बनिसकेपछि महानगरको कारबाही

यो आवास क्षेत्र घोषणा भएको छैन : महानगर



पोखरा महानगरपालिकाले पामेमा अवैध रुपमा पल्टिङ गरेको भन्दै सोमबार डोजर चलाएको छ । रामसार क्षेत्र घोषणा भएको पोखरा वडा नम्बर १८ र २४ मा महानगरको अनुमति विना नै धमाधम पल्टिङ भएपछि मेयर धनराज आचार्यको निर्देशनमा करिब ९० रोपनी जग्गाको पल्टिङ भत्काइएको हो । जग्गा धनी देवेन्द्र केसी, प्रकाश केसी र नगेन्द्र सुवेदीले घडेरी बनाइसकेको अवस्थामा महानगरले भत्काएको हो ।

पोखरा महानगरपालिका अन्तरगत वडा नं. १८ र २४ मा पर्ने फेवातालको किनारमा रहेको कि.नं. १४०४–५, १२७३, १२७४, २२५८–२०, ३३८८– ९१ लगायतका जग्गाहरुमा प्रचलित कानुन बमोजिम सम्बन्धित वडा कार्यालय तथा यस कार्यालयबाट अनुमति÷विना इजाजत, स्वीकृति बेगर अटेर गरी डि.पि.सी. गर्ने ल्पटिङ्ग गर्ने मिसिनरी समान प्रयोग गरी माटो उत्खनन गर्ने कार्य भएको भन्दै संरचना भत्काएको हो ।

पोखरा महानगरपालिका योजना अनुगमन तथा कानुन महाशाखा प्रमुख भरतराज पौडेलले करिब दुई रोपनी जग्गा पुरि कृषि प्रायोजनको अनुमति एक वर्षअघि लिएपनि धमाधम प्लटिङको काम हुनु गलत रहेको बताए । उनले विभिन्न तरिकाले महानगरपालिकाले आवास क्षेत्र घोषणा गरेको भनिए पनि हालसम्म त्यस्तो प्रमाण नभेटिएको सुनाए । उनले जग्गा वर्गीकरण गर्दा कृषि र अन्यमा रहेको सुनाए । ‘पोखरा महानगरपालिकाले आवास क्षेत्र भनेको छैन । जग्गा वर्गीकरणको अन्यमा १० वटा फरक फरक विषय छन् त्यो सबै छुट्टिएको छैन । अहिले जसरी बाहिर कुरा आएको छ त्यो सबै अफवाह मात्रै हो’ उनले भने,‘यहाँ अवैध तरिकाले काम भएको छ । यो रोक्नु महानगरको कर्तव्य हो । यदि कानुन सम्बत छ भने अनुमति लिएर मज्जाले पुर्न पाइन्छ छैन भने महानगरले स्वीकृत दिँदैन ।’

पोखरा महानगरपालिकाका नगर प्रहरी पुरुषोत्तम थापाले मेयरको आदेश अनुसार आफुहरुले अस्थायी संरचना भत्काएको बताए । उनले कानुन विपरीत कार्य भएका कारण संरचनामा डोजर चलाएको बताए । ‘यहाँ विना अनुमति काम भइराखेको रहेछ । हामीले पटक पटक रोक्का गर्न र अनुमति लिएर मात्रै काम गर्न अनुरोध समेत गरेका थियौँ तर देवेन्द्र केसी, प्रकाश केसी लगायतले अटेर गर्नुभयो’ उनले भने, ‘यो जग्गा विवादमा छ । स्थानीयले आवास क्षेत्र भनेका छन् तर यसलाई सिमसार पनि भनिएको छ । यो विषयमा विज्ञले अध्ययन गरेर मात्रै वास्तविक के हो बाहिर आउला ।’ वाई यु के कन्ट्रक्सनका सञ्चालक युवराज खतिवडाले जग्गामा माटो हाल्ने अनुमति पश्चात् उक्त काम लिएका थिए । ०७९ माघ १७ गते वडा नं. २४ मा रहेको कित्ता नं. १२७१ र १२७२ को जग्गामा २३१५.५४ घनमिटर माटो ल्याई कृषि प्रयोजनका लागि सम्म्याउने अनुमति मागेका थिए ।

 सोही अनुमतिको आधारमा पोखरा महानगरपालिकाले ०७९ फागुन २ गते माटो सम्म्याउने प्रयोजनको लागि मात्र, वरिपरिको छरछिमेक र स्थानीय वातावरणलाई समेत असर नपार्ने गरी फागुन ३ र १० गते दुई दिनका लागि पुर्ने अनुमति दिएको थियो ।

 उक्त अनुमतिको सर्त ७ मा जग्गामा माटो सम्म्याउने कार्य बाहेक अन्य कार्य भएमा कानुन बमोजिम कडा कारबाही गर्ने समेत उल्लेख छ । यस्तै बुँदा ८ मा जिल्ला अनुगमन समिति वा अन्य सरकारी निकायबाट अनुगमन हुन सक्ने सो क्रममा अनुमतिका सर्तको विपरीत कार्य भएमा तुरुन्त उक्त अनुमति स्वतः खारेज हुने उल्लेख छ । उक्त सर्त विपरीत ति कित्ता बाहेक अन्य कित्तामा समेत खतिवडाले पुरानो पत्र देखाउँदै माटो हाल्ने काम गरेका थिए ।

महानगर अनुगमन शाखाका अनुसार उक्त स्थानको विषयमा पटक पटक आवास क्षेत्र, पुर्ने अनुमति प्राप्त गरेको बताएपनि त्यसो नभएको भेटिएको हो । अनुगमन महाशाखा प्रमुख पौडेलका अनुसार हालसम्म उक्त जग्गा पुर्ने र काम गर्ने अनुमति महानगरले दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्