पाँच दलको मोर्चा बन्दा पनि तेस्रो शक्तिमै सीमित हुने

0
Shares

काठमाडौं । वामपन्थी र कम्युनिस्ट पार्टीहरूबीच समाजवादी मोर्चा बनाउँदा पनि उक्त मोर्चा संसद्मा तेस्रोमै सीमित हुने भएको छ । अहिले तेस्रो शक्ति भएर सरकारको नेतृत्व गरिरहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साना कम्युनिस्ट घटकहरू मिलाउदा पनि तेस्रो स्थानमा पुग्नुहुनेछ ।

समाजवादी मोर्चा घोषणाको संघारमा पुगेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’सँग नेकपा (एकीकृत समाजवादी) जसपा, र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सामेल हुँदा संसद्मा तेस्रो हुने नेताहरूले बताएका छन् । संसद्मा शक्तिशाली बन्ने उद्देश्यका साथ समाजवादी मोर्चा बनाउन कसरत गर्दै आएका प्रचण्डको प्रयास शुक्रबार निर्णयक तहमा पुग्ने माओवादीका नेताहरूले बताएका छन् ।

तेस्रो निर्णायक शक्तिको सदुपयोग गर्दै प्रधानमन्त्री बनेका प्रचण्डले मोर्चा घोषणा भएपछि ५४ सिटको नेतृत्व गर्नुहुनेछ । प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सिट रहेको छ । माओवादीको ३२ सिटमा नेसपाका दुई सांसद छन् । नेसपासमेत सहभागी हँुदा संसद्मा प्रधानमन्त्री प्रचण्डको सिट ५६ पुग्नेछ ।

उक्त मोर्चाभन्दा माथि ७७ सिटका एमाले दोस्रो र ८८ सिटका नेपाली कांग्रेस पहिलो शक्तिको रूपमा कायमै रहनेछन् । मोर्चाको भविष्यमा एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्नेसम्मको लक्ष्य रहेको बताइएको छ । तर, मोर्चाको नेतृत्व आलोपालो गर्ने वा कसरी गर्ने भन्ने विषय अझै नटुंगिएको नेताहरूले बताए । समाजवादी मोर्चाबारे छलफल गर्न एकीकृत समाजवादीले आज शुक्रबार बिहान पदाधिकारी र सचिवालयको बैठक बोलाएको बताइएको छ ।