भलिबल उपाधि गणतान्त्रिक खेलकुदलाई



भक्तपुर । राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि गणतान्त्रिक खेलकुद महासंघले जितेको छ ।

ओखलढुंगाको लिखु टिमलाई ३–१ को सेटमा पराजित गर्दै गणतान्त्रिकले उपाधि उचालेको हो । भक्तपुरको हर्षचोकमा आयोजित खेलको पहिलो सेट २१–२५ ले गुमाएको गणतान्त्रिकले त्यसपछि लगातार तीन सेटमा २५–२०, २५–१९ र २५–२२ ले जित निकालेको थियो । प्रतियोगितामा आयोजक ओम श्रृजनसिल समाजको टिमलाई पाखा लगाउँदै न्युटन एकेडेमीले तेस्रो स्थान हाँसिल गर्यो ।

ओम सृजनशील समाजले आयोजना गरेको प्रतियोगिताको विजेता टिम गणतान्त्रिकले ५० हजार नगद पुरस्कारसहित ट्रफि र मेडल हात पार्यो । वागमती प्रदेशसभा सदस्य किरण थापाले प्रतियोगितामा प्रथम हुने टोलीलाई पुरस्कार प्रदान गरे ।

आयोजक समितिका संयोजक पेशल आचार्यका अनुसार, दोश्रो हुने टोलीलाई २५ हजार, तेस्रो हुने टोलीलाई १५हजार र सान्त्वना भएको टोलीलाई १० हजार नगद पुरस्कार दिइएको थियो । प्रतियोगितामा गणतान्त्रिक महासंघका खेलाडी बिष्णु बस्नेतले म्यान अफ दि म्याचको उपाधी जित्न सफल भए ।

त्यसैगरी बेस्ट स्पाइकरमा महासंघकै समित श्रेष्ठ, बेष्ट ब्लकरमा महासंघकै सन्तोष रानामगर, बेष्ट सेटर महासंघकै मनोज घिमिरे, बेष्ट लिब्रोको उपाधी लिखु–८ का सन्दिप थापा र बेष्ट सर्भरको उपाधि न्यूटन एकेडेमीका धिरज काजी बस्नेतले हात पारे ।

प्रतिक्रिया दिनुहोस्