प्रतिपक्षीको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिँदै

0
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले सदन अवरोध हटाउन छलफल शुरू गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका हुन् ।

घिमिरेले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्नसमेत आग्रह गरेका छन् ।

हिजो (आइतबार) सदनको अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्री प्रचण्डसँग टेलिफोन संवाद गरेर सो आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

सभामुखले हिजो साँझ पनि सदनको अवरोध हटाउन सरकारका तर्फबाट पहल गर्न आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतित भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ,’ प्रधानमन्त्रीलाई सभामुखले भनेका थिए, ‘समयमा नै संवादबाट निकास खोजौं, अब सदन अवरोध भइरहन सक्दैन ।’

सभामुखसँगको संवादमा प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको जनाउँदै आजको संसद् बैठकमा आफूले प्रष्टिकरण दिने जनाएका छन् । ‘म एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,’ प्रधानमन्त्रीले सभामुखलाई विश्वस्त तुल्याउँदै भनेका छन् ।

सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीमार्फत विपक्षी दलहरुलाई बजेट पारित गर्ने समयसीमा बुझिदिन आग्रह गरेका छन् ।

भारत भ्रमण जानुअघि नागरिकता विधेयक प्रमाणित गरेको तथा सीमा विवाद मिलाउनका लागि बगलादेश जाने सहज बाटो दिए भारतसँग कालापानी साटन मन्जुर रहेको जनाएपछि एमालेलगायत प्रतिपक्ष दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै हिजोबाट सदन अवरुद्ध गरेका थिए ।