सूचना र सञ्चारमा नागरिकको सहज पहुँचका लागि गाउँमा स्मार्ट चौतारा

0
Shares

रामेछाप ।

रामेछापको खाँडादेवी गाउँपालिकाले पालिका भित्रका विभिन्न स्थानमा स्मार्ट चौतारा निमार्ण गर्ने भएको छ । सूचना, सञ्चार तथा प्रविधिमा आफ्ना नागरिकको सहज पहुँचका लागि गाउँपालिकाले पालिका भित्रका विभिन्न २१ स्थानमा स्मार्ट चौतारा निमार्णको गर्ने भएको हो ।

हाल खाँडादेवी गाउँपालिका ३ भिरपानीमा स्मार्ट चौतारा निमार्ण भई सकेर प्रयोगमा आएको छ । यो चौतारा निमार्ण पश्चात् नागरिकको सकारात्मक प्रतिक्रिया आएको खाँडदेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ बताउनु हुन्छ ।

“खाँडादेवी गाउँपालिकाले नयाँ कामलाई महत्त्व दिई रहेको छ । आजको युगमा प्रविधिको प्रयोग आवश्यक भएकाले स्मार्ट चौताराको अवधारण ल्याइका हौँ” उहाँले बताउनु भयो । यो सूचना, प्रविधि र सञ्चारको युग रहेकाले यसले नागरिकको जीवनमा सहज हुने उहाँ बताउनु हुन्छ ।

स्मार्ट चौतारामा स्वच्छ खानेपानी, टेलिफोन र इन्टरनेट, मोवाइल चार्ज गर्नेे समेत सुविधा रहेको छ । स्मार्ट चौतारामा १ जना नागरिकले एक दिनमा १ घण्टा ३० मिनेट इन्टरनेटको प्रयोग गर्न पाउने छ भने अनलिमिटेड टेलिफोनको सुविधा रहेको छ ।