चालिस करोडको क्रिकेट मैदानको शिलान्यास



बुटवल । रुपन्देहीको तिलोत्तमामा ४० करोड रुपैयाँको निजी लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बन्ने भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १७ दरखसवामा बन्ने एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको सोमबार शिलान्यास भएको हो । मैदान निर्माणका लागि करिब दुई वर्ष अघिदेखि जग्गाखरिद प्रक्रिया सुरु गरिएको थियो ।

पौने ५ बिघा जग्गाकिनेर मैदान निर्माणको प्रक्रिया अगाडि बढाइएकोमा थप जग्गा खरिदको प्रक्रिया जारी रहेको एक्स्ट्राटेक ओभल प्रालि र यसका निर्देशक विनोद कुँवरले बताउनु भयो । पहिलो वर्ष ५ हजार दर्शक क्षमताको रङ्गशाला बनाइने र प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला बनाउने योजना रहेको कुँवरले बताउनुभयो ।

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानलाई रङ्गशालाको स्वरुपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सरकारले एउटा राम्रो अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन नसकेको र चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय मैदान अलपत्र परेको अवस्थामा आफूले एकल लगानीमा मैदान निर्माण सुरु गरेको कुवरले बताउनु भयो ।

निर्देशक कुँवर तथा चिफ अपरेटिङ अफिसर सुदीक्षा गौतमसँग यस रङ्गशालाको स्वामित्व रहेको छ । अस्ट्रेलियाको सिड्नीमा अवस्थित आईटी ट्रेनिङ इन्सिच्युट हो । पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बेस्डर रहनुभएको छ । यो क्रिकेट रङ्गशालामा होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर रहने छ भने गौचनलाई यसको जिम्मेवारी दिइएको छ ।

रङ्गशाला कम्पाउन्डमा चार तलाको भवन बनाएर १ सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने योजना रहेको छ ।

यूएईमा लामो समय बसेर अवुधाबीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा क्युरेटरको जिम्मेवारी लिएकाम ाधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा रहनु हुनेछ । क्रिकेट मैदानको शिल्यान्यास तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँण पूर्व राष्ट्रिय क्रिकेटर गौचनलगायतले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्