क्षमताभन्दा ३ गुणा बढी कैदीबन्दी राख्नुपरेको छ : कारागार प्रमुख भण्डारी

0
Shares

चूडामणि भण्डारी
प्रमुख
जिल्ला कारागार, स्याङ्जा

जिल्ला कारागार स्याङ्जाको कारागार प्रमुख हुनुहुन्छ– चूडामणि भण्डारी । यहाँ क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ । यसले गर्दा व्यवस्थापनमा समस्या उत्पन्न भएको पाइन्छ । क्षमताभन्दा बढी कैदी भएपछि व्यवस्थापन गर्न समस्या भएको कारागार प्रशासनको गुनासो छ । जिल्ला कारागारको भवन पुरानो र जिर्ण अवस्थामा रहेको छ । तथापि यहाँ रहेका कैदीबन्दीले कारागारभित्रै सीपमूलक काममा जोडिएर आम्दानी गर्दै आएका छन् । प्रस्तुत छ, कारागार केन्द्रित रहेर कारागार प्रमुख भण्डारीसँग जिल्ला संवाददाता अमृत अर्यालले गरेका कुराकानीको सम्पादित अंश :

बन्दीगृहको वास्तविक क्षमता कति छ ?

यस कारागार कार्यालयको बन्दीगृहको क्षमता पुरुष ३५ र महिला १५ गरी जम्मा ५० जनाको हो । हाल यस कारागार कार्यालयमा पुरुष १ सय ३५ र महिला २ गरी जम्मा १ सय ३७ जना छन् ।

कस्ताखालका कैदीबन्दी राखिएको छ ?

यस बन्दीगृहमा विशेष गरी कर्तव्य ज्यान, लागूऔषध, जबरजस्तीकरणी, ठगी, चोरी, आत्महत्या दुरुत्साहन, सवारी ज्यान लगायतका कैदीबन्दी भए तापनि विशेष गरी जबरजस्ती करणी, कर्तव्य ज्यान, लागूऔषधका कैदीबन्दीहरुको बाहुल्यता छ । जसमा कर्तव्य ज्यानका २८ जना, ज्यान मार्ने उद्योगका ८ जना, सवारी ज्यानका ८ जना, चोरीका ६ जना, बहुविवाहका ३ जना, लागूऔषधका १७ जना, ठगीका २ जना, डाँका ६ जना, जबरजस्ती करणीका २३ जना, जबरजस्ती करणी उद्योगका ६ जना, हात–हतियार तथा खरखजानाका २ जना र अन्य २८ जना रहेका छन् ।

विद्यमान भौतिक स्रोतसाधनबाट कसरी व्यवस्थापन गर्नुभएको छ ?

५० जना कैदीबन्दीको क्षमता भएको ठाउँमा झन्डै ३ गुणा बढी कैदीबन्दी राख्नुपर्दा स्थिति त भयावह देखिन्छ । न्यून स्रोतसाधनबाट कार्यालय व्यवस्थापन निकै चुनौतीपूर्ण छ । यो कारागार कार्यालयको बन्दीगृह २०३७ सालमा निर्माण भएको थियो । भवन पुरानो र जीर्ण अवस्थामा छ । २०६७÷०६८ सालतिर कार्यालय भवन बनेको हो । ५० जना कैदीबन्दीका लागि तयार भएको भौतिक संरचनाहरु जस्तै भवन, शौचालय, खुला ठाउँ, खानेपानी लगायतका अत्यावश्यक वस्तुबाट कम्तीमा १ सय ५० जनालाई व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण छ ।

कार्यालयको भौतिक संरचना, बन्दीगृहको भौतिक संरचना र अवस्था के–कस्तो छ ?

यस आव २०७९÷०८० मा पूर्वाधार विकास कार्यालय स्याङ्जाबाट चुहिने जस्तापाता फेर्ने, रंगरोगन गर्ने र एउटा सुरक्षा पोस्ट निर्माण गर्ने कार्य भएको छ । बायोग्याँस प्लान्ट निर्माणकार्य, ढल निकासका लागि पक्की नाला निर्माणका लागि यसै आवमा आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेशसँग अनुरोध गरी प्राप्त ८ लाख तथा कारागार व्यवस्थापन विभागबाट शौचालय निर्माण र पूर्वाधार निर्माणमा एकमुष्ठ प्राप्त रकम ८ लाख मध्येबाट बायोग्याँस प्लान्ट सम्पन्न भइसकेको र कार्यालयको लागि कोठा निर्माण गर्ने कार्य सम्पन्न भएको साथै शौचालयहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । यसै आवमा कारागार व्यवस्थापन विभागबाट बन्दीगृह निर्माणको लागि प्राप्त भएको बजेट अनुसार टेन्डर प्रक्रियाबाट निर्माणकार्य भइरहेको छ । निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । सो निर्माण कार्य सम्पन्न भएपछि केही हदसम्म कैदीबन्दी व्यवस्थापन क्षमतामा विस्तार हुनेछ भन्ने अपेक्षा लिएको छु ।

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कस्ता समस्या झेल्नुपरेको छ ?

विद्यमान स्रोत–साधनबाट क्षमताभन्दा ३ गुणा बढी कैदीबन्दीको व्यवस्थापन गर्दा खाने, बस्ने, सुत्ने, शौचालय जाने, नुहाउने, घुम्ने, खेलकुद र मनोरञ्जनका साधनस्रोत पु¥याउन निश्चय नै ठूलो समस्या निम्तिने गरेको छ । जसको असर कैदीबन्दीको पहिला स्वास्थ्यमा पर्न जान्छ । एकातिर सीमित स्रोतसाधन र अर्कातिर प्रतिकूल मौसम तथा हावापानी जस्तै कहिले अति गर्मी, कहिले अति ठन्डीबाट कैदीबन्दीहरु अक्सर बिरामी हुने, उपभोग गर्ने आवश्यक साधनस्रोतहरु सीमित भएको हुँदा व्यवस्थापकन गर्न पनि गाह्रो छ ।

कैदीबन्दीलाई आयमूलक काममा कत्तिको संलग्न गराउनुभएको छ ?

कारागारभित्र साल बसाली रूपमा आयमूलक कामका लागि सीप सिकाउने गरिएको छ । जस्तैः मैनबत्ती बनाउने, बिजुली वायरिङ गर्ने, बाँसको घडी बनाउने, पूजा टोकरी, मोहोडा बनाउने लगायतका आय–आर्जन हुने अथवा सीपमूलक कामहरु वर्षैपिच्छे सिकाउँदै आएका छांै । हाल कारागारमा मोहोडा निर्माण र पूजा टोकरी निर्माण गरी बिक्री–वितरण भइरहेको अवस्था छ ।

खानेपानीको अवस्थाचाहिँ कस्तो छ ?

विगतका वर्षमा यस कारागारमा शुद्ध खानेपानी, नुहाउने, शौचालय जाने र कपडा धुने प्रयोजनका लागि पानीको ज्यादै असुविधा थियो । हाल कारागारको व्यवस्थापकीय पक्षबाट आफ्नै पहलमा खानेपानीको लागि खानेपानी कार्यालय, नगरपालिका र यस कार्यालयको आन्तरिक स्रोतबाट खानेपानीको लागि कञ्चनखोला खानेपानीमा उपभोक्ता समितिसँग समन्वय गरी करिब १५ सय मिटर पाइपबाट सीधा कारागारमा खानेपानीको स्रोत थप गरिएको छ । २ हजार लिटरका २ वटा हिल ट्याङ्कीमा पानी जम्मा गरी मोटरबाट कैदीबन्दी आवाससम्म खानेपानी पु¥याउने कार्य भएको छ । हाल खानेपानी, कपडा धुने, नुहाउने, शौचालय जाने, खाना पकाउने र भाँडा धुने कार्यमा सहज भएको छ ।

सुरक्षा प्रबन्धका लागि बनाइएका सुरक्षा पोस्ट पनि जीर्ण देखिन्छन् नि ?

हो, यस कारागारका सुरक्षा पोस्ट जिर्ण रहेका छन् । भइरहेका सुरक्षा पोस्ट कारागारभन्दा माथि बाटो रहेको र कारागार होचो भागमा रहेकाले यसलाई अग्लो बनाउने कार्य अघि बढाएका छौं । एउटा सुरक्षा पोस्टलाई मर्मत गरी अग्लो बनाइएको छ । अन्य सुरक्षा पोस्ट आगामी वर्षमा क्रमशः मर्मत गरी माथि उठाउनेछौं ।

कारागारमा अहिले कति सुरक्षाकर्मी कार्यरत छन् ?

कारागार सुरक्षाका लागि १ जना असईको कमान्डमा १ जना भान्से सहित २१ जना सुरक्षाकर्मीको दरबन्दी रहेकोमा हाल १६ जना सुरक्षाकर्मी मात्र कार्यरत छन् । यो संख्याले सामान्य सुरक्षा व्यवस्था भइरहेको छ । कहिलेकाँही अस्पताल, अदालत र कैदीबन्दी स्थानान्तरणका लागि नपुग हुँदा जिल्ला प्रहरी कार्यालयबाट व्यवस्थापन गर्ने गरिएको छ ।

कैदीबन्दीले दैनिक सिदा रकम कति पाउँछन् ?

कैदीबन्दीलाई राज्यले प्रदान गर्ने दैनिक सिदा ६० रुपियाँबाट बढाएर २०७९ पुस १७ गतेबाट दैनिक नगद ८० रुपियाँ प्रदान गर्ने गरिएको छ । जिन्सी सिदा दैनिक ७ सय ग्राम सोना मन्सुली चामल प्रदान गरिन्छ ।

अन्त्यमा, विशेष केही भन्नु छ कि ?

जेलरलाई समस्या समाधानका लागि साधन स्रोतबिना कारागारमा खटाइएको अवस्था छ । एक्लो जेलरले चारैतिर हात थापेर न्यूनतम आवश्यकता परिपूर्तिका लागि सम्भव छैन । नेपाल राज्यभरका कारागार कार्यालयको कथा एउटै होला । सम्बन्धित निकायको ध्यान आकृष्ट गरी नेपाल राज्यभरी रहेका कैदी तथा थुनुवाका लागि न्यूनतम आधारभूत पूर्वाधारका लागि राज्यबाटै बृहत् योजनाका लागि ध्यानाकर्षण गराउन चाहन्छु ।