पानी नपरेपछि कतै इन्द्रपूजा, कतै भ्यागुताको विवाह

0
Shares

नवलपरासी।

जेठका अन्तिम दिन लाग्दा पनि पानी पर्ने छेकछन्द नदेखेका स्थानीयले  कतै इन्द्रपूजा त कतै भ्यागुताको विवाह गर्न थालेका छन् ।

खेत रोप्न राखेकाे बीउ ब्याडमै सुक्ने र गोडमेल सकेको मकै बारीमै डढ्न थालेपछि किसानहरूले पानी पराेस भन्दै इन्द्र भगवान् खुसी पार्न पूजा लाउन थालेका हुन् ।

यसै क्रममा सोमबार बिहानैबाट पूर्वी नवलपरासीको कावासोती ९ समावेशी टोलवासीले हिन्दु  धार्मिक विधिविधान अनुसार  इन्द्रपूजा लगाएको स्थानीय बाबु केसीले बताए ।

त्यसै गरी पानी पर्न कै लागि जिल्लाका ठाउँ ठाउँमा, जोडी भ्यागुताको  विवाह गरिदिने, स्थानीय परम्परा अनुसार महिलाहरूले कजरी गाएर इन्द्रको पुकार गर्ने गरेका छन् ।

त्यसो त यस वर्ष देशकै अत्यधिक ताप मापन गरिएको दुम्काैली क्षेत्रमा पनि स्थानीयले नदी किनारमा गई इन्द्र पूजा गरेका सञ्चारकर्मी बिबेक भण्डारीले बताए ।

सनातन हिन्दु धार्मिक मत अनुसार जल वर्षाका लागि  जौ, तिल,चामल जस्ता अन्न मिश्रित चरु गाइको घिउमा मलेर हवन तथा यज्ञादि कर्म गर्नाले वायु सुद्ध भई वर्षा हुने गर्दछ ।

पहिला पहिला पनि वर्षा लागे सँगै पानी पर्न ढिलाइ हुँदा संसारी पूजा गर्ने, पिपलका पातमा ॐ लेखी बगाउने प्रचलन रहेको स्थानीय बुढापाकाहरू बत्ताउँछन्  ।

पानी नपर्दा तराईको जनजीवन गर्मीले अस्तव्यस्त बनेको छ । कतिपय विद्यालय तथा शिक्षण संस्था साता अघि देखिनै बन्दछन् भने केही विद्यालयमा बिहानी कक्षा चलेका छन् ।

त्यसो त यस वर्ष पश्चिमी वायु नेपाल पस्ने क्रम अघिल्ला वर्षको तुलनामा  ढिलाइ भएको छ ।

यद्यपि पछिल्लो २४ घण्टामा काठमाडौँ लगायतका केही स्थानमा भारी तथा छिटपुट वर्षा भएको बताइन्छ ।