डिआइजीले खटाएका सादा पोसाक प्रहरीद्वारा ५ जना प्रहरीमाथि कुटपिट

0
Shares

भद्रपुर। 

ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई सशस्त्रका इन्स्पेक्टरले निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ । झापाको मेचीनगर सीमा नाकामा यो घटना भएको हो ।

हतियारधारी तथा बर्दीधारी पाँच जना सशस्त्र प्रहरीलाई डिआइजीले सादा पोसाकमा खटाइएका सशस्त्रका इन्स्पेक्टर नभप्रभात राईसहितको तीन जनाको टोलीले मेची नदीको पानीमा डुबाउँदै बाँसको भाटैभाटाले निर्घात कुटपिट गरेको हो ।

इन्स्पेक्टर राईको कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरु गणेश बहादुर तामाङ, रामबहादुर कार्की, सशस्त्र प्रहरी सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी घाइते भएका छन् ।
सप्रवह तामाङ र प्रज राजवंशीको ढाडमा चोट लागेको छ, भने सप्रह तामाङको शरीरभरि नीलडाम बसेको छ । त्यस्तै सप्रह कार्की र सप्रसह राईको दायाँ हातमा चोट लागेको बताइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले सादा पोसाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बास्तोलाले सो नाकाबाट सामान गएको भन्दै बर्दीधारी सशस्त्रलाई कुटपिट गरेपछि मेचीनगर नगरपालिका– ५ स्थित नकलबन्दा क्षेत्र गए राति ५ घण्टा तनावग्रस्त बनेको थियो ।

बर्दीधारी सशस्त्रलाई सार्वजनिक स्थलमा निर्घात कुटपिट गरेपछि आक्रोशित बनेका त्यहाँका स्थानीयहरू सादा पोसाकका इन्स्पेक्टर राईसहित तीनै जनालाई कडा कारबाहीको माग गर्दै नाराबाजीमा उत्रिएका थिए । इन्स्पेक्टर राईसहित तीनै जनालाई बिओपी नकलबन्दा लैजाने क्रममा स्थानीयले होहल्ला गर्दै घटनास्थलमै घेरा हालेर रोक्न खोजेका थिए । सोही क्रममा स्थानीयले सशस्त्रको बीएबी ३२४६ नम्बरको गाडी समेत तोडफोड गरेको बताइएको छ । घटनाले उग्ररुप लिएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल तत्काल घटनास्थल पुगेका थिए । साथै सशस्त्र प्रहरीले घटनालाई साम्य बनाउन करिब एक सय सशस्त्र प्रहरी परिचालन गरेका थिए । एसपी अर्यालले दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि मात्र स्थानीयले इन्स्पेक्टर राईसहित तीनै जनालाई लैजान दिएका थिए ।

बराह बाहिनीबाट खटिएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू तामाङ र बास्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापामा झिकाएर विभागीय कारबाही प्रक्रिया अघि बढाएको एसपी अर्यालले जानकारी दिनुभयो । गणभित्रै उनीहरूमाथि सोधपुछ गरी कारबाहीका लागि फिर्ता पठाइएको उहाँले जानकारी दिनुभयो  । घाइतेहरूको तत्काल धुलाबारीस्थित आम्दा मेची हस्पिटलमा उपचार पश्चात बुधबार सशस्त्र प्रहरीकै हस्पीटल पठाइएको उहाँले बताउनुभयो ।
यता सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीका डीआइजी अञ्जनीकुमार पोखरेलले ड्युटीमा खटिएका सशस्त्रलाई कुटपिट गर्ने सशस्त्र कर्मचारीलाई विभागीय कारबाही गरिने बताउनुभयो ।

झापाका विभिन्न नाकाबाट चोरी तस्करी भइरहेको सूचना आएपछि सो कुरा बुझ्नलाई इन्स्पेक्टर राईसहित उनीहरूलाई खटाइएको स्विकार्दै डीआइजी पोखरेलले झापामा घटना बुझ्न पो उनीहरूलाई खटाइएको हो आफ्नै सङ्गठनका बर्दीधारी कर्मचारीलाई त्यसरी ड्युटीमा कुटपिट गर्नु कार्य एकदम गलत भएको उहाँले बताउनुभयो ।

घटनाको बारेमा थप बुझ्न बराह बाहिनी मुख्यालय सुनसरीका एसपी विक्रम हुमागाईँको नेतृत्वमा छानबिन समिति गठन गरिसकेको उहाँले जानकारी दिनुभयो । छानबिन प्रतिवेदनको आधारमा दोषीलाई कारबाही गरिने उहाँको भनाइ छ ।

नकलबन्दा नाकाबाट चोरी तस्करी भइरहेको भन्दै इन्स्पेक्टर राईको कमान्डमा सशस्त्र जवानहरू तामाङ र बास्तोला सादा पोसाकमा त्यहाँ पुगेका थिए ।
इन्स्पेक्टर राईले घटनास्थल पुगेर बिओपी नकलबन्दाबाट खटिएका १३ जना र सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएका ३ जना गरी १६ जनालाई सामेल गराएका थिए । त्यसपछि इन्स्पेक्टर राईले ड्युटीमा लापरबाही गरेको भन्दै उनीहरूलाई पानीमा डुबाउँदै भाटैभाटाले हिर्काएका थिए । विओपी नकलबन्दाका इन्चार्ज तथा सई माधव खत्रीले इन्स्पेक्टर राईलाई यसो नगर्नुहोस् भन्दै रोक्न खोजेका थिए ।

तर, इन्स्पेक्टर राईले सई खत्रीको कुरा मानेनन् । उनले ड्युटीमा खटिएका सशस्त्रलाई एक घण्टासम्म पानीमा चोबल्दै कुटपिट गरिरहेको सशस्त्र स्रोतको दाबी छ ।

पछिल्लो समय पूर्वी नाका आसपासमा खटिएका सशस्त्र प्रहरीले सङ्गठनलाइ नै आँच आउने किसिमका कामहरु गर्दै आइरहेको केही घटनाहरुले पुष्टि गरिसकेको छ ।