मुलुक आर्थिक दबाबमा छ : प्रधानमन्त्री दाहाल

0
Shares

काभ्रे ।

प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक आर्थिक दबाबबाट गुज्रिरहेको बताउनु भएको छ । ‘आन्तरिक तथा बाह्य क्षेत्रबाट समेत मुलुकले आर्थिक दबाबको सामना गरिरहेको छ’–प्रधानमन्त्री दाहालले भन्नुभयो ।

काठमाडौँ विश्वविद्यालयको धुलिखेलको २८ औं दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमलाई सम्बोधन गर्दै कुलपतिसमेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक दबाब रोक्न सरकारले नीति तथा कार्यक्रम र बजेटमा ७ सय ५३ वटै पालिकामा उत्पादन र रोजगार वृद्धि गर्ने कार्यक्रम समावेश गरेको बताउनुभयो । ‘कृषिमा आधारित कार्यक्रम सबै स्थानीय तहमा केन्द्रित गरेका छौँ’–प्रधानमन्त्री दाहालले भन्नुभयो–‘यस्ता कार्यक्रममा दक्ष जनशक्ति समेत समावेश हुन सक्यो भने मुलुकलाई थप सहजता हुनेछ ।’

मुलुकमा विश्वविद्यालय खोल्ने होडबाजी चलिरहेको बताउँदै प्रधानमन्त्री दाहालले भएका विश्वविद्यालयको गुणस्तरीयता वृद्धि गर्ने, विद्यार्थी कम हुँदै गएका कारण संकटमा पर्न थालेका सामुदायिक क्याम्पसहरु एकीकरण गर्ने र पूर्वाधार भएका स्थानमा मात्रै विश्वविद्यालय सञ्चालन गर्नु पर्ने प्रधानमन्त्री दाहालले बताउनुभयो । शिक्षा सेवालाई निर्यातमुखी हुनबाट जोगाउन केही कदम चाल्नु पर्ने भए पनि देशका लागि आवश्यक पर्ने दक्ष जनशक्ति बिदेसिन रोक्ने उपाय उत्पादनमुखी र रोजगारमुखी कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनुभयो ।

आमन्त्रित प्राध्यापक डा. राजन वेलुकरले नेपाल र नेपालीहरुलाई दक्ष बनाउन गुणस्तरीय शिक्षाका लागि शैक्षिक संस्थाहरु अब्बल बनाउनु पर्ने बताउनुभयो । जलवायु अनुकुलन, विश्वब्यापी मान्यता तथा प्रतिस्पर्धामा उत्रन सक्ने दक्ष जनशक्ति तयार गर्न काठमाडौँ विश्वविद्यालयलाई प्राध्यापक डा. राजन वेकुलरले शुभकामना दिनु भयो । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले चालु शैक्षिक वर्षमा भर्नाको दर ७० प्रतिशत मात्रै रहेकाले विश्वविद्यालयका लागि चुनौतीपूर्ण अवस्था रहेको बताउनुभयो । ‘नेपाल भित्र काठमाडौँ विश्वविद्यालय जस्ता अब्बल संस्था स्थापित छन् उच्च शिक्षाका लागि युवाहरु बिदेसिनुको कारण गुणस्तरीय शिक्षा प्रतिको संशयले नभई अन्योलपूर्ण भविष्य हो’–प्रा.डा. भोला थापाले भन्नुभयो–‘विश्वविद्यालय भित्रै रोजगारीको अवसर प्रदान गरी विदेश पलायन हुनबाट रोक्न हरसम्भव प्रयास गरेका छौँ।’

नेपालको उच्च शिक्षाका सबै आयामहरूको अन्तर्राष्ट्रियकरणका लागि विश्वविद्यालयले विशेष पहल गरेको बताउँदै प्रा.डा भोला थापाले काठमाडौँ विश्वविद्यालय नवीनतम खोज तथा अनुसन्धानमा अब्बल साबित हुँदै गएको बताउनुभयो । सहकुलपति एवं शिक्षामन्त्री अशोककुमार राई, रजिस्ट्रार अच्युत वाग्ले लगायतले काठमाडौँ विश्वविद्यालय र दीक्षान्तका सन्दर्भमा धारणा राख्नु भएको थियो । प्रधानमन्त्री दाहालले दीक्षान्त अघि स्कुल अफ ल को नव निर्मित भवनको उद्घाटन गर्नु भएको थियो ।

१२४० विद्यार्थी दीक्षित

काठमाडौँ विश्वविद्यालयको २८ औ दीक्षान्त समारोहको दोस्रो चरणको दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा विभिन्न तहका विभिन्न उपाधिहरू प्रदान गर्न ग्रेसलिस्ट स्वीकृत गर्ने कार्यका लागि बसेको सभाले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरुका लागि उपाधि प्रदान गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आइतबार विद्यार्थीहरुलाई दीक्षित गरिएको हो ।

दीक्षान्त समारोहमा पिएचडी ९ जना, एमफिल ४१ जना, स्नातकोत्तर तहका ९८ जना र स्नातक तहका १ हजार ९२ गरी १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित भएका थिए । दीक्षित हुनेहरु मध्ये आर्टसमा ३५, एजुकेसन ५७, इन्जिनियरिङका ३ सय ६५, लका १ जना, म्यानेजमेन्टका ५० जना, मेडिकल साईन्सेजका ५ सय ६५ जना र साइन्सका १ सय ६७ विद्यार्थी छन् । विश्वविद्यालयको इतिहासमा पहिलो पटक स्कुल अफ इन्जिनियरिङका ब्याचलर अफ आर्किटेक्चरमा २९ जनालाई उपाधि प्रदान गरेको छ । हालसम्म विश्वविद्यालयबाट ४१ हजार २ सय ७५ जना विद्यार्थी उर्तिण भएका छन् । दीक्षान्त समारोहमा भारत लगायत ४ वटा देशका ७३ जना विद्यार्थी पनि सहभागी भएका छन् । अघिल्लो वर्षको तुलनामा कोभिड लगायतका कारण विदेशी विद्यार्थीको संख्या घटेको छ ।

दीक्षान्त समारोहमा चान्सलर स्वर्णपदक स्नातकोत्तर तहमा स्कुल अफ एजुकेसनका सिद्धार्थ रजकले पाएका छन् । भाईस चान्सलर स्वर्णपदक स्नातक तहमा स्कुल अफ एजुकेसनकी सञ्चिता केसीले पाएकी छिन् । त्यस्तै जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक एमबिए तहबाट स्कुल अफ म्यानेजमेन्टकी प्रश्न भट्टराई र रणबहादुर शाह स्वर्णपदक एमबिए तहमा स्कुल अफ म्यानेजमेन्टकी आयुस्मा पोखरेलले प्राप्त गर्ने भएकी छिन् । दीक्षान्त समारोहमा कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, मुम्वई विश्वविद्यालय लगायतका विभिन्न विश्वविद्यालयका पुर्व उपकुलपति र हाल एटलास स्किलटिच विश्वविद्यालय मुम्बईका उपकुलपति प्रो.डा राजन बेल्लुकरले दीक्षित विद्यार्थीहरुलाई बधाई दिनु भएको थियो ।