धोनीको खेलमा अपार दर्शक



नयाँ दिल्ली, (एजेन्सी) । दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्सबीच शनिबार भएको खेलमा रंगशालामा पहेँलो जर्सी लगाउने दर्शकको संख्या बढी रहेको छ । दिल्लीको अरुण जेटली रंगशालामा दिल्ली खेलेपनि एउटै नाम महेन्द्र सिंह धोनी गुंजिएको छ भने धोनीका समर्थकले जारी आईपीएलमा हरेक रंगशालामा उनको लागि पहेँलो जर्सी लगाएर समर्थन गरिरहेका छन् ।

चेन्नाईमा त उनको समर्थक हुने नै भयो तर, मुम्बईको वानखेडे रंगशाला, कोलाताको इडन गार्डेन्स रंगशालामा समेत उनको खेल हेर्न दर्शक ओइरहेका छन् । धोनीको यो अन्तिम आईपीएल सहभागिता भएर पनि उनको खेल छुटाउन कसैले चाहेका छैनन् । चेन्नाईको खेलमा पहेँलो जर्सी नलगाएको दर्शक कमै देखिन्छन् । चेन्नाईको खेलमा रंगशाला नै पहेँलोमय हुने गरिन्छ ।

चेन्नाईको जित

चेन्नाईले लिगको आफ्नो अन्तिम खेलमा दिल्लीलाई ७७ रनले पराजित गरेको छ । यो सँगै चेन्नाईको प्लेअफ खेल्ने पनि पक्का भयो । टोलीले कूल १४ खेलमा १७ अंक जोडेको छ । चेन्नाईले पहिले ब्याटिङ गरेर २ सय २३ रन बनाएको थियो । टोलीका लागि ओपनर ब्याटरको प्रदर्शन नै शानदार भयो । उनीहरुले पहिलो विकेटका लागि १ सय ४१ रनको साझेदारी गरेका थिए ।

ऋतुराज गायकवादले ७९ रन र डेभोन कोन्वेले ८७ रन जोडेका थिए । ऋतुराज १५ औं ओभरको तेस्रो बलमा चेतन साकरियाको बलिङमा आउट भएपछि यो जोडीको वर्चश्व तोडिएको थियो । कोन्वे भने १९ औं ओभरको दोस्रो बलमा आउट भएका थिए । उनको विकेट एनरिच नोर्येले लिएका थिए । यसपछि आएका ब्याटर शिवम दुबेले २२ र रविन्द्र जडेजाले २० रन बनाए भने धोनी ५ रनमा नटआउट रहे ।

वार्नरको शानदार प्रदर्शन

टोलीका अन्य ब्याटर छिटै आउट भएर दवावमा परेको थियो । पहिले नै प्लेअफबाट बाहिरिसकेको दिल्लीले बलिङ र ब्याटिङ दुबैमा निरस प्रदर्शन गरेको थियो । तर, दिल्लीका ओपनर डेभिड वार्नरले शानदार ब्याटिङ गरेका थिए । वार्नर एक्लैले चेन्नाईको बलिङलाई चुनौती दिएका थिए । वार्नर ८६ रन जोड्दै सातौं विकेटको रुपमा आउट भएका थिए । उनी आउट भएपछि दिल्लीमा रहेको जितको झिनो आसा पनि सकिएको थियो । दिल्ली १ सय ४६ रनमा समेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्