फैसला कार्यान्वयन लक्ष्य भन्दा धेरै

फैसला लक्ष्यको ९६ प्रतिशत



कैद मात्रै लागेका २ सय ७३ जना, जरिवाना मात्रै लागेका ८ सय १८ र कैद तथा जरिवाना दुवै भएका ९ सय ३७ जना फरार छन् । २ हजार २८ जना व्यक्तिले अदालतको फैसला अनुसारको सजाय तथा जरिवाना भुक्तान गर्न बाँकी छ ।

काभ्रे  ।
जिल्ला अदालत काभ्रेपलान्चोकले लक्ष्य अनुसार ९६ प्रतिशत प्रगति गरेको छ । २०८० ज्येष्ठ २५ गतेसम्म २ हजार १ सय ३ वटा मुद्दा फछर्यौटको लक्ष्यमा २ हजार १९ वटा फछर्याैट भएका छन् । मुद्दा फैसला कार्यान्वयनमा पनि लक्ष्यको १ सय १० प्रतिशत पुगेको छ ।

जिल्ला अदालत काभ्रेका उप सचिव श्रेस्तेदार गोविन्द घिमिरेका अनुसार मुद्दा फछर्याैट र फैसला पछिको कार्यान्वयनमा तीव्रता दिइएको छ । ‘मुद्दा फैसलाको कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको संयोजकत्वमा टिम नै परिचालन गरिदिएको छ’–श्रेस्तेदार घिमिरेले भन्नुभयो–‘प्रहरीको सक्रियता, कर्मचारीको क्रियाशीलताका कारण फैसला कार्यान्वयनले लक्ष्य पार गरेको हो ।’

एसपी भागेन्द्रपुरुष ढकालले समुदायमा लुकेर रहेका अदालतले सजायँ निर्धारण गरेका व्यक्तिहरूको पक्राउका लागि प्रहरी निरीक्षकको कमान्डमा टिम परिचालन गरिएको बताउनु भयो । चालु वर्षमा प्रहरीका तर्फबाट ९७ वर्ष १२ महिना ७ दिन कैद असुल गरेको छ भने ४१ लाख २६ हजार ८ सय २२ रुपैयाँ जरिवाना असुल भएको छ ।

असुल गरिएको मध्ये २५ प्रतिशत कमिसन प्रहरीले पाउनेछ । डोरबाट ५४ लाख ८६ हजार ५ सय ३२ रुपैयाँ जरिवाना असुल भएको छ भने अन्य विभिन्न तरिकाबाट २ करोड ५६ लाख ९८ हजार ५ सय ३८ रुपैयाँ जरिवाना असुल भएको छ । ९८ लाख रुपैयाँ जरिवाना भएको एउटा मुद्दामा सर्वोच्च अदालतले सफाइ दिए पछि जरिवाना असुलीमा संख्या धेरै देखिएको छ ।

वैशाख मसान्तसम्म अदालतबाट फैसला कार्यान्वयनको लक्ष्य २ सय १५ थियो । २ सय ३७ वटा मुद्दाको कार्यान्वयन गरेको तहसिल शाखाका प्रमुख तहसिलदार शेषराज दाहालले बताउनु भयो । ‘प्रहरीबाट, फैसला हुँदा र अन्यबाट ७ सय ५१ वर्ष ११ महिना ८ दिन कैद असुल भएको छ’–तहसिलदार शेषराज दाहालले भन्नुभयो–‘६८ करोड ७ लाख ६२ हजार ६ सय १४ रुपैयाँ जरिवाना र १२ सय ३३ वर्ष १० महिना २ दिन कैद असुल गर्न बाँकी छ ।’

जसमा कैद मात्रै लागेका २ सय ७३ जना, जरिवाना मात्रै लागेका ८ सय १८ र कैद तथा जरिवाना दुवै भएका ९ सय ३७ जना फरार छन् । २ हजार २८ जना व्यक्तिले अदालतको फैसला अनुसारको सजाय तथा जरिवाना भुक्तान गर्न बाँकी छ । चालु वर्षका लागि अघिल्लो वर्षको जिम्मेवारी सरी आएका १ सय ६६ वटा तथा चालु वर्षका २ सय ९८ गरी ४ सय ६४ मध्ये २ सय २७ वटा फछर्याैट भएका हुन् ।

अदालतले लिएको ‘२–०’ लक्ष्य अर्थात् दुई वर्ष पुरा भएका मुद्दालाई शून्यमा पु¥याउने अभियान अन्त्रगत ६२ वटा मुद्दा फैसला हुन बाँकी छन् । १ हजार २ सय ४५ वटा मुद्दा बाँकी भएको अवस्थामा जिल्ला अदालतमा दुनियाँवादी देवानी ३६, फौजदारी १४, सरकारवादी फौजदारी ११ र पुनरावेदन देवानी १ वटा दुई वर्ष नाघेका मुद्दा बाँकी छन् ।

३ हजार २ सय ६४ मध्ये फैसला भएर बाँकी रहेका मुद्दाहरू पनि द्रुत गतिमा अघि बढिरहेका छन् । श्रेस्तेदार घिमिरेका अनुसार चालु वर्षको अन्त्यसम्ममा लक्ष्य भन्दा धेरै मुद्दाको फैसला हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्