पूर्वराजा शाहलाई सांसद पन्तको चेतावनी- तेस्रोपटक राजा हुने प्रयत्न नगर्नुस्

0
Shares

काठमाडौँ।

नेकपा (एमाले)का सांसद रघुजी पन्तले तेस्रोपटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्।

मंगलवार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पन्तले यस्तो चेतावनी दिएका हुन्। उनले एउटा प्रक्रियाबाट राजतन्त्र नेपालबाट बिदा भइसकेको भन्दै राजतन्त्रको बिदाइ नेपाली जनताको चाहना भएको बताए।

उनले राजाले शान्तिपूर्ण रूपले गद्दी छोडेको र दलहरूले पनि कुनै बदला नलिएको अवस्था रहेको भन्दै शाहलाई देशले पूर्वराष्ट्राध्यक्षको रूपमा सम्मान र सुरक्षा दिएको उल्लेख गरे। राज्यले दिएको सम्मानको पूर्वराजाले कदर गर्नुपर्ने चेतावनी दिए।

उनले भने, ‘ज्ञानेन्द्र दुईचोटि राजा हुनुभयो‚ पुग्यो तेस्रोचोटि राजा हुने प्रयत्न नगर्नुस्। नेपाली जनताको चाहानानुसार राजतन्त्र बिदा गरिएको हो। धेरै ठाउँमा क्रान्ति भएको ठाउँमा राजतन्त्र समूल विनाश पारेका छन्। राजालाई पूर्वराष्ट्राध्यक्षको रूपमा देशले सम्मान र सुरक्षा दिएको छ। त्यसको राजाले कदर गर्नुपर्‍यो। राजनीति गर्न मन लाग्छ भने संविधानले रोकेको छैन, पार्टी खोल्नुस्।’

त्यस्तै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पूर्व राजा शाहको सक्रियताबाट तर्सिनु नपर्ने दाबी गरे। दलहरूको बीचमा विवाद भएकै कारण राजतन्त्र नफर्किने उनले स्पष्ट पारे। गणतन्त्रात्मक व्यवस्था फेल नभएको भन्दै उनले राजतन्त्र नफर्किने बताए।

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजाले नेपाली नागरिकका रूपमा हिँड्दा आफूहरूलाई कुनै चिन्ता नभएको बताए। उनले नेपालको कानुन, संविधानको दायराभित्र रहेर कोही घुम्दैमा लोकतन्त्र समाप्त नहुने टिप्पणी गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नसक्दा र दलहरूमा कमजोरी रहेसम्म केही तत्व सल्बराइरहने टिप्पणी गरे।

उनले वर्तमान प्रणालीप्रति कुनै किसिमको जोखिम नरहेको बताए।