राष्ट्रपति रामचन्द्र पौडेललाई सानो हृदयघात

0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाईमायोकाड्रियल इन्फ्राक्सन (सानो हृदयघात) भएको छ । श्वासप्रश्वास र छाती भारी हुने समस्या भएपछि गंगालाल अस्पताल पुग्नुभएका राष्ट्रपति पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसामा समस्या देखिएको अस्पताल स्रोतको भनाइ छ । उहाँलाई हृदयघात भएको र मुटुको दाहिनेतिरको नसाबाट तार हालेर जाली खोलेर रगत सञ्चालन गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

पौडेल छाती दुख्ने, भारी हुने, गाह्रो हुनेलगायत समस्या भएपछि अस्पताल जानुभएको थियो । यस्तो स–साना हृदयघातले कुनै दिन ठूलो समस्या निम्त्याउने जिकिर गर्दै ती चिकित्सकले भने, ‘समयमै अस्पताल आइपुग्नुभएकाले एनजीओप्लास्टी गरेर रक्तनली खोलेका छौं ।’ चिकित्सकका अनुसार एनजीओप्लास्टी गरेपछि मुटुले कस्तो काम गर्छ भनेर दुई दिन हेर्नुपर्ने हुन्छ । त्यसैले, राष्ट्रपति पौडेललाई दुई दिन अस्पतालमा नै राख्ने तयारी गरिएको छ ।

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गरी राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका लागि आउनुभएको र चिकित्सकको सल्लाहअनुसार थप एक दिन अस्पतालमै अब्जर्भेसनमा राखिने बताउनुभएको छ । दम र ग्यास्ट्रिकको समस्या भएका राष्ट्रपति रामचन्द्र पौडेललाई छाती दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । उहाँलाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बरको श्ययामा राखिएको छ ।

पौडेलको स्वास्थ्य परीक्षण तथा उपचारमा गंगालालका निर्देशक डा.चन्द्रमणि अधिकारीसहितको टोली खटिएका छन् । यसअघि शनिबार पनि पौडेलको गंगालालमै स्वास्थ्य परीक्षण गरिएको थियो । यसअघि गत वैशाखको पहिलो साता पौडेललाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । त्यसपछि उहाँलाई भारतको राजधानी नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गरेर ल्याइएको थियो । गत चैत्र २५ मा राष्ट्रपतिमा निवार्चित भएपछि उहाँ स्वास्थ्यउपचारका लागि चारपटक अस्पताल पुगिसक्नुभएको छ ।