सर्पको टोकाईबाट महिलाको मृत्यु 



सिन्धुली । 

सिन्धुलीको दुधौली नगरपालिकामा शुक्रवार सर्पको टोकाईबाट एक जना महिलाको मृत्यु भएको छ । सर्पको टोईकाईबाट दुधौली नगरपालिकाकै दुई बालकको मृत्यु भएको दुई हप्ता नपुग्दै फेरि सर्पको टोकाईबाट अर्को एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुधौली नगरपालिका १० कर्थाका ६२ बर्षिया शिव कुमारी कार्कीको सर्पको टोकाईबाट मृत्यु भएको हो । शुक्रवार बिहान  साढे पाँच बजे आफ्नै घरको पेटीमा हिड्नेक्रममा अचानक सर्पले डसी कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो ।

सर्पको टोईबाट घाइते भएकी कार्कीलाई दुधौली नगरपालिका ९ सर्पदंस अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि कर्जना फुलकुमारी मेमोरियल हस्पिटल सिरहामा लगिए पनि बिहान साढे आठ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक दाहालले बताउनुभयो ।

यही  जेठ १५ गते दुधौली नगरपालिका १ कुर्थौलीका गणेश पहाडीका १३ बर्षका छोरा ग्रिस र ३ बर्षका अर्का छोरा ग्रिस्म पहाडीको सर्पको टोईकाबाट मृत्यु भएको थियो । दुधौली नगरपालिका सिन्धुली जिल्लाकै धेरै सर्पको जोखिम क्षेत्रमा पर्दछ । दुधौली नगरपालिकामा बर्षे सर्पको टोकाईबाट सर्वसाधारण नागरिकले ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्