खप्तड चिनाउन आध्यात्मिक सम्मेलन



धनगढी ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ। खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिले खप्तड क्षेत्रमा यहीँ जेठ २३ देखि २५ सम्म आध्यात्मिक सम्मेलन आयोजना हुन लागेको जनाएको छ।

  आन्तरिक एवं बाह्य पर्यटकलाई बढवा दिन सम्मेलनको आयोजना गरिन लागेको बताइएको छ। जहाँ योगगुरु बाबा रामदेव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत आउने कार्यक्रम छ। प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा यस्तो सम्मेलन हुन लागेको हो। सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेवसँगै बालकृष्ण आचार्यको पनि सहभागिता रहने सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी गराउनुभयो।

 तीन दिनसम्म चल्ने सम्मेलनका लागि मुख्यमन्त्रीको संयोजकत्वमा ४०१ सदस्यीय मूल तयारी समिति समेत गठन भइसकेको छ। सो समितिअन्तर्गत १२  उपसमिति गठन गरिएका छन्। यसैगरी सम्मेलन आयोजनाका लागि प्रदेश सरकारअन्तर्गत रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ।

सो सम्मेलनको प्रधानमन्त्रीले उद्घाटन गर्ने तय भएको छ। सम्मेलनमा पूर्वप्रधानमन्त्रीहरु, मन्त्री, सङ्घीय संसद्का सांसद, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तिलगायत सहभागी हुने खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले बताउनुभयो।

साथै सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका प्रमुख, सञ्चारकर्मी, पर्यटन व्यवसायी लगायत सहभागि हुने गरी तयारी अघि बढाइएको छ। सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन बोर्ड तथा स्थानीय तहको आर्थिक सहयोगमा यस्तो सम्मेलनको आयोजना गर्न लागिएको हो। सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, डोटी र अछामको केन्द्रमा रहेको खप्तड समुद्री सतहबाट ३२ सय मिटरको उचाइमा छ। खप्तड क्षेत्र प्रकृति, पर्यापर्यटन, आध्यात्मिकलगायत दृष्टिले महत्त्वपूर्ण छ। अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनदेखि खप्तडको विकासका लागि सबै तह तप्का र क्षेत्रबाट सकारात्मक प्रयास हुनुपर्ने मुख्यमन्त्री शाहले बताउनुभयो।

खप्तड क्षेत्रमा खप्तडबाबाले पाँच दशकसम्म साधना गरेका थिए। सो  क्षेत्रमा खप्तडबाबाको कुटी, सशस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन्। खप्तड राष्ट्रिय निकुञ्जसमेत रहेको सो क्षेत्र झन्डै २२५ वर्ग किलोमिटरमा फैलिएको छ। खप्तडमा अहिलेसम्म सडक मार्ग भने पुग्न सकेको छैन। डोटीको झिग्रानासम्म यातायातको व्यवस्था भए पनि त्यहाँबाट एक दिनको पैदल यात्रापछि मात्र खप्तड पुगिन्छ।

प्रतिक्रिया दिनुहोस्