नुबैरको एकल अग्रता



काठमाडौं । नेपाल बुद्धि चाल महासंघको आयोजनामा भइरहेको साउथ एशियन बुद्धिचाल च्याम्पियनसिपको दोस्रो दिन तेस्रो चरणको खेल समाप्तिमा भारतका नुबैर शाह शेखले एकल अग्रता लिएका छन् ।

२४०६ रेटेड ईन्टर नेशनल मास्टर नुबैरले दोस्रो चरणको खेलमा भुटानका डिक्चेन दोर्जीलाई पराजित गरी ३ अंक सहित एकल अग्रता लिएका हुन् । कालो गोटी लिएर अखेलेन प्रणालीमा खेल सुरु गरेका दोर्जीले खेलको पाँचौ चालमा नै गल्ती गर्न पुगे र नुबैरलाई धोडा उपहार दिन पुगे । लगत्तै नुबैरले दवाव बढाउँदै खेलको ३९ औं चालमा बाजि मार्न सफल भए ।

उनले तेस्रो चरणको खेलमा पाकिस्तानका २२२४ फिडे मास्टर अमिर करिम माथि सफलता हात पारे । सेतो गोटी लिएर नुबैरले ईङलिस ओपनिङ प्रणालीमा खेल सुरुवात गरे । कालो गोटी लिएका अमिरले खेलको सातौ चालमा नै उँट बलिदान गरि प्यादा २ वटा लिएर नुबैरलाइ दवाबमा राख्न खोजे । रक्षात्मक खेलमा माहिर नुबैरले अमिरको हरेक चाललाइ विफल पार्दै अन्ततः खेलको २१ औं चालमा अमिरलाइ खेल त्याग बाध्य बनाए।

बंगलादेश फिडे मास्टर २२०६ रेटेड हसन पराग मेहन्दी साढे २ अंक सहित दोस्रो स्थानमा रहेका छन्। दोस्रो चरणको खेलमा बंगलादेशकै अब्दुल मलेक मोहम्मदलाई प्रतिस्पर्धात्मक खेलमा मलेक लाई ६२ औं चालमा निरास बनाए भने तेस्रो चरणको खेलमा नेपालका २०२८ रेटेड क्षितिज भण्डारीसंग बराबरी खेली अंक बाँडेका थिए।

नेपालका पुरुषोत्तम सिलवाल ,भारतीय ग्राण्ड मास्टर सत्यन दास र पाकिस्तानका अमिर करिमले ३ अंक सहित संयुक्तरूपमा तेस्रो स्थानमा रहेका छन्। पुरुषोत्तमले दोस्रो चरणको खेलमा नेपाल कै पूर्व नेपाल च्याम्पियन सुरवीर लामालाई रोचक खेलमा पन्छाउन सफल भए भने सत्यनले भारतका डिक्चेन दोर्जीलाई उ दोस्रो चरणको खेलमा र तेस्रो चरणको खेलमा पुरुषोत्तमलाई हराए।

ललितपुरको गोदावरी स्थित होटेल भ्यु भृकुटीमा संचालन भइरहेको महिलातर्फ दोस्रो चरणको खेल सम्पन्न हुँदा भारतीय इन्टरनेशनल मास्टर २२२५ रेटेड साक्षी आनन्द र १९१३ रेटेड बंगलादेशका डिफेन्डिङ च्याम्पियन वहिदा वादिफा २ अंक सहित संयुक्तरूपमा शिर्ष स्थानमा रहेका छन् ।

साक्षीले पहिलो चरणको खेलमा नेपालका फिडे मास्टर सुजना लोहनीलाई निरास गरे भने दोस्रो चरणमा नेपालकै रिया श्रेष्ठ माथी जित निकालेका थिए। त्यसैगरी वहिदाले दोस्रो चरणको खेलमा माल्दिप्सका ११०८ रेटेड खेलाडी नुहा रिवानलाई र पहिलो चरणमा रिया श्रेष्ठलाई निराश पारिन् ।

नेपालका शुसिला गुरुङ, सुजना लोहनी , शान्ति धिमाल र बंगलादेशका फेरदोस जन्नतुलले १ अंक जोडेका छन्। सुशिलाले पहिलो चरणको खेलमा फेरदोस जन्नतुललाई पराजित गरिन् चने दोस्रो चरणको खेलमा सुजनासंग हारिन। पहिलो चरणको खेलमा माल्दिप्सका नुहा रिवानलाई हराएका शान्ति दोस्रो चरणको खेलमा फेरदोससंग निराश भइन् ।

 

प्रतिक्रिया दिनुहोस्