प्रहरी महानिरीक्षक कुँवर सिंगापुर प्रस्थान

0
Shares

काठमाडौं।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा संचालन हुने ‘हेड अफ एनसिबी कन्फ्रेन्स’मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

प्रहरी महानिरीक्षक कुँवरलाई वरिष्ठ प्रहरी अधिकृतहरूले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो ।

सन् १९२३ मा स्थापना भएको इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा इन्टरपोलको १००औं सदस्य नेपालको तर्फबाट २०८० जेठ २ गते मंगलबार बिहान १०:१५ बजे नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराउन सफल भएकोमा इन्टरपोलको उक्त झण्डा प्रहरी महानिरीक्षक कुँवरबाट कन्फ्रेन्सको दौरानमा इन्टरपोलका प्रिजिडेन्ट अहमद नासेर अल रयसीलाई लाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

हेड अफ एनसिबी कन्फ्रेन्समा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९५ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू तथा इन्टरपोल महासचिवबीच एकैसाथ समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुने गर्छ । कन्फ्रेन्समा इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूले आ-आफ्ना देशका प्राथमिकताहरू, उत्कृष्ट अभ्यासहरू आदान प्रदान गर्नेछन् ।

इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने एनसीबी कन्फ्रेनस यस वर्ष सन् २०२३ जुन ७ देखि ९ (तद्अनुसार २०८० जेठ २४ देखि २६ गते) सम्म सिंगापुरमा सम्पन्न हुनेछ । कन्फ्रेन्समा एनसीबी काठमाडौँका शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर ज.ब.रा. समेत सहभागी हुनु हुनेछ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।