एलएनए र एन्जल्स हार्टलाई उपाधि

0
Shares

काठमाडौं . लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्टले प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । एलएनए सिनियर गल्र्स तथा एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने ।

तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्सको उपाधि भिडन्तमा एलएनएले न्यु एरालाई २३–१४ ले पराजित ग¥यो । एलएनएको जितमा सिमरन महर्जनले ८ अंक योगदान गरिन् ।

मनमैजुस्थित एलएनएको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा रुपेश पौडेलको १४ अंक सहयोगमा एन्जल्स हार्टले एलएनएलाई ५१–३३ ले हरायो । दुवै समूहमा हिमरश्मीले तेश्रो स्थानमा चित्त बझायो ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रुपेश र सिमरन आ–आफनो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जुनियर ब्वाइजमा एलएनएका साहिद पुन तथा सिनियर गल्र्समा न्यु एराकी प्रनिशा श्रेष्ठ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । साहिदले ५६ तथा प्रनिशाले ५० स्कोर गरे ।

विजेतालाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, काठमाडौं प्याब्सनका अध्यक्ष प्रेमकुमार राई, तार्केश्वर नगर प्याब्सनका अध्यक्ष धनबहादुर पुन र उपाध्यक्ष गोपाल बुढाथोकी, तार्केश्वर नगरपालिका वडा १० का अध्यक्ष कुमार राई, प्रा.डा. प्रदीपचन्द्र गौतम, प्राध्यापक श्यामकृष्ण विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ २५ देखि सुरु प्रतियोगिताको जुनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा १४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।