नवलपुरको तापक्रम ४४ डिग्री पुग्यो

0
Shares

नवलपुर ।

दुई दिनअघि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा मापन भएको देशकै सबैभन्दा बढी तापक्रम आज पुनः ‘ब्रेक’ भएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको मौसमको विवरणअनुसार नवलपुरको दुम्कौलीमा तापक्रम ४४ डिग्री सेल्सियस मापन गरिएको हो । यसअघि जेठ २४ गते दुम्कौलीमा अधिकतम तापक्रम ४३ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको थियो ।

जेठ २४ र २५ गते स्थिर रहेको यहाँको तापक्रम बढेर पुनः देशकै सबैभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको हावापानी विज्ञान महाशाखा/हावापानी विश्लेषण शाखाका अनुसार देशभरका विभिन्न ८३ ठाउँको तापक्रम मापन गरिएको छ ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २२ स्थानमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ । मापन गरिएकामध्ये २३ स्थानको तापक्रम ३५ देखि ४० डिग्री, २९ स्थानमा ३० देखि ३५ डिग्री सेल्सियस तापक्रम मापन भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

विभागका विभिन्न दुई सय ७२ केन्द्रमध्ये ४० वटा केन्द्रले वर्षा मापन गरेको जनाइएको छ । पछिल्लो २४ घण्टामा झापाको अनारमनी बिर्ता केन्द्रमा सबैभन्दा बढी ६३ दशमलव दुई मिलिमिटर वर्षा मापन गरिएको विभागको विवरणमा उल्लेख छ । चालीस मिलमिटरभन्दा बढी वर्षा मापन एक स्थानमा, २५ मिलिमिटरभन्दा बढी वर्षा चार स्थान तथा १० मिलिमिटरभन्दा बढी वर्षा सात स्थानमा मापन गरिएको विभागले जनाएको छ ।