आफ्नो मान्छे  फेल भएपछि बीचमै शिक्षक परीक्षा रोकियो

0
Shares

धादिङबेसी। 

गाउँपालिका अध्यक्षको आफ्नो नातेदार तथा कार्यकर्ता पहिलो चरणमै फेल भएपछि गजुरी गाउँ पालिकाको किराञ्चाेक कटुञ्जे माविको शिक्षकको परीक्षा नै रोकिएको छ।

गजुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको किरमञ्चोक कटुञ्जे माविमा लिइएको परीक्षा बिचमा रोकिएको हो ।

नेपाली र गणित तथा विज्ञान विषयका लागि २ जना छुट्टाछुट्टै शिक्षक आवश्यकता भएको विद्यालयले वैशाख १४ गते करारमा शिक्षक भर्ना गर्नका लागि सार्वजनिक सूचना जारी गरेको थियो । शिक्षा विकास तथा समन्वय इकाइको स्वीकृति अनुसार विद्यालयले सूचना जारी गरेर शिक्षक माग गर्दा गणित था विज्ञान विषयमा एक जनाको मात्र निवेदन परेको थियो भने नेपालीका लागि ७ जनाले १ हजार ५ सय तिरेर वैशाख २८ गतेसम्म निवेदन दिएका थिए ।

शिक्षक छनौट कार्यविधि अनुसार प्रथम पत्र, द्वितीय पत्रको परीक्षा हुन्छ भने त्यसपछि अन्तर्वार्तामा उत्तीर्ण  भएकाहरुको हुने गर्छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वडा अध्यक्ष बद्री जमकटेल नै भएको विद्यालयमा एक महिनादेखि एकै दिनमा परीक्षाको अन्तिम नतिजा आउनुपर्नेमा रोकिएकोले राजनीतिक गन्ध आएको परीक्षामा सहभागिहरुले बताएका छन् ।

विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विज्ञ समेत राखेर तत्कालीन अवस्थामा प्रश्न निर्माण गरी परीक्षा लिइएको थियो । पहिलो पत्रको परीक्षामा नेपालीमा २ जना र गणित तथा विज्ञानमा एक जना उतिर्णभएको सूचना आएपछि दोस्रो पत्रको परीक्षा वैशाख ३१ गते नै लिइएको र हालसम्म पनि रोकिएको परीक्षामा सहभागी अस्मिता ढुंगानाले बताउनु भएको छ । ढुंगानाले नेपाली विषयमा उत्तीर्ण भएर दोस्रो पत्रको परीक्षा दिनुभएको हो ।

२० जनासम्मको पनि परीक्षा एकैदिन रिजल्ट समेत गर्ने र त्यसभन्दा बढी भए २ दिनमा सबैको परीक्षा लिएर अन्तिम नतिजा निकाल्ने गरिएकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमकट्टेलको नातेदार पहिलो पत्रको परीक्षामा फेल भएपछि एक महिनासम्म रोकिएको परिक्षार्थीहरुको आरोप छ।
गजुरी गाउँपालिका शिक्षा शाखाका अधिकृत भीमसेन विष्टले विद्यालय व्यवस्थापन समितिले शिक्षक पदपूर्ति समितिको काम अघि नबढाएका कारण एक महिना पुग्न लाग्दा समेत रिजल्ट नआएको र आफूले यस विषयमा केही निर्णय दिन नमिल्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमकट्टेलले समस्या भएको धेरै समय भएकोले छिट्टै समाधान गरिने बताउनुभयो ।

शिक्षक छनौटका लागि विज्ञ बोलाएर व्यवस्थापन समितिका अध्यक्षकैरोहबरमा प्रश्न झिकेर परीक्षा लिइएकोमा परीक्षा नै रोकिएकोमा अभिभावकहरु समेत रुष्ट भएका छन् ।

विद्यालयका प्रधानाध्यापक दीपेन्द्र भण्डारीले विद्यालयमा शिक्षक नियुक्त गर्न नपाएपछि पढाइ समेत प्रभावित भइरहेको बताउनु भएको छ।