बृहत यौनिकता शिक्षा सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

14
Shares

काठमाडौं ।

दिगो विकास लक्ष्यहरु २०३० हासिल गर्न बृहत् यौनिकता शिक्षालाई अगाडि बढाउँदै भन्ने मुल नाराका साथ नेपालका सरोकारवाला निकायका युवाहरु तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको उपस्थितिमा यही जेठ १० र ११ गते काठमाडाैंमा बृहत यौनिकता शिक्षा विषयक पहिलो राष्ट्रिय सम्मेलन हुँदैछ ।

उक्त सम्मेलनले सन् १९९४ मा सम्पन्न जनसंख्या तथा विकास विषयक अन्तर्राष्ट्रिय सम्मेलन, २०१५ को दिगो विकास लक्ष्य, युवा, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघिय प्रस्ताव २२५० अघि सारिने छ ।

साथै महिला, शान्त्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघिय प्रस्ताव १३२५, २०७२ मा जारी भएको नेपालको संविधान, राष्ट्रिय युवा नीति, थुथ भिजन २०२५, विद्यालय शिक्षा क्षेत्र योजना २०२२-२३–२०३१-३२ जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति तथा प्रतिबद्धताहरुको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने अपेक्षा गरिएको नेपाल परिवार नियोजन संघले जनाएकोछ ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ३ सय जना सरोकारवाला तथा युवाहरुकोे सहभागिता रहने अपेक्षा गरिएकोछ भने कार्यपत्रहरूको प्रस्तुतिपश्चात बृहत् यौनिकता शिक्षाको घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको नेपाल परिवार नियोजन संघका व्यवस्थापक डा.नरेश प्रताप केसीले जानकारी गराउँनुभयो ।

उक्त सम्मेलन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त आयोजना र संयुक्त राष्ट्रिय जनसंख्या कोष, नेपाल परिवार नियोजन संघ लगाायत बृहत यौनिकता शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन हुने नेपाल परिवार नियोजन संघका फोकल पर्सन जमुना सिटौलाले जानकारी गराउँनुभयो ।

उक्त सम्मेलनले युवाहरूको लागि उमेर–उपयुक्त, वैज्ञानिक र अधिकारमा आधारित बृहत् यौनिकता शिक्षाको पहुँच, लैंगिक समानता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, अल्पसंख्यक समुदायहरुको अधिकारको सुनिश्चितता, रुढिवादी प्रथा तथा धारणा, हिंसा, बालबिबाह, युवाहरुको विदेश पलायन, शान्ति, सुरक्षा, किशोरकिशोरी तथा युवा मैत्री सेवा तथा युवा लक्षित राष्ट्रिय नीति प्रभावकारी कार्यान्वयनका बिषयमा जोड दिने सिटौलाले बताउँनुभयो ।

यो सम्मेलनले यौनिक शिक्षाको महत्वपूर्ण मुद्दाहरूमा छलफल गर्ने अवसर प्रदान गर्नेछ । युवाहरुकै सहभागितामा यी मुद्दाहरूमा व्यापक छलफल गरि नेपालमा बृहत् यौनिकता शिक्षाको आगामी कार्यदिशा तय गर्ने उद्देश्य राखिएको छ । उक्त मुद्दाहरू दिगो विकासका लक्ष्य २०३० र जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन १९९४ का प्रतिबद्धताहरू प्राप्त गर्ने महत्त्वपूर्ण आधारहरु भएको सिटौलाले बताउँनुभयो ।

यो सम्मेलनले तीन तहको सरकार, नागरिक समाज र निजी क्षेत्रसँगको सहकार्यलाई सुदृढ पार्नेछ, थप लगानी, र एकीकृत कार्ययोजनाहरुको निर्माण गरी बृहत् यौनिकता शिक्षालाई संस्थागत गर्न समन्वयात्मक नीति र कार्यक्रमहरूको प्रवर्द्धन गर्नेछ ।
सम्मेलनपछि विशेषगरी बृहत यौनिकता शिक्षा तथा युवा मैत्री सेवाको अभावमा विभिन्न समस्याहरुसँग सामना गरिरहेका युवाहरुको आवाजलाई एकिकृत गर्दै उनीहरुको आह्वानलाई सरोकारवालाहरु सामु पुर्याउन युथ कल फर एक्सन जारी गरिने छ ।

किशोरकिशोरी तथा युवाहरुलाई बिभिन्न यौन तथा प्रजनन स्वास्थ्य समस्याहरु र अपराधबाट बच्न-बचाउन जीवन उपयोगि शिक्षाको रुपमा विस्तार र विद्यालयको पाठ्यक्रममा स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा विषयलाई अनिवार्य विषयको रूपमा पूर्न:कायम गरी सबै युवाहरुको पहुँचमा यौनिकता शिक्षाको सुनिश्चिता र शिक्षकहरुलाई यौनिकता शिक्षामा तालिम उपलब्ध गराउँनुपर्नेछ ।

यो बिषय समावेशी तथा समानतामूलक गुणस्तरीय शिक्षाको मागका लागि युवाहरुद्वारा सामूहिकरुपमा सरकारसँग आह्वान गरिनेछ । साथै युवालाई देशमै स्वरोजगार तथा उद्यमीको व्यवस्था गरी युवा जनशक्तिलाई विदेश पलायन हुनबाट निरुत्साहित गर्नका लागि पनि सरकारसँग आह्वान गरिनेछ ।

हाल नेपाल सरकारद्वारा यौनिकता शिक्षालाई विद्यालय तहका पाठ्यक्रममा एकीकृत गर्दै जाने नीति अनुरूप कक्षा १, ५, ६, ८,९ देखि १२ कक्षा सम्मका पाठ्यक्रममा कुनै न कुनै विषयवस्तुका रूपमा समावेश गरिएको छ । विद्यालय शिक्षा क्षेत्र योजना २०२२-२३–२०३१-३२ मा पनि बृहत् यौनिकता शिक्षासँग सम्बन्धित लक्ष्यहरू कार्यान्वयन गर्ने उद्देश्य राखिएको छ ।

अध्ययनहरूका अनुसार बृहत यौनिकता शिक्षाको अभावमा कम उमेरमै विवाह हुने, छिट्टै सन्तान जन्मने, जन्मान्तरको समय न्यून हुने, दीर्घकालीन यौन तथा प्रजनन स्थास्थ्यका समस्या हुने र सूर्ति तथा लागुपदार्थको प्रयोग बढ्ने, असुरक्षित यौनसम्पर्क, अनिच्छित गर्भधारण, असुरक्षित गर्भपतन, एचआईभी लगायत अन्य यौनजन्य सङ्क्रमण र यौन अपराधजस्ता समस्या हुने कुराको पुष्टि भैसकेको छ ।

यौनिकता शिक्षा लागु भएका देशहरुमा यी समस्याहरुको न्यूनिकरण भएको पाइन्छ । यौनिकता शिक्षालाई विद्यालय पाठ्यक्रममा लागु गर्न सकिएमा सन २०३० सम्ममा महिला शसक्तिकरण र समानता कायम गर्न, बाल तथा मातृमृत्युदर घटाउन, एचआइभी, मलेरिया र टिबी जस्ता रोगहरूको नियन्त्रण गर्न र वातावरण संरक्षण गर्ने जस्ता दिगो विकास लक्ष्यमा सकरात्मक प्रभाव पार्ने निश्चत देखिन्छ सिटौला भन्नुहुन्छ ।