सिटीको डबल ह्याट्रिक, ३३ वर्षपछि जुरमुर्राएको नापोली



लन्डन । युरोपेली फुटबलमा इंग्ल्याण्ड, स्पेन, जर्मनी, इटाली र फ्रान्सको घरेलु लिगलाई शीर्ष पांच लिगबाट सम्बोधन गरिन्छ । फुटबल प्रेमीहरुका लागि इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, जर्मन बुन्डेसलिगा, इटालियन सिरी ‘ए’ र फ्रेन्च लिग वान कुनै नौलो नाम पक्कै होइन । सञ्चार सेवाको पहुँच सहज भएसँगै युरोपका यी पाँचवटा लिगको दर्शक पनि विश्वभर बढ्दो छ । यो वर्ष यिनै पाँचवटा लिगको सिजन समाप्त भइसकेको छ । यसपाली पाँचमध्ये तीन लिगका विजेता दोहोरिए भने इटालीको नापोली र स्पेनको बार्सिलोना पुनः एकपटक बाजी मार्न सफल रहे । समग्रमा भन्नुपर्दा सबैभन्दा सफल चाहिँ इंग्लिश क्लब म्यानचेस्टर सिटी सावित भए । यसपटक सिटीले उपाधिमाथि डबल ह्याट्रिक ग¥यो । सिटीले इंग्लिश प्रीमियर लिगको उपाधि लगातार तीन पटक उचाल्नुका साथै यूईएफए च्याम्पियन्स लिग र एफए कप पनि जितेर उपाधिमाथि डबल ह्याट्रिक गरेका ग¥यो । च्याम्पियन्स लिगको उपाधि पहिलो पटक जितेर त सिटीले नयाँ इतिहास नै कोर्न सफल भयो ।

त्यस्तै, बुन्डेसलिगाको अन्तिम दिन भाग्यको साथले बायर्न म्युनिख पुनः एकपटक च्याम्पियन बन्दा सिरि ए मा ३३ वर्षपछि लिग च्याम्पियन बनेको नापोली दोस्रो स्थानको लाजियोभन्दा १६ अंकले माथि रह्यो । लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फेरी पनि आफ्नो दबदबा कायमै राख्दा बार्सिलोना भने चार वर्षपछि ला लिगा विजेता बन्न सफल भयो । जारी सिजनमा यूरोपको टप फाइभ लिग संक्षेपमा यस्तो रह्यो ।

इंग्लिश प्रिमियर लिग

यसपटक म्यानचेस्टर सिटीले इंग्लिश प्रिमियर लिगको उपाधि माथि ह्याट्रिक जित निकाल्यो । यो समेत सिटी लगालग तेस्रो पटक नै च्याम्पियन बन्यो । सिटीले लिगको दुई खेल बाँकी छँदै उपाधि पक्का गरेको थियो । सिटी पेप ग्वार्डिओलाको प्रशिक्षणमा पाँचौं पटक लिग च्याम्पियन बनेको हो । सन् २०१७÷१८ देखि २०२२÷२३ बीचमा सिटी जम्मा एक पटक मात्र लिग जित्नबाट वञ्चित भएको छ । सन् २०१९÷२० मा लिभरपुलले पछि पारे पनि सिटीले त्यसपछि लगातार तीन पटक लिग जितेको हो । ग्वार्डिओला सन् २०१६ मा सिटीको प्रशिक्षक बनेयता सिटीलाई १२ उपाधि जिताइसकेका छन् । त्यस्तै, सिटीका नर्वेली स्टार एर्लिङ्ग हालान्डले यस सिजन आफुलाई अब्बल रहेको सावित गरे ।

यो सिजन उनको चर्चा प्रिमियर लिगमा सिमित रहेन । गत मार्चमा च्याम्पियन्स लिगको खेलमा उनले गरेको प्रदर्शनले सबैको ध्यान तान्यो । मार्चमा आरबी लाइपजिगविरुद्धको खेलमा उनले पाँच गोल गरे । यसअघि च्याम्पियन्स लिगको एक खेलमा पाँच गोल गर्ने कीर्तिमान लुइज एड्रियानो र लियोनेल मेसीको नाममा थियो । लाइपजिगसँगको खेलमा पाँच गोल गरेपछि उनले सिटीका लागि एक सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा सारे ।

सिटीले युरोपेली च्याम्पियन्स लिग उपाधिको लामो प्रतीक्षा अन्त्य गरेसँगै विश्व फुटबलमा निकै कठिन मानिने ‘ट्रेबल’ सफलता पनि हासिल ग¥यो । एकै सिजनमा तीन उपाधि जित्ने कठिन उपलब्धि हासिल गर्ने सौभाग्य सिटीले पनि प्राप्त ग¥यो । यसअघि छिमेकी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई हराउँदै एफए कप जितेको सिटीले प्रिमियर लिगमा आर्सेनलको कडा चुनौतीलाई पछि पारेको थियो । यसअघि पनि घरेलु प्रतियोगितामा वर्चस्व जमाएको सिटीले च्याम्पियन्स लिगमा सोचेजस्तो नतिजा निकाल्न सकेको थिएन । तर, च्याम्पियन्स लिगको फाइनलमा सिटीले अपेक्षित प्रदर्शन नगरेपनि नतिजा हासिल ग¥यो ।

सिटीको उपाधिसँगै प्रशिक्षक पेप गुआर्डीओलाले पनि आफूलाई विश्वकै सर्वाधिक सफल मध्यको प्रशिक्षकमा स्थापित गरे । गुआर्डीओला सर एलेक्स फर्गुसनपछि प्रिमियर लिग टोलीलाई ट्रेबल जिताउने प्रशिक्षक पनि बने । यसअघि फर्गुसनले म्यानचेस्टर युनाइटेडलाई सन् १९९८÷९९ सिजनमा यो उपलब्धि दिलाएका थिए । युरोपमा पछिल्लो पटक इन्टर मिलानले यो उपलब्धि सन् २०१० मा हासिल गरेको थियो ।

इटालियन सिरी ‘ए’

यसपटक नापोली ३३ वर्षपछि सिरी ‘ए’ विजेता बन्यो । नापोलीका लागि यो तेस्रो सिरी ‘ए’ उपाधि हो । यसअघि दुई पटक च्याम्पियन हुँदा नापोलीमा डिएगो म्याराडोनाले महत्वपूर्ण योगदान गरेका थिए । तर, यसपटक त्यस्तो हाई प्रोफाइल खेलाडी नभएपनि नापोलीले लीग जित्यो । नापोलीको टीमवर्कलाई यसको श्रेय जान्छ । यस सिजन नापोलीले कुल ३८ खेलबाट ९० अंक जोड्न सफल भयो । त्यस्तै, दोस्रो र तेस्रो स्थानमा भने लाजियो र ईन्टर मिलान रहे । सिरी ‘ए’ बाट हेल्लास भेरोना, क्रेमोनेसे र साम्पडोरिया भने रेलिगेट भए ।

स्पेनिस ला लिगा

यसपटक चार सिजनपछि बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि उचाल्यो । चार वर्षपछि स्पेनी फुटबलको चुचुरोमा फर्किएको बार्सिलोना लागि यो २७औं लिग उपाधि हो । आफ्नो ३४औं खेलमा स्पान्योललाई ४–२ ले हराएसँगै बार्सिलोना नयाँ च्याम्पियन बन्ने पक्का भएको थियो । यस सिजन बार्सिलोनाले कुल ३८ खेलबाट ८८ अंक बटुल्दै उपाधि उचालेको हो । पूर्वखेलाडी जाभी हर्नान्डेजको प्रशिक्षणमा यसपटक बार्सिलोना च्याम्पियन बनेको हो । यसपटक जाभीले अग्रपंक्तिमा भन्दा रक्षापंक्तिमा ध्यान दिएका थिए । यसपटक जाभी क्लबकै एकेडेमीबाट आएका खेलाडीमा भर परेका थिए ।

जर्मन बुन्डेसलिगा

यसपटक मैदानमा प्रदर्शनमा मात्रै होईन, भाग्यले पनि साथ दिएपछि बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको उपाधि रक्षा गरे । बुन्डेसलिगामा अन्तिम चरणको खेलमा बोरुसिया डर्टमन्डले आफ्नो खेल जितेको भए बायर्न दोस्रो हुने निश्चित थियो । तर, त्यसो भएन । भाग्य बायर्नको पक्षमा बलियो सावित भयो । अन्तिम चरणको खेलपछि बायर्न र डर्टमन्डको समान ७१ अंक भएको थियो । तर, गोल अन्तरमा भने बायर्न च्याम्पियन बन्यो । बायर्नले कुल ९२ गोल गरेको थियो भने डर्टमन्डको गोलसंख्या ८३ थियो । योसँगै बायर्न लगातार ११औं पटक बुन्डेसलिगा जित्न सफल भयो । बुन्डेसलिगाको शीर्ष चारमा अरु दुई स्थान आरबी लाइपजिग र युनियन बर्लिनले कब्जा गरे । यी दुईले बायर्न र डर्टमन्डसँगै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने छन् ।

फ्रेन्च लिग वान

यस सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) ११औं पटक फ्रेन्च लिग वान च्याम्पियन बन्यो । यो सँगै पिएसजीको नाममा सर्वाधिक फ्रेन्च लिग जितेको कीर्तिमान बनेको छ । लिग च्याम्पियन बन्ने क्रममा पिएसजीले कुल ३८ खेलबाट ८५ अंक जोड़्यो । जुन दोस्रो स्थानमा रहेको लेन्सको भन्दा एक अंकले मात्र कम हो । गत सिजन जस्तै यसपल्ट पनि पिएसजीको मुख्य खेलाडी किलियान एम्बाप्पे नै रहे । उनले २८ गोल गरे भने लियोनेल मेसी र नेयमारको नाममा क्रमशः १६ र १३ गोल रह्यो । सर्वाधिक असिस्ट भने मेसीले गरेका थिए । उनले १६ गोलका लागि पास उपलब्ध गराए । लिगको दोस्रो र तेस्रो स्थानमा लेन्स र मार्सेले रहे ।

प्रतिक्रिया दिनुहोस्