थ्रीस्टारलाई सातदोबाटोले हरायो



काठमाडौं । थ्रीस्टारलाई हराउँदै सातदोबाटो युवा क्लब जारी शहिद स्मारक ए डिभिजन लिगअन्तर्गत अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ । शनिबार दशरथ रगशालामा भएको खेल सातदोबाटोले २–० ले जितेको हो । यो जितसँगै सातदोबाटोको १९ खेलबाट २९ अंक भएको छ । थ्रीस्टार भने पराजित भएर २६ अंक लिएर पाँचौं स्थानमा झरेको छ । पहिलो लेगमा थ्रीस्टारले सातदोबाटोलाई १–० ले हराएको थियो ।

सातदोबाटोका लागि जित दिलाउन दुबै गोल घानाका स्ट्राइकर विलियम ओपोकुले गरेका थिए । उनको जारी लिगमा गोलसंख्या ७ भएको छ । २४ औं मिनेटमा थ्रीस्टारको पेनाल्टी क्षेत्रमा पहिले दिपकराज सिंह ठकुरीले बललाई प्रहार गर्न सकेनन् । तर, त्यही भएका थ्रीस्टारका चार खेलाडी र गोलकीपरले पनि त्यो बललाई रोक्न नसक्दा ओपोकुले गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफ शुरु भए लगतै घानाका खेलाडी ओपोकुले सातदोबाटोलाई २–० को अग्रतामा राखेका थिए । ४७ औं मिनेटमा उनले डिबक्सको बाहिरबाट गरेको फ्रिकिकमा गोल गरेका थिए । उनले प्रहार गरेको बल पर्खाल बनेको थ्रीस्टारका खेलाडीको बीचबाट गएको थियो । जुन, बललाई थ्रीस्टारका गोलकीपरले बचाउन सकेनन् र गोल खान पुग्यो ।

इन्जुरी समयमा थ्रीस्टारका लागि सन्नी व्यन्जनकारले गोल गर्ने मौका आएको थियो । तर, उनले गोल गर्न सकेनन् । कर्नर प्रहार बललाई सातदोबाटोका गोलकीपरले राम्ररी क्लियर गर्न सकेनन् । सोही बललाई सन्नीले क्लोज रेन्जमा पनि गोल गर्न सकेका थिएनन् । उनको प्रहार क्रसबारमा ठोक्किएको थियो ।

जारी लिगमा थ्रीस्टारको गोल खडेरी देखिएको छ । टोलीले १९ खेल खेल्दा विपक्षीविरुद्ध मात्र १६ गोल प्रहार गरेको छ । यसपछि संकटाले १८ र मनाङ र पुलिसले १९ गोल गरेका छन् । तर, कम गोल खानेमा भने थ्रीस्टार चर्च ब्वाइजपछि रहेको छ । थ्रीस्टारले १४ गोल आत्मसात गरेको छ भने चर्च ब्वाइजले सबैभन्दा कम १२ गोल मात्रै आत्मसात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्