काठमाडौँ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको प्राविधिक सहयोगमा आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) मा दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । यो पोखरामा सातौं र आठौं मिर्गौला प्रत्यारोपण गरिएको प्रत्यारोपण केन्द्रले जनाएको छ ।
मिर्गौला प्रत्यारोपण कार्यमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका तर्फबाट डा. पुकार चन्द्र श्रेष्ठ, डा दिपेश श्रेष्ठ, डा हरि प्रसाद बराल र ओटी नर्स अनिता घजु सहभागी हुनुभएको थियो भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट शल्य चिकित्सक डा. प्रकाश क्षेत्री, डा.अनुप चापागाईँ, एनेस्थेसियोलोजिष्ट डा रोहीनी सिग्देल, डा. माया लामा र नेफ्रोलोजिष्ट डा. जुजु राज श्रेष्ठ, डा. अमृत के.सी, साथै ओ.टी इन्चार्ज कविता पौडेल सहितको टोली संलग्न रहनुभएको प्रत्यारोपण केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) का नेफ्रोलोजिष्ट डा. जुजु राज श्रेष्ठका अनुसार तनहुँ व्याँसका २५ वर्षीया पुनम थापा मगरको आइतबार पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । उहाँलाई उहाँका ४९ वर्षीय बुवा राजु थापा मगरले मिर्गौला दान गर्नुभएको हो । त्यस्तै पर्वत मोदी ४ का २७ वर्षीय गम बहादुर मगरको पनि आइतवरै मिर्गौला प्रत्यारोपण गरिएको छ । उहाँलाई उहाँका ५२ वर्षीय बुवा हेमन्त पुनले मिर्गौला दान गर्नुभएको थियो । आइतबार प्रत्यारोपण गरिएका दुवै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
प्रत्यारोपण भएका दुवै जनाको निजी खर्चमा उक्त प्रत्यारोपण भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । सरकारको मिर्गौला प्रत्यारोपणलाई देशव्यापी बनाउने अभियान अन्तर्गत पोखरामा मिर्गौला प्रत्यारोपणले तीव्रता लिएको छ भने प्रादेशिक अस्पताल सुर्खेतमा प्रत्यारोपण सेवाको सुरुवात भइसकेको छ । क्रमशः सेती प्रादेशिक अस्पताल, धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौडा अस्पताल र कोसी प्रदेशको कोसी अस्पताल विराटनगर हुँदै देशको सातै प्रदेशमा प्रत्यारोपण कार्यको तयारी भई रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभयो राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा पोखरामा पहिलो पटक २०७९ असार ९ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि ८ वटा सफल प्रत्यारोपण भइसकेको छ ।
प्रतिक्रिया