बहुरमाइ नगरपालिकाद्वारा मोवाइलको नाउँमा लाखौं रकम दुरुपयोग



वीरगन्ज।

पर्साको बहुदरमाई नगरपालिकाका जनप्रतिनिधिले मोवाइद खरिदको नाउमा लाखौं रुपैयाँ खर्चिएको पाइएको छ। नगरपालिकाले ०७८/७९ मा जनप्रतिनिधिका लागि मोबाइल खरिद गरिदिएको पाइएको हो ।

उक्त आर्थिक वर्षमा नगरपालिकाले रेडमी, वन प्लसलगायत कम्पनीका ५८ वटा मोबाइल विभिन्न सात वटा फर्मबाट खरिद गरेको थियो।११ लाख १५ हजार ९ सय ९४ रुपैयाँ बराबरको उक्त मोबाइल अहिले कहाँ छन्, कुन अवस्थामा छन् कसैलाई थाहा छैन। नगरपालिकाका तत्कालीन मेयर नितेन्द्र साहको पालामा नगरपालिकाका बोर्ड सदस्य लागि भनेर उक्त मोबाइल खरिद गरिएको थियो। तर, अहिले ती मोबाइलहरू कसले प्रयोग गरिरहेका छन् भन्ने कुरा कसैलाई पनि थाहा छैन।मधेस प्रदेश सरकारबाट जारी स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७७ मा पालिका पदाधिकारी तथा कर्मचारीलाई मोबाइल सुविधा दिने व्यवस्था छैन। तैपनि, नगरपालिकाले आफ्ना बोर्ड सदस्यहरूका लागि लाखौँका मोबाइल खरिद गरी वितरण गरेको थियो।

उक्त मोबाइलमध्ये एउटा रेडमी कम्पनीको मोबाइल आफूले पनि पाएको बहुदरमाई नगरपालिका–९ का तत्कालीन एवं हाल पनि वडाध्यक्ष रहेका रवि गुप्ताले बताउनुभयो । उहाँले सो मोबाइल बोर्ड मेम्बरका लागि नगरपालिकाले खरिद गरेको जानकारी दिँदै मोबाइल आफूले पनि पाएको तर पछि नगरपालिकालाई नै फिर्ता दिएको दाबी गर्नुभयो । आफूसहित वडा कार्यालयका कर्मचारीले पनि नगरपालिकाको मोबाइल नचलाउने गरेको वडाध्यक्ष गुप्ताको भनाइ छ।

वडा नम्बर ४ का अध्यक्ष सुरेन्द्र यादवले पनि आफूसहित वडाका कर्मचारीले व्यक्तिगत मोबाइल चलाइरहेको जानकारी दिनुभयो । यद्यपी नगरपालिकाका हालका मेयर सिँगासन साह तेलीले पनि आफूले आफ्नै मोबाइल चलाइरहेको बताउनुभयो । उहाँले नगरपालिकाबाट मोबाइल नलिएको जानकारी दिनुभयो ।

यता, ११ लाखभन्दा पनि बढीको ५८ वटा मोबाइल एक आर्थिक वर्षमै खरिद भएको तथा उक्त मोबाइल कहाँ र कुन अवस्थामा छन्, कसले चलाइरहेको छ भन्नेबारे आफूलाई पनि जानकारी नभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्द शेरे मुस्तफाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्