विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक : प्रम

0
Shares

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेसम्म चल्दै आएको विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक रहेको बताउनु भएको छ । उहाँले देशमा आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था आएको समेत बताउनुभयो । बिहीबार लुम्बिनी केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने जरुरी रहेको बताउनु भएको हो ।

देशको अर्थतन्त्र अप्ठेरोमा रहेका बेला निजी क्षेत्रका तर्फबाट पर्यटकीय पूर्वाधारहरू निर्माण भएकाले मुलुकमा आर्थिक क्रियाकलाप थप चलायमान भएको र यसले सकारात्मक सन्देश गएको प्रधानमन्त्री प्रचण्डले बताउनु भयो ।

रुपन्देही र पाल्पा जिल्लालाई जोड्ने गरी निर्माण भएको केबलकारको पर्यटकीय पूर्वाधारले स्थानीयस्तरमा मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो योगदान पुग्ने उहाँले बताउनु भयो । नेपालमा आउने विदेशी पर्यटकका लागि यस्ता पर्यटकीय संरचनाले सहयोग पुग्ने र यसबाट उनीहरुको नेपाल बसाई पनि लम्ब्याउन सकिने प्रधानमन्त्री दाहालको कथन छ । पर्यावरणीय महत्वलाई कायमै राखेर स्थानीय नागरिकको पनि साझेदारीमा काम गर्न र उनीहरुको जीवनस्तर उकास्ने खालका काम गर्न प्रधानमन्त्रीले सुझाव दिनुभयो ।

वर्तमान सरकारले देश विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्यका साथ अघि बढ्ने नीति लिएको र देशमा लगानीका सम्भावनाहरूलाई हर समय खुला राख्ने पक्षमा रहेको उहाँले बताउनुभयो ।

पर्यटन क्षेत्रको बहुआयमिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटल लगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्बाउन आवश्यक पर्ने नीति अवलम्बन गरिने प्रधानमन्त्रीले बताउनुभयो । मुलुकभित्रै रोजगारीको अवस्था सिर्जना गर्न आन्तरिक उत्पादन र नवप्रवर्तनको क्षेत्रमा लगानी केन्द्रित गरी अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारू गर्ने निर्णय गरिसकिएको प्रधानमन्त्रीको भनाइ छ ।

पछिल्लो समयमा आर्थिक प्रणालीमा व्यवसायिक चक्रभन्दा सम्पत्तिको मूल्य वृद्धि चक्र हावी हुनु दुःखद भएको उल्लेख गर्दै उहाँले कृषि, उत्पादन, उद्योग एवं वास्तविक सेवा क्षेत्रको वृद्धिदरलाई उच्च बनाएमा मात्र वित्तीय क्षेत्र बलियो र स्थिर हुने उहाँको जिकिर छ ।उच्च मुद्रास्फीति र अस्थीर व्याजदरले राज्य एवं सामान्य नागरिकको बजेट प्रणाली, ज्याला, उद्योगको विकास र आम जनसमुदायको जीवनस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले यसमा सरकारले उपर्युक्त कदम चाल्ने धारणा राख्नु भयो । अहिलेसम्म चल्दै आएको विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक रहेको प्रधानमन्त्री दाहालकोे भनाइ छ । ‘हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशीता जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए तापनि उत्पादन र रोजगारीको क्षेत्रमा हाम्रो प्रगति उत्साहजनक छैन’उहाँले भन्नुभयोे । पछिल्लो ६ महिनामा दुर्घटनाग्रस्त अर्थतन्त्रले लय समातेको र समष्टिगत आर्थिक परिसूचकहरूमा राम्रो सुधार आउन थालेको प्रधानमन्त्रीको दाबी छ ।

वर्तमान सरकारले स्वदेशी तथा वैदेशिक लगानीका लागि सदैव आह्वान गर्ने गरेको भन्दै उहाँले भारतको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीमोदीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा भएबाट अब नेपालमा हाइड्रोपावरका क्षेत्रमा लगानीको बाटो खुलेको बताउनुभयो ।

लुम्बिनी केवलकार प्रालिका अध्यक्षसमेत रहनुभएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र भारतमा झण्डै पौने तीन अर्ब जनसंख्या रहेकाले दुबै देशका हिन्दु र बौद्ध धर्मावलम्बीलाई मनन् गरेर पर्यटन नीति बनाएमा पर्यटक र समृद्धि खोज्न धेरै तिर भौंतारिनै नपर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेल , लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, संघीय सांसद ठाकुर गैरे नेपाल उद्योग बाणिज्य संघ लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्माले आर्थिक विकासमा जोड दिएका थिए ।