार्यरत भएर पनि सदस्यता कायम नै राखिएका सदस्यको सो सम्बन्धमा सम्बन्धित कार्यालयलाई महासङ्घले बनाएको मापदण्डबारे जानकारी गराई कार्यालयमा राजीनामा दिए नदिएको यकिन गर्न सूचना माग गर्ने लगायतका कार्यक्रम सशक्त रूपमा अघि बढाउने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

पत्रकार महासङ्घ रामेछापको असक्षम, अविवेकी र भ्रष्ट वर्तमान नेतृत्वले ‘सदस्यता शुद्धीकरण सम्बन्धी मापदण्ड, २०७९’ को बुँदा नं ८, ९, १०, १३ र १४ को ठाडो उपहास गरी प्रतिशोध र पुर्वाग्राहीपूर्ण ढङ्गबाट महासङ्घमा हाल कायम रहेका सरकारी जागिरे, शिक्षक, राजनीतिक दलका नेता, पेसामा नै आबद्ध नरहेका, विभिन्न पेसा व्यवसायमा आबद्ध भएकाको सदस्यता यथावत् राख्ने, फरक विचार राखेकै कारण क्रियाशील सदस्यलाई निष्क्रिय घोषणा गर्ने, पेसामा नै नरहेकोलाई नयाँ सदस्यमा सिफारिस गर्ने गरी महासंघले गलत निर्णय गरेको प्रेस चौतारी रामेछापले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्