राष्ट्रव्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि गणतान्त्रिक खेलकुद महासङ्घलाई 

0
Shares

भक्तपुर ।

राष्ट्रव्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि गणतान्त्रिक खेलकुद महासंघले जितेको छ । ओखलढुंगाको लिखु टिमलाई ३–१ को सेटमा पराजित गर्दै गणतान्त्रिकले उपाधि उचालेको हो ।

भक्तपुरको हर्षचोकमा आयोजित खेलको पहिलो सेट २१–२५ ले गुमाएको गणतान्त्रिकले त्यसपछि लगातार तीन सेटमा २५–२०, २५–१९ र २५–२२ ले जित निकालेको थियो । प्रतियोगितामा आयोजक ओम सृजनशील समाजको टिमलाई पाखा लगाउँदै न्युटन एकेडेमीले तेस्रो स्थान हासिल गर्‍यो । ओम सृजनशील समाजले आयोजना गरेको प्रतियोगिताको विजेता टिम गणतान्त्रिकले ५० हजार नगद पुरस्कारसहित ट्रफि र मेडल हात पार्‍यो ।

बागमती प्रदेशसभा सदस्य किरण थापाले प्रतियोगितामा प्रथम हुने नेपाल गणतान्त्रिक खेलकुद महासङ्घलाई नगद पुरस्कार, ट्रफि, मेडल, प्रमाणपत्र प्रदान गरे । आयोजक समितिका संयोजक पेशल आचार्यका अनुसार, दोश्रो हुने लिखु–६ ओखलढुङ्गालाई नगद पुरस्कार २५ हजार, ट्रफि, मेडल, प्रमाणपत्र, तेश्रो हुने न्युटन एकेडेमीलाई १५ हजार, ट्रफि, मेडल, प्रमाणपत्र र सान्त्वना हुने ओम सृजनशील समाजलाई १० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै प्रतियोगितामा गणतान्त्रिक महासंघका खेलाडी विष्णु बस्नेतले म्यान अफ दि म्याचको उपाधि जित्न सफल भए । त्यसैगरी बेस्ट स्पाइडरमा महासंघकै समित श्रेष्ठ, बेष्ट ब्लकरमा महासंघकै सन्तोष रानामगर, बेष्ट सेटर महासंघकै मनोज घिमिरे, बेष्ट लिब्रोको उपाधि लिखु–८ का सन्दीप थापा र बेष्ट सर्भरको उपाधि न्युटन एकेडेमीका धिरज काजी बस्नेतले हात पारे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभाका सदस्य  थापाले खेलमा देखिएको दर्शकको भीडले भक्तपुरमा भलिबल खेलका लागि खेल मैदान निर्माण गर्नुपर्ने आवश्यकता देखिएको बताए । यस प्रकारको प्रतियोगिता आगामी दिनमा गरिरहनु पर्ने र खेल तथा खेलाडीको मनोबल वृद्धि गरिरहनु पर्नेमा जोड दिँदै थापाले खेल मैदानका लागि वाग्मती प्रदेश सरकारबाट सक्दो सहयोग गर्न प्रयास गर्ने बचन दिए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति भक्तपुरका प्रमुख दीपक थापा, सूर्यविनायक नगरपालिका–४ का वडाध्यक्ष लछुराम न्यौपाने, कार्यक्रमका सभापति एवं आयोजक समाजका अध्यक्ष अर्जुन केसी लगायतले भलिबल खेल मैदानको आवश्यकतालाई संघ, प्रदेश र स्थानीय सरकारले पुरा गर्न लाग्नु पर्नेमा जोड दिए ।

मापनका अवसरमा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न देशमा गएर भलिबल खेलेका खेलाडी धिरजकाजी बस्नेत र विष्णु बस्नेतलाई सम्मान गरिएको थियो । आयोजक संस्थाका अध्यक्ष अर्जुन केसीका अनुसार, शनिबारदेखि सुरु भएको प्रतियोगितामा ८ जिल्लाका १० टिमको सहभागिता रहेको थियो । सोही अवसरमा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको थियो ।