भारत भ्रमणको क्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे संसद्‌मा एमालेको जवाफ माग

0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले हालै भारत भ्रमणवाट फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग्ने भएको छ ।

बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रूट उपलब्ध गराए नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने भन्दै प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर एमालेले जवाफ माग्न लागेको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले हिजो (शनिबार) बसेको संसदीय दलको बैठकको निर्णयानुसार सो जवाफ माग्न लागेको जानकारी दिए ।

‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहितविपरीत बंगलादेशको सिमासम्म पहुँच पुर्याउनका लागि नेपालले कालापानीको भू–भाग छाडन सकिने भन्दै प्रधानमन्त्रीले अभिब्यक्ति दिएको सार्वजनिक भएको छ, यो विषयमा आइतबारको संसद् बैठकमा हामी प्रधानमन्त्रीसँग जवाफ माग्छौं,’ सचेतक गिरीले भने । उनका अनुसार प्रधानमन्त्री दाहालको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै सो जवाफ मागिन लागिएको हो ।

प्रधानमन्त्री दाहालले भारतको आफनो चार दिने औपचारिक भ्रमणको क्रममा बंगलादेशसँग सीमा पहुँच पुर्याउनका लागि कालापानीको भू–भाग साटफेर गर्न सकिने विकल्पका बारेमा पनि भारतीय पक्षसँग छलफल भएको जानकारी दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर एमालेले आपत्ति जनाएको हो ।

एमालेले इपिजी प्रतिवेदनका बारेमा प्रधानमन्त्रीले छलफल नगरेको विषयलाई पनि गम्भिरतापूर्वक लिएको छ । ‘सीमा समस्याको विषयलाई उहाँले उठाउन सक्नुभएन, ईपीजी प्रतिवेदन बुझ्ने सवालमा जुन ढंगले विषय उठाउन सक्नु पर्दथ्यो, यी विषयहरू पनि उहाँले उठाउनु भएन, यो भ्रमण राष्ट्रहितको पक्षमा हुन सकेन’ एमाले संसदीय दलको निष्कर्ष सुनाउँदै गिरीले भने । उनका अनुसार ‘दिने काम भएको तर लिने काम हुन नसकेको भ्रमण’ को रूपमा एमालेले लिएको छ ।

आजवाट सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को बजेटमाथि छलफल शुरू हुनुअघि एमालेले प्रधानमन्त्रीसँग भूमी साटफेरको विषयमा जवाफ माग्नेछ ।