एमालेमा उमेरको बहस- ७० वर्षे उमेरहदको पक्षमा बलियो मत

सचिवालय बैठकले उमेर हद निलम्बन गरेपछि अध्यक्ष ओलीलाई फेरि तेहेरिने मौका

0
Shares

जीवन शर्मा । संसदको दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को कार्यकारी जिम्मेवारीमा ७० वर्षे उमेर हदका विषयमा बहस चलेको छ । पार्टीको नवौं र १० औं महाधिवेशबाट विधानमै व्यवस्था गरिएको ७० वर्षे उमेर हदको दफा विधानबाटै निलम्बन गरेपछि उमेर हदको बहसले चर्चा पाएको हो ।

गत हप्ता सचिवालय बैठकले उमेर हद निलम्बन गरेपछि अध्यक्ष ओलीलाई फेरि नेतृत्वमा तेस्रोपटक पनि आउने मौका मिलेको छ । ‘सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्नेछ,’ एमाले विधानको धारा ६४ मा भनिएको छ । ‘तर ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन÷अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा पुग्ने छैन ।’ पार्टीको सचिवालय बैठकले कार्यकारिणी समितिमा लाग्ने उमेर हद हटाएसँगै उक्त व्यवस्थालाई पुनः सक्रिय राख्नुपर्ने मत बलियो भए पनि पार्टी नेतृत्वसँग प्रष्ट कुरा राख्न भने कसैले हिम्मत गरेका छैनन् । यद्यपि, ७० वर्ष मुनिका धेरैजसो नेताहरूले पार्टीको कार्यकारी पदमा ७० वर्षे उमेरहद कायम राख्नुपर्ने पक्षमा अनौपचारिक अभिव्यक्तिहरू दिँदै आएका छन् ।

एमालेका कतिपय नेताहरूले उमेर हदको व्यवस्थालाई विधानबाट हटाएको नभई स्थगित मात्रै गरिएको दाबी गरेका छन् । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले कार्यकारी पदमा उमेर हदको व्यवस्था हटाउने वा नहटाउने भन्ने विधान महाधिवेशनमा निर्णय गर्ने बताउनुभयो । पार्टीको नवांै र १० आंै महाधिवेशनमा उमेर हदको प्रस्ताव गर्दै उक्त व्यवस्थाका पक्षमा खुलेर वकातल गर्दै आउनुभएका ज्ञवालीले ७० वर्ष माथिका नेताहरू कार्यकारी पदबाट स्वतः अवकाश हुने नीतिगत व्यवस्था कायमै राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘बदलिँदो परिवेशअनुसार पार्टीमा नेतृत्व हस्तान्तरण गर्दै लैजानुपर्छ, त्यसका लागि यो व्यवस्था कायमै राख्नुपर्ने मेरो मत हो । यसले पुरानाप्रतिको नकारात्मक धारणामा समेत परिवर्तन आउँछ ।’ उहाँले उमेरहदलाई कायम राख्दै र नयाँ ढंगको वैज्ञानिक सोच नयाँ विचार, नेतृत्व क्षमता भएका साथीहरूलाई पार्टीको जिम्मेवारी दिएर पुराना नेताहरूले विश्राम लिनुपर्ने विषयमा सबै नेता तथा कार्यकर्ताले गम्भीर रूपमा सोच्नुपर्ने बताउनुभयो ।

७० वर्षमाथिका नेताहरू भने पार्टी चलाउने कुरामा उमेरहदको मापदण्ड राख्न आवश्यक नभएको जिकिर गर्छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले युवा भनेको उमेरले भन्दा पनि विचार र क्षमताले हुने भन्दै उमेरहदको विषय ठूलो नभएको बताउँदै आउनुभएको छ । उमेर हदभन्दा पनि कार्यशैली र क्षमताले नेतृत्वको विकास हुनुपर्ने उहाँको तर्क छ । यसमा अध्यक्ष केपी शर्मा ओलीका केही विश्वास पात्रहरू पनि सहमत छन् । वर्तमान अवस्थामा पार्टी बाहिर पुगेका कतिपय पुराना नेताहरूको व्यवस्थापनका लागि उमेरहदको मापदण्ड हटाइएको भनिए पनि आगामी महाधिवेशनमा पुनः नेतृत्वमा आउने चाहनाका कारण यो व्यवस्था हटाइएको एमालेका एक केन्द्रीय सदस्यले बताए । उनले भने– ‘पार्टीमा एक खालको प्रवृति कायमै छ । केही नयाँ र नेतृत्वकै वरिपरि घुमिरहनेहरूले फेरि पनि एउटै व्यक्ति नेता भइरहोस् भन्ने ठानेका छन् । त्यस्ता पात्रहरू पार्टीमा संस्थागत सुधार गरेर पार्टी बलियो बनाउनु भन्दा पनि आफू बलियो हुनुपर्छ भनेर लागेका छन् ।’

तर, एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईले पार्टीको विधानबाट ७० वर्षे उमेरहद केही समयका लागि मात्रै हटाएको र अहिले पुनः चालु अवस्थामा रहेको जिकिर गर्नुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टी बाहिर रहेको ७० वर्ष माथिका नेताहरूलाई पार्टीमा भित्र्याउने प्रयोजनमा केही समयका लागी मात्रै उमेरहदको व्यवस्था हटाइएको हो । अहिले पुरानै अवस्थामा फर्किसकेको अवस्था छ । नेकपा एकीकृत समाजवादीका उपाध्याध्यक्ष मुकुन्द न्यौपाने र एमालेका पूर्व नेता बामदेव गौतमलाई एमालेमै फर्कनका लागि बाटो खुल्ला गरिएको मात्रै हो ।’

विधानको व्यवस्था फेरि पहिलाकै अवस्थामा फर्किसकेको दाबी गर्दै नेता भट्राइले अहिले पनि विधानमा ७० वर्षे उमेर हद कायमै रहेको बताउनुभयो । आगामी महाधिवेशनमा आवश्यकता पर्यो र फेरि पनि ओली नै अध्यक्ष बन्नुपर्ने स्थिति आयो भने त्यसवेला पुनर्विचार गर्न सकिने नेता भट्टराईको भनाइ छ । विभिन्न कारणले बाहिएका, अल्मलिएका नेता कार्यकर्ताहरूलाई एमालेले भूमिका दिएर लैजाने विषयमा पार्टीभित्र छलफल भएको बताउँदै उहाँले एमालेबाट बाहिरिरहेका बामदेव गौतम, डा. भीम रावल, मुकुन्द न्यौपानेलगायत नेताहरूको व्यवस्थापनमा पार्टी सकारात्मक रहेको बताउनुभयो । उहाँले नेकपा (एकीकृत समाजवादी)मा गएका एमाले नेताहरूसँग समेत छलफल भइरहेको दाबी पनि गर्नुभयो । पार्टीले मिसन योङ जेनेरेसनको अभियान शुरू गरेको जिकिर गर्दै भट्टराईले पार्टीको गत पाँचांै बैठकले ३५ वर्ष मुनिका एक तीहाई युवा सदस्यलाई इकाइदेखि केन्द्रसम्मका कमिटीमा राख्ने निर्णय गरेको बताउनुभयो ।

एमालेले विधानबाट ७० वर्षे उमेर हदलाई निलम्बन गरेपछि पूर्व नेताहरू वामदेव गौतमलगायत पार्टीमा आउने तयारी भइरहेको छ । विधानबाट उमेर हद हटाएपछि गौतमले उत्साही हुँदै एमालेमा जान सकिने अभिव्यक्ति दिँदै आए पनि पार्टीको जिम्मेवारीका विषयमा कुरा नमिलेर अलमलमा हुनुहुन्छ । ७० वर्षे उमेरहद हटाएपछि एमाले अध्यक्ष ओलीले गौतमको संगठित सदस्य एमालेमै रहेको बताउनुभएको थियो । बुटवलमा २०६५ सालमा भएको आठौं महाधिवेशनबाट एउटै कार्यकारी पदमा दुई पटकभन्दा बढी निर्वाचित हुन नपाइने व्यवस्था गरेको एमालेले २०७१ सालमा काठमाडौंमा भएको नवौं महाधिवेशनबाट ७० वर्ष उमेर हदको प्रावधान विधानमै राखेको थियो ।

यसपटक मुकुन्द न्यौपानेलाई देखाएर सचिवालय बैठकबाट उक्त बुँदा निलम्बन गरेपछि बामदेव गौतमलगायत एमाले छाडेका पुराना नेताहरूलाई पार्टीमा ल्याउन बाटो खुलेको नेताहरूको भनाइ छ । गौतमसँगै केशवलाल श्रेष्ठ, हरि पराजुली, बलराम बाँस्कोटालगायतका नेताहरू पनि एमालेमा आउने बताइएको छ । एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री पनि एमालेमा आउनसक्ने भन्दै छलफल भइरहेको एमाले स्रोतले जनाएको छ । विगत लामो समयदेखि माधव नेपालसँग असन्तुष्टि जनाउँदै आएकी झाँक्रीलाई एमालेमा भित्र्याउने कसरत भइरहे पनि एकीकृत समाजवादीले भने यसलाई एमालेको झुटो प्रचार भन्दै टिप्पणी गरेको छ ।