उत्पादन बढाउन सिँचाईमा लगानी बढाउन जोड दिनुपर्छ : मुख्यमन्त्री जमरकट्टेल

0
Shares

सिन्धुली। 

 बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सरकारले रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने खालका कार्यक्रम तथा योजनाहरुलाई प्राथमिकता दिने बताउनुभएको छ । आज मरिण गाउँपालिका वडा नं. २ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गर्दै मुख्यमन्त्री जमरकट्टेलले उत्पादन बढाउनका लागि सिँचाईका आयोजनाहरुमा बजेट विनियोजन गर्न प्रदेश सरकारको मुख्य जोड रहने बताउनुभएको हो ।

मुख्यमन्त्री जमरकट्टेलले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाई र सरसफाईलाई प्राथमिकतामा राखेर बजेट र योजनाहरु बनाउन स्थानीय सरकारहरुलाई आग्रह गर्नुभयो  । ‘स्थानीय सरकारले अब शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाई र सरसफाईमा पहिलो जोड दिएर काम गर्नुपर्‍यो । त्यस पछि मात्रै भौतिक पूर्वाधारको कामहरु र वातावरण संरक्षणको क्षेत्रमा काम गर्नुपर्‍यो । हामी परम्परागत शैलीमा काम गरिरहेका छौँ । बजेट कम छ । जसले गर्दा ठोस रुपमा काम गर्न सकिरहेका छैनौँ । अहिलेका स्थानीय सरकारले नयाँ शैलीमा काम गर्नुपर्छ’ मुख्यमन्त्री जमरकट्टेलले भन्नुभयो ।

खानेपानी र सिँचाईको राम्रो सुविधा हुने बित्तिकै रोजगारी सिर्जना र उत्पादन बढ्ने मुख्यमन्त्री जमरकट्टेलले बताउनुभयो । मुख्यमन्त्री जमरकट्टेलले अहिले नै गाउँका सबै बाटोहरु पिच गर्ने सोचे राखेर काम गरे असफल भइने भन्दै वडाको एउटा मुख्य बाटोलाई व्यवस्थित र बाह्रै महिना संचालन हुने गरी बनाए त्यो नै पर्याप्त हुने बताउनुभयो ।

त्यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले मानव विकास सुचाङ्कमा सिन्धुली जिल्ला बागमती प्रदेशकै पुच्छार ६६ औँ नम्बरमा रहेकाले अब यसमा सुधार गर्ने योजना र कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो । उहाँले हरिहरपुरगढी र मरिण गाउँपालिकामा सिँचाईको राम्रो व्यवस्था गर्न सके प्रशस्त अन्न उत्पादन हुने भएकाले यस्ता योजनामा प्रदेश सरकारले र स्थानीय सरकारले जोड दिनुपर्ने बताउनुभयो ।