अमेरिकी डलरसहित एक जना पक्राउ

0
Shares

काठमाडौं।

लुकाएर विदेश लैजान लागेको अमेरिकी डलरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाका प्रेम नोर्वु शेर्पा रहेका छन् ।

विमानस्थल सुरक्षा प्रहरी प्रमुख डीआइजी अर्जुन चन्दका अनुसार शेर्पाले थाइल्याण्ड जाने क्रममा ९ हजार ४ सय १३ अमेरिकी डलर बोकेका थिए ।

उनले झोलाको भित्री भागमा उक्त रकम लुकाएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रुपमा लैजान लागेको डलरसहित दोलखा बिगु गाउँपालिका–७ का ३६ वर्षीय प्रेम नोर्बु शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर फेला पारेको प्रहरीले जनाएको छ ।

उनी दोलखामा पसल सञ्चालन गर्ने व्यापारी भएको अनुसन्धानमा खुलेको छ । थप अनुसनधानका लागि उनलाई बरामद विदेशी मुद्रासहित राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।