विद्युतीय सवारीसाधन चार्जिङ स्टेशनको सञ्चालन एवं व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न

0
Shares

काठमाडौं  । 

विद्युतीय सवारीसाधन प्रबद्र्धनमा विशेष जोड दिइरहेको नेपाल विद्युत प्राधिकरणले देशभरका विभिन्न स्थानमा रहेका आफ्ना डिभिजनल कार्यालयका २६ जना ईन्जिनियर तथा प्राविधिकहरुलाई विद्युतीय सवारीसाधन चार्जिङ स्टेशनको सञ्चालन एवं व्यवस्थापनसम्बन्धी तालिम दिएको छ ।

सार्वजनिक यातायातमा विद्युतीय सवारीलाई प्रबद्र्धन गर्दै आएको प्राधिकरणले ५१ स्थानमा चार्जिङ स्टेशन जडान गरिसकेको छ । तीमध्ये ३८ स्थानको चार्जिङ स्टेशन सञ्चालनमा आइसकेको छ । त्यसैगरी विभिन्न आठ स्थानमा जडान गरिएको चार्जिङ स्टेशन आगामी सातादेखि सञ्चालनमा आउने र बाँकी ५ स्थानको भने केही महिनापछि संचालनमा आउने बताइएको छ ।

 

नेपाल विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटीमा ३ दिनसम्म चलेको उक्त तालिमले अबदेखि विभिन्न स्थानमा रहेका चार्जिङ स्टेशनमा देखापर्ने सानातिना समस्याहरुका समाधानका लागि केन्द्रको भर पर्नु नपर्ने भएको बताइएको छ । अहिलेसम्म चार्जिङ स्टेशनहरुको सञ्चालन र व्यवस्थापन केन्द्रले नै गर्दै आएकोमा यो तालिमले डिभिजनल कार्यालयमार्फत सञ्चालन र व्यवस्थापन गर्न सहज हुने विश्वास लिइएको छ ।

बिहीबार काठमाडौंमा आयोजित तालिम समापन समारोहमा प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानले हाल थप ११ वटा चार्जिङ स्टेशन जडानको कार्य भइरहेकोे जानकारी दिंदै भन्नुभयो –“हामीले एसियाली विकास बैंकको सहयोगमा थप ११ वटा चार्जिङ स्टेशन निर्माण गर्दैछौं ।

 

यसपछि देशभरमा चार्जिङ स्टेशनको संख्या ६१ पुग्नेछ । हामी निजी क्षेत्रसँग पनि सहकार्य गरेर चार्जिङ स्टेशनलाई बढाउँदै लाने सोचमा अघि बढिरहेका र्छौं ।” उहाँले चार्जिङ स्टेशनमा जडान भएका सफ्टवेयर आगामी १० वर्षसम्म धान्ने खालको रहेको पनि बताउनुभयो । कार्यक्रममा सोसाइटी अफ ईलेक्ट्रिकल ईन्जिनियर्स नेपाल (सीन) का अध्यक्ष ई. दिल्लीरत्न शाक्यले चार्जिङ स्टेशनहरुका साथै विद्युतीय सवारीसाधन मर्मतसम्भारका लागि दक्ष जनशक्तिको अभाव रहेको बताउनुभयो ।

उहाँले दक्ष जनशक्ति उत्पादनका लागि सीनले आगामी दिनमा थापाथली क्याम्पस र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभिटी)सँग मिलेर काम गर्ने बताउनुभयो । प्राधिकरणका इभी पूर्वाधार तथा निर्माण परियोजनाका प्रमुख ई. सागरमणी ज्ञवालीले चार्जिङ स्टेशनमा कम भोल्टेज को समस्या बढी देखिएको र सर्भर केन्द्रमै भएकोले सर्भर डाउन हुँदा चार्जिङ स्टेशनमा पनि समस्या हुने गरेको जिकिर गर्दै प्राधिकरण यस्ता समस्याहरु समाधानमा गम्भिर रहेको बताउनुभयो । कार्यक्रममा तालिमका सहभागी र प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।