अवसर खेर फाल्दा नेपाल पराजित



काठमाडौं । आगामी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि भएकोे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग १–० ले पराजित भएको छ । फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा बिहीबार भएको खेलमा नेपाल हारेको हो । दोस्रो हाफको सुरुवातमा भएको एक गोल नै नेपालले हार स्विकार गर्न पर्याप्त भएको थियो ।

उक्त खेलमा नेपालले गोलको अवसर प्राप्त गरेपनि त्यसको फाइदा उठाउन सकेन । जसले गर्दा नेपाल हार्नु परेको थियो । तर, खेलमा बल पोजेसनको तुलना गर्दा भने फिलिपिन्सको ७० प्रतिशत थियो । नेपालको केवल ३० प्रतिशत मात्रै रहेको थियो । यसमा ९ प्रहार लक्ष्यतिर थियो तर, गोल भने भएन । यसमा १४ औं मिनेटमा एरिक विष्टको प्रहार पोस्ट बाहिर गएको थियो ।

६२ औं मिनेटमा फ्रिकिकमा अनन्त तामाङको हेडर पोस्टमा लागेर फर्किएको थियो । एरिकले दायाँ क्षेत्रबाट प्रहार गरेको फ्रिकिक बललाई अनन्तले पोस्ट नजिकबाटै हेड गरेका थिए । तर, बल पोलमा ठोक्किएको थियो । ८८ औं मिनेटमा पनि अनन्तकै हेडर प्रहार विपक्षी गोलकीपरले बचाएका थिए ।

नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्नेछ । साफ च्याम्पियनसिप भारतको बैंग्लोरमा असार ६ गतेदेखि १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा आयोजक भारतसँगै पाकिस्तान र पहिलो पटक सहभागी हुन लागेको कुवेत छ । अर्को समूहमा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

प्रतिक्रिया दिनुहोस्