भीरकोट पार्कमा वनभोजका लागि सबै सुविधा



स्याङ्जा। 

जिल्लाको भीरकोट नगरपालिका १ स्थित शिशौघारीमा निर्मित नमूना पार्क हिजोआज सबैको आकर्षणको केन्द्र बनेको छ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणसँगै नमूना पार्क बनाइएको हो । तत्कालीन भीरकोट नगरप्रमुख छायाँराम खनालले फोहोरमैला व्यवस्थापनसँगै पार्क पनि निर्माणको परिकल्पना गर्नुभएको थियो ।

फोहोरको व्यवस्थापनसँगै नमूना पार्क निर्माणपछि स्थानीय खुसी भएको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले बताउनुभयो । ‘भीरकोट बालमैत्री नगर हो । बालबाटिकाको कल्पनासँगै निर्माण गरिँदै जाँदा आज जिल्लाकै रमणीय र नमूना पार्क बनेको छ । अवलोकन, वनभोज र रमाइलो भेटघाटका लागि यहाँ आउने मानिस धेरै हुन्छन् । सार्वजनिक बिदाका दिन पार्कमा घुइँचो लाग्छ,’ उहाँले भन्नुभयो, फोहोरमैला व्यवस्थापन बारे अध्ययन, अवलोकन र सिकाइका लागि पनि धेरै जिल्लाबाट यहाँ आउने गरेका छन् । पार्कमा ईन्टरनेट, खानेपानी, व्यवस्थित शौचालयको समेत सुविधा छ ।  आवश्यकता अनुसार  पार्कलाई थप  व्यवस्थित र पर्यटकमैत्री बनाइने  नगर प्रमुख कर्माचार्यले बताउनुभयो ।

भीरकोट नगरपालिकाको पर्यटकीय गन्तव्य भीरकोट पार्कमा वनभोज गर्न चाहनेका लागि थप सहज भएको छ । वनभोजमा रमाउन चाहनेहरुका लागि भाँडाकुँडाको समेत प्रबन्ध गरिएको पार्क व्यवस्थापक कृष्ण अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “करिब १ सय जना व्यक्तिहरुलाई पुग्नेगरी भाडाँकुडाको व्यवस्था गरिएको छ । आवश्यकता अनुसार थप भाँडा चाहिएमा पनि उपलब्ध  गराइने पार्क व्यवस्थापनले जनाएको छ । नयाँ आर्थिक वर्षदेखि भाँडाकुँडाको सुविधा लिएर पार्कमा रमाइलो वनभोज गर्न चाहनेले थप शुल्क तिर्नुपर्ने भएपनि अहिले भने २० जना सम्मलाई ५ सय र २० जना भन्दा माथिलाई १ हजार रुपैयाँमा उक्त सुविधा पाइने अर्यालले बताउनुभयो ।

पार्कमा नियमित जसो वनभोजका लागि वालिङ , पुतलीबजार, भीरकोटका स्थानीयहरु आउने गरेका छ्न् । पालिकाको वडा नं ४ स्थित आँधीखोलाको किनारमा अवस्थित पार्क एकदमै शान्त र रमणीय छ । दहथुम मा.वि. चोकबाट जान सकिने पार्कमा सानो ठूलो जस्तोसुकै सवारी साधन पनि जान सक्छ । पार्कमा २० रुपैयाँ प्रवेश शुल्क लाग्छ तर अध्ययन अवलोकनका लागि आउने विद्यार्थीहरुका लागि ५० प्रतिशत छुट छ । ५ वर्ष मुनिका बालबालिका र ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । शनिवार र बिदाको दिन घुमफिर र वनभोजका लागि सयौं आन्तरिक पर्यटक आउने गरेको व्यवस्थापक अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्