रियललाई हराउँदै म्यानचेस्टर सिटी फाइनलमा



लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

साविक विजेता तथा कीर्तिमानी १४ पटकका विजेता स्पेनिस क्लब रियल मेड्रिडमाथि सानदार जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलको दोस्रो लेगमा ४–० को तथा समग्रमा ५–१ गोलअन्तरको जित निकाल्दै सिटीले फाइनल यात्रा तय गरेको हो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिदा दोस्रो लेगमा सिटीले घरेलु मैदानमा एकपक्षीय प्रदर्शन गर्दै उपाधि नजिक पुगेको हो ।

इत्तिहाद स्टेडियम म्यानचेस्टरमा बुधबार राति भएको खेलमा सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एक गोल गरे । सिटीले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भएको थियो । खेलको २३औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाएका थिए । उनले केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भएका थिए । ३७औं मिनेटमा सिल्भाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि सिटी पहिलो हाफमा २–० ले अघि बढ्यो ।

खेलको ७६औं मिनेटमा म्यानुयल एकान्जीले गोल गरेपछि सिटी सहज जिततर्फ अघि बढ्यो । उनको प्रहार एडर मिलिसाओलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा परिवर्तित खेलाडी अल्भारेजले गोल गर्दै सिटीलाई सानदार जितसहित फाइनलमा पु¥याए । खेलको ८९औं मिनेटमा हालान्डको स्थानमा मैदान छिरेका अल्भारेजले अर्काे परिवर्तित खेलाडी फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए । घरेलु मैदानमा सिटीले सानदार प्रदर्शन गर्दा कीर्तिमानी १४ पटकको च्याम्पियन रियल मेड्रिडको प्रदर्शन भने बिर्सनलायक बन्दा लज्जास्पद हार बेहोर्न पुग्यो । दोस्रो हाफको शुरुमा सिटीलाई दवाबमा राखेपनि गोलरक्षक एडर्सन मोराएसले करिम बेन्जेमा र डेभिड अलाबाको प्रहारलाई बचाउँदा र तेस्रो गोल बेहोरेपछि रियलको खेलमा फर्कने सम्भावना टाढिएको थियो ।

सिटीले यसअघिको दुई संस्करणको सेमिफाइनलमा रियलसँगै पराजित हुँदा यसपटक सिटीले त्यो गल्तीलाई दोहो¥याएन । सिटी दोस्रोपटक फाइनलमा पुगेको हो । यसअघि सिटी सन् २०२०–२१ को सिजनमा फाइनलमा पुगेपनि चेल्सीसँग पराजित हुन पुगेको थियो । अब सिटीले उपाधिका लागि १० जुनमा इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । टर्कीको इस्तानबुलमा हुने फाइनलमा इन्टरलाई हराएर सिटी च्याम्पियन्स लिगको पहिलो उपाधि जित्ने लक्ष्यमा रहँदा इन्टर १३ वर्षपछि च्याम्पियन बन्ने योजनामा हुनेछ । सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले च्याम्पियन्स लिगको फाइनलमा सहज नहुने बताएका छन् । उनले इन्टर प्रतिस्पर्धात्मक टोली रहेको बताए । पेपले आफूहरु हामीसँग मानसिक रूपमा तयार हुने समय रहेको बताए । ग्वार्डिओलो जितले खुसी दिएको भए पनि आफूहरुसँग उत्सव मनाउने समय नभएको बताएका छन् ।

प्रिमियर लिगमा सिटीले आइतबार चेल्सीको सामना गर्दैछ । यदी यो खेल आफ्नो पक्षमा पार्न सके सिटी दुई खेल अगावै लिग च्यााम्पियन बन्नेछ । त्यसैगरी ग्वार्डिओलाले रियलविरुद्धको जितले गत वर्षको पीडालाई मल्हम लगाएको बताए । गत सिजनको सेमिफाइनलमा सिटी रियलसँग पराजित भएको थियो । इन्टरसँग च्याम्पियन्स लिगको फाइनल खेल्नुअघि सिटी प्रिमियर लिग र एफए कपको उपाधि नजिक छ । सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ । तीन उपाधिका साथ सिटी ट्रेबल जित्ने अभियानमा छ । तीनै उपाधि जित्न सफल भए सिटी ट्रेबल जित्ने दोस्रो इंग्लिस क्लब हुनेछ । यसअघि सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले पहिलो पटक एकै सिजन तीनवटा उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्