महाकालेश्वर दर्शनले ‘लखेटिएका’ प्रचण्ड

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा मध्यप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गरे । उनले त्यहाँ १ सय ८ किलो रुद्राक्ष र ५० हजार भारतीय रुपैयाँ भेटी समेत चढाएको खवरले नेपालमा पक्ष विपक्षमा ठूलै बहस चलेको छ । यही विषयलाई लिएर प्रधानमन्त्री दाहाललाई स्वदेश फर्कनासाथ अन्तराष्ट्रिय विमानस्थलमा पत्रकाहरुले समेत प्रश्न उठाए ।

नेपालमा कम्युनिष्ट भन्नेहरुको मनमा अनेकन कुराहरु खेल्नु स्वभाविकै रह्यो । प्रधानमन्त्री प्रचण्डमाथि उठेका अनेकन प्रश्न र खिसीट्युरिले सामाजिक सञ्जालमा ओइरो लाग्यो । कतिपयले उनलाई पत्नी सीता दाहालको स्वास्थ्य लाभका लागि पुजा गरेको भनेका छन भने कतिपयले प्रचण्ड जहाँ गयो त्याहाँको अवस्था र परिवेश अनुसार जे पनि गर्न पछि नपर्ने बताएका छन् ।

धर्म अफिम हो भन्ने कम्युनिष्ट नेताहरुलाई नेपालमा सच्चा कम्युनिष्टको एकल दावेदारी गरिरहेका प्रचण्डले हिन्दु धर्मका नाममा पुजापाठ र भेटी दान गरेको घटनाले ठूलै झापड लगाएको छ । हुन त उनी यस्ता चर्चामा पटक पटक आइरहेकै व्यक्ति पनि हुन । धर्मकै सन्दर्भका उनले केही वर्ष अघि भैसी पुजा गरेर चर्चामा आएका थिए । त्यसवेला पनि उनिमाथि अनेकन टिप्पणीकर्ताकाे भीड लागेकाे थियाे ।

बाहिरीरुपमा धर्मलाई अफिम मान्ने प्रचण्ड नै लुकी लुकी मन्दीर जाने पुजापाठ पर्ने, भेटी दान गर्ने संसारका कुनै र्धम नै छैन भन्दै मठ मन्त्रीमा बम फाल्ने, देवी देवतालाई कुल्चने,थुक्ने सम्मका कार्यमा संलग्न नपरेका नास्कीकहरु पछिल्लो समयमा धर्मप्रति सबैभन्दा बढी हिन्दु धर्मप्रति आस्तीक हुँदै गएको आरोप लाग्ने गरेको छ ।

जात र धर्म कसैको पनि हुँदैन भन्ने नेपालका कम्युनिष्टहरुको प्रबृति नै ढाेँगी हुने कम्युनिष्ट पार्टीलाई नजिकबाट नियालेकाहरुको भनाइ छ । अहिले भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्ड र मन्त्री शक्ति बस्नेतले गरेको महाकालेश्वर मन्दिर दर्शनको चर्चामा पनि यस्तै विषयले बढी चर्चा पाएका छन् ।

यी सबै सूचना, जानकारी र प्रश्नहरुले घेरिएको प्रधानमन्त्री प्रचण्डलाई यतिवेला प्रष्टिकरण दिन भ्याइनभ्याइ छ । महाँकालेश्वर मन्दिरमा गेरुबस्त्र लगाएर पूजा गरेको घटनाको बचाउमा प्रतिउत्तर फर्काउन दाहाललाई निकै गह्रौ भएको छ ।

शनिबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले ‘त्यहाँ आफूले गेरुबस्त्र नलगाउँदा एक अर्ब भारतीयको नजरमा नेपाल र नेपालको प्रधानमन्त्रीप्रति अविश्वास पैदा हुने भएपछि लगाउन बाध्य भएँ ।’

आफ्नो सुरक्षाकर्मीले सकेसम्म गेरुबस्त्र नलगाउन कर गरेको तर मन्दिरमा मुख्य अतिथिले गेरुबस्त्र लगाउनैपर्ने नियमका कारण आफूले पनि लगाएको प्रधानमन्त्री प्रचण्डले स्पष्टिकरण दिएका छन् ।

‘प्रोटोकल मिचेर भए पनि लाउन नदिनुस् भन्दाखेरि के हुने भयो भन्दा भारतका करोडौं जनताको मनमा चिसो पस्ने भयो नेपालप्रति र नेपालका प्रधानमन्त्रीप्रति । त्यसले देशलाई फाइदा हुन्थ्यो त ?’ उनले प्रश्न गरे, ‘म लाउन्न भन्दा के हुन्थ्यो त, एक अर्ब मान्छेको मनमा चिसो पस्थ्यो । नेपालीहरु के हो, नेपाल सरकार के हो भन्थे ।

मैले सहज ढंगले लगाउँदा सबै खुशी ।’ उनले आफू सो मन्दिरमा गएकोमा पक्ष विपक्षमा टिप्पणीहरु सुनेको भन्दै आफू मनैले धर्मनिरपेक्षवादी भएको दाबी समेत पेश गर्न बाध्य भएका छन् ।

उनले आफू कम्युनिस्टमात्र नभएर प्रधानमन्त्री भएकोले त्यहाँको नियमानुसार गेरु बस्त्र सहित धार्मीक प्रवचन र पुजापाठमा सहभागि भएको स्पष्टिकरण मिडिया मार्फत दिइसकेका छन् । महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री र उनको टोलीमा सहभागी मन्त्रीहरुले गेरुबस्त्र लगाएर पूजा गरेका थिए ।