लामो खडेरीपछि वर्षा : व्यवसायीक खेती गर्ने कृषक अझैँ चिन्तित, सडकमा धुलोधुवाँ कम



स्याङ्जा । लामो समयको खडेरीपछि वर्षा हुँदा किसानहरू हर्षित भएका छन् । एक्कासी पानी परेपछि जिल्लाको भीरकोट तथा वालिङ क्षेत्रका किसानहरू खुसी भएका हुन् ।

साविक स्वरेक गाविस निवासी धनबहादुर विकले भन्नुभयो– ‘लामो समयदेखि पानी नपर्दा जमिन बाझै बस्ने स्थानीयलाई चिन्ता थियो । पानी नपर्दा खेतबारीमा बाली लगाउनसमेत नपाएका किसानहरूका लागि पानीले उत्साह थपेको छ । पानी परेको छ अब बाली लगाउन पाइने भयो उहाँले भन्नुभयो, पानी परेपछि स्याङ्जामा बढेको अत्याधिक गर्मी मौसमबाट शीतलताको अनुभुतीसमेत गर्न पाएका छन् स्थानीयबासिहरूले । खडेरीपछिको पानीले किसानहरूलाई धेरै फाइदा पुगेको छ ।’

जिल्लाको बिभिन्न स्थानमा व्यवसायीक रुपमा नै फलफूल खेती गर्दै आएका किसान भने अझैँ पनि चिन्तित छन् । जिल्लामा विशेष गरि सुन्तला र कफीको व्यवसायीक रूपमा नै खेती हुँदै आएको छ । वर्षा हुने समय भए पनि अहिलेको अवस्थामा राम्रो वर्षा भएको छैन, एक्कासी क्षतविक्षत पार्ने वर्षा मात्र हुन्छ, अर्जुनचौपारीका एक सुन्तला कृषक फणीनारायण अर्यालले भन्नुभयो– ‘कहिले फलफूलमा क्षती पुर्याउँछ त कहिले विद्यालय वा अन्य भवनमा क्षती पुर्याउँछ ।’

लामो समयको खडेरीपछि वर्षा हुँदा कृषकहरु मात्र नभै व्यापारीहरूसमेत खुसी भएका छन् । खडेरीका कारण सुक्न थालेका खाद्यान्न बालीमा वर्षा भएपछि राहत मिलेको छ । दिनहुँजसो अत्याधिक तापक्रम वृद्धि भएपछि निकै गर्मी महसुस गरिएको स्याङ्जामा बुधबारको वर्षाले राहत मिलेको हो ।

घोँगा लागेका मकै तथा मुखैमा धानचमर लागेका मकैबाली लामो समयको खडेरीका कारण सुक्न थालेका थिए भने धानको ब्याड तथा कोदोको बीउ समेत सुक्न थालेको थियो । खडेरीका कारण ओईलिएका खाद्यान्नबाली तथा मकैबाली वर्षाका कारण हरियो देखिएका छन् । अत्याधिक गर्मीका कारण जनजिवन नै प्रभावित भएका बेला बुधबार परेको वर्षाले जनजीवन समेत सामान्य बनेको छ ।

सामान्यतः नेपालमा जुन १३ तारिखमा मनसुन भित्रने गर्छ । मौसमविद् मञ्जु बासीले दुईदिन ढिला मनसुन भित्रिने अनुमान गरे पनि बुधबार भएको वर्षाले यहाँको मौसम (हावापानी)मा शीतलता महसुस भएको छ ।

धुलाम्मे सडक तथा कच्ची ग्रामिण सडकहरूलाई राहत मिलेको छ भने विषेश गरी वन्यजन्तुको आक्रमण र खडेरीका कारण निराश भएका कृषकहरू वर्षाले खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्