सुन-चाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न व्यवसायीको माग

0
Shares

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीका वस्तुमा २५ विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ ।

सुनचाँदी व्यवसायमा आवद्ध तीनवटै महासंघले तत्काल उक्त कर लगाउने घोषणा फिर्ता गर्न माग गरेका हन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले सरकारको यो निर्णय सुनचाँदी व्यवसायीको हितविपरीत भएको ठहर गरेको छ ।

सरकारले विदेशबाट आउने पुरुषले २५ ग्राम र महिलाले ५० ग्राम सुनका गहना ल्याउन पाउने तथा त्यसमा पनि रसायनसहितका गरगहना हुनुपर्ने नीति अवलम्बन गरेकोप्रति पनि व्यवसायीले विरोध जनाएका छन् ।

उनीहरुले भन्सार दरमा गरिएको अस्वाभाविक वृद्धिका कारण नेपाली सुनचाँदी व्यवसायमा नकारात्मक असर पर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवसायीले सुनचाँदी भन्सार दरलाई पुनरावलोकन गरी विश्व व्यापार संगठनको प्रावधानअनुरुप खुला आयात नीति लागू गर्न माग गरेका छन् ।

राज्यले विभिन्न बहानामा व्यवसायी र आम उपभोक्तामाथि कर थोपर्ने नीति लिएकोले त्यसको व्यवसायीहरुले बिरोध जनाएका छन् । त्यसैगरी, बजेटले सुनचाँदीको आयातमा लाग्ने भन्सार दरमा ५० प्रतिशत वृद्धि गरेको छ ।

परम्परागत र रैथाने ब्यवसायलाई प्रवद्र्धन गर्ने भनिएको बजेटको नीतिको ठीक विपरित हुने गरी यो व्यवसायमा थप २ प्रतिशत विलासिता करसमेत लगाउने घोषणा गरेको व्यवसायीको आरोप छ ।