काभ्रेका १३ पालिकाका जनप्रतिनिधिका एक वर्ष- स्वस्थ शहरदेखि सुरुङमार्ग र केबुलकार सम्मको अध्ययन 



२०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूले एक वर्षको अवधि पूरा गरेका छन् । निर्वाचनको मत परिणाम प्राप्त भएसँगै शपथ ग्रहण पछि कार्यभार सम्हालेका जनप्रतिनिधिले पहिलो वर्ष अघिल्लो आर्थिक वर्षका योजनाहरू सम्पन्न गर्न ध्यान केन्द्रित गरे भने चालुवर्षका लागि आफैं नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरे । आफैंले प्रस्तुत गरेको कार्यक्रमले नागरिकहरू सन्तुष्ट भए ? अर्थात जनप्रतिनिधि आफै सन्तुष्ट छन् ? जनप्रतिनिधिकै अनुभुतिमा एक वर्ष जिल्लामा के के भए ? आधारभुत आवश्यकतासँग सुरुङ मार्गको अध्ययन देखि केबुलकारसम्मको अध्ययन सकाएका छन् । स्वास्थ्य परीक्षण, उपचार तथा पूर्वाधार र मानविय संवेदनालाई प्राथमिकता राखेको बताएका जनप्रतिनिधिहरूको अनुभव जस्ताको तस्तै :
धुलिखेल नगरपालिका दक्षिण एशियामै पहिलो स्वस्थ शहर घोषणाको तयारीमा छ । यसकालागि नगरपालिकाले आवश्यक तयारी पुरा गरेको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । स्वस्थ शहर निर्माणका लागि घर धुरी सर्भेक्षण सम्पन्न गरी कुन घरका ब्यक्तिलाई कस्तो प्रकारको रोग लागेको छ ? कस्तो प्रकारको रोगको निदान र उपचारका लागि नगरपालिकाले कस्तो योजना बनाउनु पर्छ भन्ने तय भएको छ । धुलिखेल अस्पताल र धुलिखेल नगरपालिकाले शुरू गरेको अभियानमा नेपाल सरकारका प्रदेश र संघ सरकारका अलावा विश्व स्वास्थ्य संगठनले समेत चासो राखेर त्यसको अनुमति प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ । धुलिखेल नगरपालिकाको अर्काे महत्वपूर्ण कार्यक्रम एक घर एक धारा हो ।
९० प्रतिशत घरमा धारा पुगिसकेको अवस्था छ । छिट्टै पूर्ण रूपमा खानेपानी प्राप्त गर्ने नगरपालिकाका रूपमा नगरपालिका चिनिने छ । गरिवी मुक्त नगर, स्वस्थ शहर, सरसफाई युक्त शहर, उज्यालो शहर, पूर्ण खोप, बालमैत्री शहर, शुन्य कार्वन उत्र्सजन गर्ने शहरका रूपमा चिनिदै छ । निशुल्क शिक्षा, स्वास्थ्य र रोजगारका कार्यक्रम नगरपालिकाको प्राथमिकतामा छ । नियमित कामका अलावा नगरपालिकाले विश्वमै नमुना योग्य कार्य प्रारम्भ गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले बताउनुभयो ।
खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्गले एक वर्षको अवधिमा संस्थागत, भौतिक र प्रशासनिक कार्य प्रारम्भ गरिएको बताउनु भयो । खानीखोला गाउँपालिकाले एक वर्षको अवधिमा भौतिक पूर्वाधारका लागि प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्ति गरेको छ । अहिलेसम्म गाउँपालिकाको प्रशासनिक भवन साविकको गाउँ विकास समितिको साँघुरो भवनमा छ । उक्त भवनलाई आधुनिक तरिकाबाट निर्माण गर्न जग्गा प्राप्ति गरेको छ । स्थानीय पाठ्यक्रम तयार गरी कार्यान्वयनको चरणमा लगेको छ । शिक्षाको गुणस्तरका लागि आवश्यक योजना निर्माण गरी कार्यान्वयन गरी शिक्षक सेवा आयोगबाट प्राप्त शिक्षकहरूको ब्यवस्थापन गरेको छ ।
बाल विवाह न्यूनिकरण गर्न हरेक विद्यालय र अभिभावकहरूलाई जनचेतनामुलक सडक नाटक संचालन गरेको छ । सडक निर्माणलाई प्राथमिकतामा राखी १२ महिना नै सडक संचालन हुने गरी अवरुद्ध हुन सक्ने स्थानको पहिचान गरी मर्मत, सम्भार र पुर्ननिर्माणको कार्य गरेको छ । कर्मचारीहरूको दरवन्दी अनुसारको ब्यवस्थापनका लागि संघ र प्रदेश सरकारलाई अनुरोध गरेको छ । २०७३ सालमा ठेक्का सम्झौता भएर पनि कार्यान्वयन हुन नसकेको काभ्रे र मकवानपुर जोड्ने बागमति पुल निर्माणको प्रकृयालाई अघि बढाएको छ । अस्पताल निर्माणको अधुरो र अलपत्र कार्यलाई पूरा गर्ने गरी प्रकृया शुरू गरेको छ । जसको उत्पादन उसैको अनुदान कार्यक्रमलाई प्राथमिकता दिएको छ । दीर्घरोगीहरूको उपचारका लागि विशेष व्यवस्थापन गरेको छ । शुसासन, जवाफदेहिता र पारदर्शितासहितको प्रशासनिक कार्य प्रारम्भ गरेको छ ।
मण्डनदेउपुर नगरपालिकामा एक वर्षको अवधिमा नयाँ कार्य प्रारम्भ भएका छन् । विगत ५ वर्षको अनुभव र योजनालाई नयाँ निर्वाचित जनप्रतिनिधिहरूले सम्पतिका रूपमा लिँदै थप योजना सहितको कार्य प्रारम्भ गरिएको नगर प्रमुख टोकबहादुर वाईवाले जानकारी दिनुभयो । स्थानीय पाठ्यक्रम तयार गरी चालु शैक्षिक सत्रबाट प्रारम्भ गरिएको छ भने निर्माणाधीन प्रशासकीय भवन, अस्पताललाई पुर्णता दिई सेवा प्रदान गर्न थालिएको छ ।
यो वर्ष नगरपालिकाले उद्योग ग्रामको सुरुवात गरेको छ । संघ सरकारको समन्वयमा नगरपालिकामा उद्योग ग्राम स्थापना हुनेछ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डा. लोकबहादुर लोप्चनले यो अवधिमा ऐन, नियम, संग्रहका साथै कार्यविधिहरू तयार गरी आवश्यक कार्य प्रारम्भ गरिएको बताउनुभयो । अर्गानिक खेतीलाई प्राथमिकतामा राखेर कृषिसम्बन्धी कार्यविधि तयार गरिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधारलाई अलग अलग रूपमा योजनागत हिसावले कार्य अघि बढाईएको नगर प्रमुख वाईवाले बताउनुभयो ।
पनौती नगरपालिकाले एक वर्षको अवधिमा नगर अस्पतालको गुरुयोजना तयार गरी डीपीआर निर्माण गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले ५ वर्षभित्र के के गर्न सकिन्छ भन्ने सोचका साथ केही दीर्घकालीन योजनाहरू निर्माण गरिरहेको बताउनुभयो । नगर अस्पताल निर्माण, बसपार्क व्यवस्थापन तथा अन्य पूर्वाधार निर्माणका कार्य शुरू गरिएको छ ।
साना तथा मझौला सवारी साधनको व्यवस्थापनका लागि बसपार्क निर्माण गरिएको छ । एकीकृत खानेपानी, फोहोरमैला व्यवस्थापन, कृषि तथा पर्यटनका केही कार्यहरू शुरू भएका छन् । पनौतीको ऐतिहासिक तथा सांस्कृतिक शहर निर्माणका लागि पहल भएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम, पूर्वाधार अन्र्तगतका सडक तथा अन्य विषयलाई प्राथमिकीकरणका साथ गति प्रदान गरिएको छ । नयाँ योजनाका साथ, केही पुराना र अधुरा योजनाहरूको पनि निरन्तरता दिएको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताउनुभयो ।
बनेपा नगरपालिकाले एकीकृत खानेपानीलाई विविध समस्याका बाबजुद अस्थायी रूपमा व्यवस्थापन गरेको छ । यो सबै नगरबासीहरूका लागि अझै उपलब्ध हुन सकेको छैन । खानेपानी र सरसफाई नगरका प्राथमिकताका विषय भएकाले प्रत्येक दिन फोहोर संकलन गर्ने, कुचो लगाउने कार्यलाई प्राथमिकतामा राखिएको छ । पुलबजारदेखि बनेपाका विभिन्न स्थानमा पुण्यमाता खोलाले डुबान पार्ने परिस्थितिलाई कम गराइएको छ । सडक फराकिलो हुने क्रम भएकाले राजमार्ग सिँगार्ने तथा अन्य विषयमा नियमितजस्तो काम भइरहेको छ । नगरपालिकाले लिएको लक्ष्य खानेपानी, सरसफाईसँगै शिक्षा, स्वास्थ्यमा विशेष जोड दिइएको नगर प्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो । हरेक योजना र कार्यक्रम नमुना नै हुन्छन् ।
आवश्यकताका आधारमा गरिएका सबै योजनाहरू नमुना हुन् । सबै आवश्यकताका आधारमा भएकाले अलग्गै नमुना कार्यक्रम भएको छैन । अधिकांश बजेट पूर्वाधारका लागि विनियोजन भएका छन् । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, खानेपानी, पशु विकासलगायतका कार्यक्रमहरूमा बजेट विनियोजन भएका छन् । प्राथमिकीकरण पनि त्यही योजना र शीर्षकहरूमा भएको छ । बनेपाबासीहरूका दैनिक आवश्यकता पूरा गर्ने खालका कार्यक्रमलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमागार्इंले बताउनुभयो ।
रोसी गाउँपालिकाले एक वर्षको अवधिमा १४ सय ४० घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गराएको छ । ५६ जना दीर्घरोगीलाई मासिक ५ हजारका दरले संघ सरकारबाट पछि प्राप्त हुने रकम उपलब्ध गराएको छ । २ सय ५० जनाको निशुल्क मोतियाबिन्दुको उपचार गराएको छ । १२ वटै वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । बैंक र सुरक्षा निकायको समन्वयमा प्रत्येक वडाबाट बैकिङ्ग प्रणालीमार्फत उक्त सेवा प्रारम्भ गरिएको अध्यक्ष दिनेश लामाले बताउनुभयो । तीन स्थानबाट एम्बुलेन्स सेवा शुभारम्भ गर्दै सबै स्वास्थ्य संस्थामा इन्टरनेट जडान गरिएको छ । अनलाईन सेवा प्रणालीको विकास गरिएको छ । प्रशासनिक भवन र १० श्ययाको अस्पताल निर्माणलाई अन्तिम चरणमा पु¥याईएको छ । एक घर एक धारा अभियानलाई पूर्णता दिँदैछ भने सबै वडालाई कालोपत्रेले जोड्ने गरी कालोपत्रे अभियान शुरू गरिएको छ ।
सामुदायिक विद्यालयमा गुणस्तर बढाउन शिक्षा नीति निर्माण गरिएको छ । सबै घरमा विद्युत् पु¥याउने अभियान शुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत राम लामाले बताउनुभयो । स्थानीय तहको सरकार घर दैलोको सरकार भएकाले हरेक नागरिकले प्रत्येक समस्यामा पालिकाका अध्यक्ष स्वयं उपस्थित भएर सुनिदिए सहज हुने अपेक्षा गर्ने गरेको अध्यक्ष दिनेश लामाको अनुभूति छ । ‘अपेक्षा धेरै, जनशक्ति र श्रोत थोरै भएका कारण नागरिकहरूको अपेक्षाअनुसार योजना वितरण सम्भव हुँदो रहेनछ’– अध्यक्ष दिनेश लामाले भन्नुभयो–‘उत्पादकत्व क्षेत्रमा भन्दा अनुपादकत्व क्षेत्रमा लगानी हुने गरी आयोजना वितरण हुने र माग हुने क्रम बढिरहेको छ ।’ स्थानीयहरूले प्रदेश र संघ सरकारसँग अपेक्षा गरे पनि सम्बन्धका हिसाबले नजिक नभएकाले स्थानीय सरकासँग धेरै अपेक्षा गर्ने गरेका छन् ।
चौंरीदेउराली गाउँपालिकाले पुराना योजनाहरूलाई निरन्तरता दिदै नयाँ केही योजनाहरू प्रारम्भ गरेको छ । गाउँपालिका अध्यक्ष रेणुका चौलागार्इंले वडा कार्यालय, प्रशासकीय भवन निर्माणको कार्य प्रारम्भ भएको बताउनुभयो । वडा कार्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान भएको छ । प्रशासकीय भवनको डीपीआर तयार गरिएको छ । जेष्ठ नागरिकहरूलाई घर घर गएर उपचार गर्न शुरू गरिएको छ । निशुल्क उपचार र निशुल्क औषधीको व्यवस्था गरिएको छ । अस्पताल आएर उपचार गर्ने जेष्ठ नागरिकहरूका लागि पनि निशुल्क व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले बताउनु भयो । शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य पूर्वाधार निर्माणका कार्यलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । अधुरा कार्यलाई पूर्णता दिन निर्वाचित जनप्रतिनिधि सक्रिय रहेको अध्यक्ष चौलागाईंले बताउनुभयो ।
नमोबुद्ध नगरपालिकाले केही नयाँ योजना शुरू गरेको छ । नगर प्रमुख कुन्साङ्ग लामाले ऐतिहाहासिक धार्मिक स्थल नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने गरी कार्य प्रारम्भ गरिएको बताउनु भयो । सडक बत्ती, कोल्ड स्टोर निर्माण, खानेपानीका योजनाको विस्तार गरिएको छ । यस अघि जनप्रतिनिधिहरूले शुरू गरेका धेरै योजनाहरूले निरन्तरता प्राप्त गरेका छन् । नागरिकहरूका लागि सहज सेवा प्रदान गर्ने गरी मेथिन्कोट अस्पतालबाट प्रारम्भ सेवामा सहजीकरण गरिएको छ । वडाहरूमार्फत प्रदान गर्ने सेवालाई अझै प्रभावकारी बनाउने र पूर्वाधार निर्माणका कार्यलाई तीव्रता दिइएको छ । नागरिकहरूका गुनासा सुनुवाई र सम्बोधनका लागि हरेक दिन जनप्रतिनिधिहरू सक्रिय छौं । एकता, समन्वय र सहकार्यबाट सबैको भूमिका र अस्तित्व स्विकार गर्दै हरेक व्यक्ति र क्षेत्रको अनुभव लिएर अघि बढेका छौं । बाँकी चार वर्ष जनतालाई निराश नबनाउने गरी कार्य अघि बढाएको उहाँले बताउनुभयो ।
बेथान्चोक गाउँपालिकाले केही नयाँ योजना प्रारम्भ गरेको छ । जिल्लाको सबैभन्दा अग्लो स्थान बेथान्चोक नारायणस्थानलाई पर्यटकीय रूपमा अघि बढाउन ढुंखर्कबाट केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको अध्यक्ष भगवान अधिकारीले बताउनुभयो । अर्काे महत्वपूर्ण कार्य गाउँपालिकाले जिल्लामै पहिलो पटक सुरुङ मार्ग निर्माणका लागि काठमाडौं विश्वविद्यालयको सहकार्यमा प्राज्ञिक थलोको रूपमा चिनाउने गरी सम्झौता गरिएको छ ।
विश्वविद्यालयका तर्फबाट कार्य प्रारम्भ भएको छ भने गाउँपालिकाले गर्ने जिम्मेवारी पुरा गरेको छ । हरेक वर्ष ५ किमी सडक कालोपत्रे गर्ने गरी निर्वाचनको समयमा ब्यक्त गरिएको प्रतिवद्धता पूरा भएको छ । जेठ २५ गते सम्पन्न हुने गरी पहिलो वर्षको लक्ष्य पूरा भएको अध्यक्ष अधिकारीले बताउनुभयो । त्यसका अलावा गाउँपालिकाले शिक्षक दरबन्दी नभएका तर अत्यावश्यक स्थानमा घुम्ती शिक्षकमार्फत् शिक्षक व्यवस्थापन गरेको छ । कार्यविधि निर्माण गरेर शुरू गरिएको उक्त कार्यक्रम प्रारम्भ भएको छ । ६० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई निशुल्क उपचारको व्यवस्था मिलाइएको छ । त्यसका लागि कार्यविधि तयार गरिएको छ ।
महाभारत गाउँपालिकाले यो वर्ष १ हजार ५ सय घरमा बिजुली बत्ती बालेको छ । पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको बत्ती महाभारत गाउँपालिकामा पुगेको छ । वडानम्बर ३, ४ र ५ का १ हजार ५ सय घरमा बिजुली बत्ती बलेको छ । गाउँपालिकाले ३ हजार घर धुरीलाई मिटर जडानका लागि अनुदान उपलब्ध गराएको थियो । वडानम्बर ६ र ७ मा पनि चालु वर्षभित्रै बिजुली बत्ती बलिसक्ने अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । आगामी वर्ष सबै घर धुरीमा बत्ती बालिसक्ने योजना छ । गाउँपालिकाको बहुवर्षीय योजनाअनुसार सडक कालोपत्रे महत्वपूर्ण हो । सबै वडाहरूमा सडक सञ्जाल पु¥याउने, नागरिकहरूलाई सुलभ र सहज स्वास्थ्य सेवा प्रदान गर्ने योजना कार्यान्वयन गरिरहेको छ ।
पाँचखाल नगरपालिकाले विशेषगरी कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको नगर प्रमुख महेश खरेलले बताउनुभएको छ । लवग्रिन नेपालको सहयोगमा तथा स्थानीय उपभोक्ताहरूको सक्रियतामा विषादी न्यूनीकरण अभियान शुरू भएको छ । पाँचखालमा उत्पादन शुरू भएको तरकारी नेपालमै कम विषादी प्रयोग भएको प्रमाणित भएको छ । कृषिलाई अनुदान, उत्पादन र व्यवस्थापनका लागि विगतका योजनाहरूलाई निरन्तरता दिएको छ । पलाञ्चोक भगवती मन्दिरको थप व्यवस्थापन तथा अन्य पूर्वाधारका कार्यहरू अघि बढेका छन् । खानेपानीको कार्य तीव्र गतिमा अघि बढेको छ । शिक्षा, स्वास्थ्य तथा कृषिका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन योजनागत रूपमा अघि बढेको नगर प्रमुख खरेलले बताउनुभयो ।
तेमाल गाउँपालिकाले जिल्लामै नमुना रूपमा नसर्ने रोगहरूका बारेमा ४ हजार ६ सय नागरिकहरूको निशुल्क स्वास्थ्य परीक्षण गराएको छ । सुगर, प्रेसर, मुटु, क्यान्सर, क्षयरोगलगायतका रोगहरूको पहिचान, परीक्षण र उपचारमा केन्द्रित गरिएको अध्यक्ष चन्द्रबहादुर तामाङले बताउनुभयो । उपाध्यक्ष डीएम लामाले गाउँपालिकाले स्वास्थ्य परीक्षणसँगै नागरिकहरूलाई सहज उपचार दिने गरी कार्य प्रारम्भ गरिएको बताउनुभयो । वडादेखि गाउँपालिका केन्द्रसम्म जोड्ने सडकलाई रणनीतिक योजनाअनुरूप सडक पूर्वाधारको कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष डीएम लामाले बताउनुभयो । सडक पूर्वाधार र नागरिकहरूको स्वास्थ्य परीक्षण यो वर्षका नमुना कार्यक्रम रहेको उहाँले बताउनुभयो । खानेपानी, शिक्षा, पूर्वाधारलगायतका कार्यक्रमलाई निरन्तरता दिएको अध्यक्ष चन्द्रबहादुर तामाङले बताउनुभयो ।
भुम्लु गाउँपालिकाले जिल्लाकै नमुना कार्य शुरू गरेको अध्यक्ष प्रेम भुजेलले बताउनुभयो । गौरवको आयोजनाअनुसार २७ किमी सडक निर्माण कार्य प्रारम्भ भएको छ । गाउँपालिका आफैंले हेभी इक्युमेन्ट खरिद गरेर भुम्लु गाउँपालिकाको भुम्लुटारदेखि सिम्थली जोड्ने सडक निर्माण कार्य जारी छ । गाउँपालिकामा भएका ४६ वटै विद्यालयमा योगालय निर्माण गरेर हरेक विद्यार्थीहरूलाई योगको माध्यमबाट स्वस्थ राख्ने कार्यक्रम प्रारम्भ गरिएको छ भने विद्यालयमा हर्बल बगैंचा शुरू गरिएको छ ।
दोलालघाटदेखि साँगासोतीसम्मको पर्यटन गुरुयोजना निर्माण र डीपीआर तयार गरिएको छ । ४८ वठा सामुदायिक वनको भेला, गोष्ठी, अन्र्तक्रिया र छलफलमार्फत नियमित वन समूहको बैठक बस्ने, वन योजना निर्माण गरी आय आर्जन गर्ने गरी बनेका योजना कार्यान्वयन गर्ने र लेखापरीक्षण नभएका वन समूहका चालु वर्ष भित्रै लेखापरीक्षण गर्ने गरी कार्य अघि बढाइएको अध्यक्ष प्रेम भुजेलले बताउनुभयो । फोहोरमैला व्यवस्थापनलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने गरी जैविक मल उत्पादनमा प्रोत्साहन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्