राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र सांघाई म्युनिसिल पिपुल्स कंग्रेसका अध्यक्षबीच भेटवार्ता

0
Shares

पर्वत। 

चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासंग चीनको सांघाई म्युनिसिपल पिपुल्स कङ्ग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले शिष्टाचार भेट गर्नुभएको छ ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासंग चीनको सांघाई म्युनिसिपल पिपुल्स कङ्ग्रेस स्थायी समितिका अध्यक्ष डोङले पिपुल्स बिल्डिङमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले चीनको औधोगिक शहर सांघाईको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने कुरामा जोड सांघाईबाट काठमाडौँ र पोखरा सीधा उडान भयो भने त्यसले गर्दा सांघाईको औद्योगिक र व्यापारिक क्षेत्रको पनि नेपालले लाभ लिन सक्छ भन्नुभयो । सीधा उडान हुँदा  नेपाली व्यापारीहरू पनि सोझै आउन सक्छन् र यहाँबाट धार्मिक पर्यटकहरू लुम्बिनी जान सक्ने र अन्य पर्यटकहरु पोखरा जान सक्ने उहाँको भनाई थियो । अध्यक्ष तिमिल्सिनाले पोखरा महानगरले सांघाई शहर सँग भगिनी सम्बन्ध राख्ने चाहना व्यक्त गरेको त्यहाँका अधिकारीहरुलाई जानकारी गराउनुभएको थियो ।

चीनको सांघाई म्युनिसिपल पिपुल्स कङ्ग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले सांघाई सबैभन्दा ठूलो आर्थिक केन्द्र शहर भएको र यसले चीन र नेपालबीचको अन्तर सम्बन्ध बढाउने , अर्थतन्त्र, संस्कृति, पर्यटन र जनजीविकाका क्षेत्रमा दुई स्थानबीचको सहयोगको प्रवाहलाई अझ प्रगाढ बनाउने र दुई देशका जनतालाई फाइदा पु¥याउन मैत्रीपूर्ण आदानप्रदानलाई निरन्तर विस्तार गर्ने बताउनुभयो ।

भेटमा नेपालको संसदीय प्रतिनिधि मण्डलका सदस्य साथै चीनको सांघाईका नेसनल पिपुल्स कङ्ग्रेसको स्थायी समितिका सदस्य, राष्ट्रिय जनकाँग्रेसको विदेश मामिला समितिका उपाध्यक्ष तथा राष्ट्रिय जनकांग्रेसको चीन–नेपाल मैत्री समूहका उपप्रमुख वाङ के र सांघाई म्युनिसिपल पिपुल्स कङ्ग्रेसको स्थायी समितिका महासचिव सी जियाङगाङ लगायत सहभागी हुनुहुन्थ्यो ।

अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधि मण्डलले सांघाईमा साईयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई ग्रामीण योजना प्रदर्शनी केन्द्र, चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो सम्मेलन केन्द्र,   लगायतका स्थलहरुको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष तिमिल्सिनाले यसअघि भ्रमणका क्रममा बेइजिङमा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदाता सम्मेलनका अध्यक्ष वाङ हुनिङ संग भेट र द्विपक्षीय वार्ता गर्नुभएको थियो । वार्ताका क्रममा चीनको छेन्दुबाट पोखरा सम्म सिधा हवाई उडान सुरु गर्ने विषय प्रमुखता पाएको थियो । अध्यक्ष तिमिल्सिना सहितको ९ सदस्यीय नेपाली प्रतिनिधि मण्डल बिहीबार तिब्बत तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।