आर्थिक अभावका कारण कोही पनि उपचारबाट वञ्चित हुनुहुँदैन : स्वास्थ्यमन्त्री बस्नेत



काठमाण्डौं। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आर्थिक अभावका कारण कुनै पनि नेपालीले उपचारबाट वञ्चित हुनु नपर्ने बताउनु भएको छ । मन्त्री बस्नेतले जावलाखेलस्थित ललितपुर महानगरपालिका समाज कल्याण महाशाखा, जनस्वास्थ्य शाखा र लाइफलाइन हेल्थ केयर होम प्रा.लि. तथा काठमाडौँ मेडिकल कलेज (केएमसी) को प्राविधिक सहयोगमा संयुक्त रुपमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको उद्घाटन गर्दै उक्त भनाइ राख्नुभएको हो ।

उहाँले हरेक अस्पतालले नियम अनुसार १० प्रतिशत शय्या विपन्न वर्गका लागि छुट्याएर निःशुल्क उपचार उपलब्ध गराएमा अधिकांश विपन्न र असहायले सहज ढंगले उपचार पाउने अवस्था रहेको बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो- ‘स्थानीय निकायमा वडा अध्यक्षले विपन्नका लागि गरेको सिफारिस अनुसार सबै अस्पतालहरुले निःशुल्क उपचारको व्यवस्था गरेर आफ्नो दायित्व निर्वाह गर्नुपर्छ । यसले धेरै जसो समस्याको हल हुन्छ ।’

सुर्तीजन्य पदार्थमा कर बढाएर विपन्नको उपचार निःशुल्क गर्न सकिने बताउँदै मन्त्री बस्नेतले त्यो अभियान पुरा गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । कोभिड १९ को बेलादेखि नै आफू बिरामीको निःशुल्क उपचार सेवाका लागि औषधी, अक्सिजन सिलिन्डर र सर्किजल सामग्री बोकेर विभिन्न जिल्ला पुगेको दाबी गर्दै मन्त्री बस्नेतले निःशुल्क स्वास्थ्य शिविरहरुबाट पनि हजाराँै बिरामी लाभान्वित हुनेमा जोड दिनुभयो । मन्त्री बस्नेतले स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएको बताउँदै हरेक व्यक्तिले दैनिक एक घण्टा आफ्नो स्वास्थ्यका लागि छुट्याउनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा योगदान गरेका विभिन्न व्यक्तिहरुलाई स्वास्थ्य मन्त्री बस्नेतले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । सम्मानित हुनेहरुमा गायत्री दाहाल, मोतिशान्ति शाक्य, लक्ष्मीनारायण सिंह सुवाल, ज्ञान महर्जन र शिव नारायण साह रहेका छन् । कोभिड १९ का बेला स्थापना भएको लाइफलाइन हेल्थ केयर होमले विगत ८ महिनादेखि पोलिक्लिनिकको रूपमा उपचार सेवा प्रदान गरिरहेको छ ।

यसले देशका विभिन्न भागमा स्वास्थ्य शिविर सञ्चालन गरेर विपन्न बिरामीलाई उपचारमा सहजीकरण गर्दै आइरहेको हेल्थ केयर होमका बोर्ड अफ डाइरेक्टर समीर जोशीले बताउनुभयो । काठमाडौँ मेडिकल कलेजको सहकार्यमा हेल्थ केयरले विभिन्न शिविरबाट सिफारिस भएर आएका बिरामीलाई काठमाडौँ मेडिकल कलेजमा हुने शल्यक्रियामा ५० प्रतिशत छुट दिने गरेको जोशीेले बताउनुभयो । उक्त शिविरमा कामना न्युज पब्लिकेशन्स मिडिया पार्टनर रहेको थियो । शिविरमा ३ सय ७ जनाले उपचार सेवा लिएको र ३० जनाले रक्तदान गरेका छन् ।

केएमसीले विगत ३ वर्ष देखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र ललितपुर उपमहानगरपालिकामा मात्र बुधवार सम्म २० वटा निःशुल्क शिविर सञ्चालन गरेको जनसम्पर्क अधिकृत भक्तकुमार श्रेष्ठ विक्रमले जानकारी गराउँनुभयो । हामी एउटा अस्पतालको सम्पूर्ण सेवा सहित शिविरमा आउँछौ । अस्पतालले ल्याब देखि, ओपिडी, सबै सेवा लिएर विशेषज्ञ सेवा दिँदै आएका छौ भन्नुभयो ।

बुधवार सञ्चालित शिविर २० र १३ वडा लक्षित भएपनि आसपासका वडा र सगरमाथा सेकेण्डरी स्कुलको प्रांगाणमा सञ्चालित शिविरमा स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, नाक, कान, घाटी, आँखा, हाडजोर्नी, सामान्य शल्यक्रिया लगायतका विशेषज्ञहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्