नेपालमा पछिल्लो समय सबैभन्दा राम्ररी फस्टाएको खेती केही छ भने त्यो हो, गाली खेती । अरुलाई गाली गर्ने, त्यसबापत फलचाहिँ आफू ताली बटुल्ने र त्यसैमा दंग पर्दै आत्मरतिमा रमाउनेको जमात सानो छैन । यद्यपि गाली खानेको संख्या पनि कम छैन । कुन क्षेत्र, वर्ग, समुदाय होला जसले गाली नखाएको होस् ।
सामाजिक सञ्जाल खासगरी फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकतिर जता हे¥यो गालीका वर्षा देखिन्छ । अनलाइन र युटुबहरुमा पनि गालीका पर्रा राम्रै बर्सन्छन् । भलै कतिपयले व्यङ्ग्य चेतका छद्म नाममा गरिएका गाली नै किन नहुन्, त्यसले पनि व्यक्तिको मानमर्दन गरी हुर्मत लिने काम गरेको छ । जति तुच्छ शब्दमा गाली गर्न सक्यो, उति नै आफ्नो पोस्टमा धेरै लाइक, कमेन्ट, रिट्वीट, शेयर बढ्ने भएकाले अति तुच्छ गालीको खेती फस्टाएको हो ।
सामाजिक सञ्जालबाहिर काठमाडौँ उपत्यकाका माइतीघर, बानेश्वर, रत्नपार्क गालीका लागि प्रसिद्ध ठाउँ हुन् । उपत्यकाबाहिरका शहरका चोकका कुना कर्नरमा पनि केही झुन्ड जम्मा गरेर चर्का स्वरमा अरुलाई गाली गर्ने र भिडियो खिच्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रशस्तै भेटिन्छन् ।गालीबेरोजगारहरुको रोजगारजस्तो पनि भएको छ ।
जति धेरै छुद्र गाली त्यति धेरै ताली बज्छ । मानौँ बजारमा गाली र तालीको प्रतिस्पर्धा छ । जसले छुद्र गाली गर्न सक्यो त्यही गाली सामाजिक सञ्जालमा भाइरल बन्छ । गाली कुन ठाउँमा छैन, कसले गाली गर्दैन, आपूmले गाली नगरे पनि अरुले गरेको गालीमा समर्थन त गरी नै हाल्छ । मानौँ देशमा कि गाली गर्ने समूह छ,कि गाली खाने छ । गाली निरपेक्ष मान्छे भेट्न गाह्रो छ ।
सामाजिक सञ्जालमा देशप्रति सहानुभूति राखेझैँ गरी देशलाई गाली ठोक्ने धेरै छन् । कठै मेरो देश, सतीले सरापेको देश, हे मेरो देश, मेरो देशको दुर्दशा, म यस्तो देशको जनता आदि जस्ता देशप्रतिका अपाच्य लाग्ने गाली सामाजिक सञ्जालतिर भेटिन्छन् । अझ विदेशतिर पुगेकाले यस्ता शब्दधेरै प्रयोग गरेको देखिन्छ । अचम्म त यस्ता गाली पनि सबै देशलाई माया गर्ने नाममा पो भएका छन् । देशलाई माया गर्ने नाममा देशलाई नै व्यङ्ग्यात्मक शैलीमा लेख्नेहरुले देशलाई माया गरेको कसरी बुझ्नु?यो त आफ्नो धर्ती र बन्धुप्रतिको उपहास हो । देशमा केही व्यक्ति खराब भए होलान्, त्यसको अर्थ समग्र देश खराब हुँदैन । देशप्रति गर्व हुनुपर्छ । आप्mनो देशप्रति कठै, सतीले सरापेको, दुर्दशाजस्ता शब्द देशभक्तले प्रयोग गर्दैन । यो त यही देशको माटोमा जन्मेर, हुर्केको तर पछि टुप्पोबाट पलाएर आफ्नो हैसियत बिर्सेकोले मात्र गर्न सक्छ ।
नेतालाई गालीहाम्रो देशमा चलेको अर्को गाली हो । यो देशमा सबैभन्दा बढी गाली कसैले खान्छ भने त्यो नेताले नै खाने हो । गाली खाँदा–खाँदा नेता अब जस्तोसुकै गाली पनि हाँसी–हाँसी पचाउन सक्ने भैसके । बिहान उठेदेखि राति नसुतेसम्म सामाजिक सञ्जालमा पार्टी र नेतामाथि गालीको वर्षा हुन्छ । नेताले सानो गल्ती गरे पनि बढाइचढाइ गर्नेदेखि कुरुप कार्टुन बनाउने मात्र होइन, निर्लज्ज गाली गर्ने काम नियमितजस्तै भएको छ । हामीलाई नेता नभई पनि नहुुने, त्यही नेताको नजिक हुन दौडधूप पनि गर्ने, अनि गाली नगरी पनि नसक्ने, नेपालीको आमबानी यही हो ।
राजनीतिक पद्धतिलाई गाली गर्नु गालीवालाको अर्को खेती होे । हिजो राणालाई गाली, पञ्चायतलाई गाली, बहुदललाई गाली, गणतन्त्रलाई गाली । गाली नगरेको कुनै व्यवस्था नै छैन । छिटो–छिटो राजनीतिक व्यवस्था परिवर्तन भैरहने तर नटिक्ने गर्नाले पनि आलोकचकलाई बल पुगको छ । संघीयतामाथिको असन्तुष्टि पछिल्लो समयमा निकै बढेको छ । प्रदेश सरकारहरु अर्थहीन भएका र उनीहरुले जनअपेक्षा बमोजिम काम गर्न नसकेकोले पनि आलोचना धेरै खप्नुपरेको छ ।
देशको कर्मचारी संयन्त्र पनि गालीबाट अछुतो छैन । सबै कर्मचारी भ्रष्टाचारी छैनन् तर कर्मचारी भन्नासाथ भ्रष्टाचारको प्रतिविम्ब भिराइन्छ । देश बिगार्नेमा कर्मचारीको पनि हात हुन सक्छ, तर सबै बिगार्ने जति काम कर्मचारीको र सुधार्ने जति कामचाहिँ गाली गर्नेवालाले गरेको पनि होइन । सबै कर्मचारी उस्तै पनि हुँदैनन् । एक–दुई गलत कर्मचारीको हवाला दिएर समग्र कर्मचारी संयन्त्र आलोच्य भएको छ । यो राम्रो होइन ।
त्यसोे त यो देशमा स्वदेशीलाई मात्र होइन, विदेशीलाई पनि गाली गरिन्छ । आफ्नो तालासाँचो बलियो नगर्ने अनि अर्कालाई चोर लगाउने नेपालीको बानी नै हो । विदेशीले हाम्रो देश बिगारिदेको भन्ने भ्रम छ । भारतले राजनीतिक हस्तक्षेप गरेको बुझाइ छ भने पश्चिमाले वैदेशिक सहायताको नाममा देशमाथि हस्तक्षेप गरेको बुझाइ आमनेपालीमा छ । यो हस्तक्षेपमा हस्तक्षेप गर्नेको भन्दा हस्तक्षेप सहनेको बढी दोष छ ।
उद्योगी व्यवसायीले त झन् गाली खाने नै भए । राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्रलाई भ्रष्ट बनाउनेको रुपमा व्यवसायीको आलोचना हुन्छ । व्यवसायी कर तिर्छन् । कर तिरेकोमा स्याबासी कम खान्छन् । कर लुकाएकोमा गालीचाहिँ टन्न भेट्छन् ।
देशमा को गाली खाँदैन ?बेला–बेला अधिकारकर्मी पनि गाली खान्छन् ।देशलाई अराजकतामा लगेको आरोप लगाइन्छ। डलर खाएको दोष खान्छ । जबकि मानव अधिकार भनेको कानुनको शासनको वकालतकर्ता हो । तर ऊ जे गर्छ, त्यो भन्दा उल्टोआरोप खान्छ । केही पत्रकार अरुलाई गाली गर्छन्, तर प्रायः सबै पत्रकार अरुका गाली खान्छन् । अधिकारकर्मीलाई जस्तै पत्रकारलाई पनि भँडुवाको आरोप लाग्छ । यहाँ गाली नखाने भनेका त गरिब निमुखा, मगन्ते, सडकछाप मात्र हुन् । तिनीहरुलाई पनि युुटुबरहरुले कहिलेकाहीँ अनेक नौटंकी गर्न लगाएर भिडियो ट्रोल बनाउँदै उनीहरुको पनि भावना किनबेच गरिदिन्छन् ।
गालीको वर्षा हेर्दा यस्तो लाग्छ, यो देशमा सबै खराब मात्र छन् ।लेखक खराब, पत्रकारखराब, वकिल खराब, इन्जिनियर खराब, डाक्टर खराब, बुद्धिजीवी खराब, सबै खराब ।यो देशमा असल मान्छेको खँडेरी परेकै हो त ?इदं भ्रष्टं उदं भ्रष्टं सर्वं भ्रष्टमयं अहो भैसकेको हो र ? अवश्य होइन ।
अरुलाई गाली पनि गर्न पाइने र ताली पनि पाइने भएपछि मानिस अहिले गालीको आत्मरतिमा रमेको छ । मैले गरेको गाली कतिले हेरेर कमेन्ट गरे भन्दै गनेर बस्ने केही मानिसको दिनचर्या नै भएको छ । तर यो गाली कालान्तरमा आफ्नै लागि कति घातक हुन्छ भन्नेचाहिँ गालीकर्ताले सोच्न शायद बाँकी नै छ । यो हाम्रो समाजको द्योतक हो । हाम्रोे समाज कता जाँदै छ भन्ने पूर्वसंकेत पनि हो । गालीमा मनोरञ्जन गर्ने समाज क्षयमुखी समाज हो ।
यो देशमा सबै राम्रा नहोलान् तरसबै खराब पनि छैनन् । हरेक क्षेत्रका केही मान्छे खराब छन्, तर खराब मान्छे जति खराब छन् त्यो भन्दा बढी सबैलाई खराब मात्र देख्नेका सोच विचार, चिन्तन दृष्टि खराब छन् । दृष्टि पनि सुधारौँ, अनि मात्र सृष्टि पनि राम्रो देखिन्छ ।
यसको अर्थ खराबलाई राम्रो देख्नु भनेको होइन । खराब कुरालाई राम्रो देख्नु सकारात्मक सोच पनि होइन, बरु खराबबाट पनि केही राम्रा कुरा सिक्नुचाहिँ सकारात्मक चिन्तन हो । असललाई खराब आँखाले हेर्नु नकारात्मक सोचको उपज हो । हाम्रो सोच, विचार, चिन्तन कस्तो बनाउने हो ?हाम्रै हातमा छ ।
सबैलाई गाली गरेर केही हजार ताली बटुल्दैमा कोही विद्वान् बन्ने छैन । बरु सबैलाई खराब देख्दा–देख्दा एकदिन आफैँ पनि खराब भइन्छ । गीतामा भनिएको छ– तिमी जे खोज्छौ त्यही पाउँछौ, जस्तो सोच्छौ त्यस्तै हुन्छौ ।
प्रतिक्रिया