मच्छिन्द्र जोगियो, जावलाखेलको अग्रता खारेज



काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिग निकै रोमाञ्चक मोडमा पुगेको छ । बिहीबार भएका खेलमा तल रहेको टोलीले शानदार खेल देखाएपछि लिगमा रोमाञ्चक भइरहेको छ । मच्छिन्द्र क्लबलाई रेलिगेसन जोनमा रहेको टोली फ्रेन्ड्स क्लबले दरो चुनौती दिएको थियो । अर्को खेलमा जावलाखेललाई तल्लो क्रमको स्थानमा रहेको एनआरटीले रोक्यो ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा फ्रेन्ड्सले दुई पटक अग्रता बनाएर मच्छिन्द्रलाई हार चखाउन तयार भइसकेको थियो । तर, ओलावाले आफिजले दुबै पटक गोल फर्काएर मच्छिन्द्रलाई २–२ नतिजामा राखेर हारबाट जोगाए । खेलको ६७ औं मिनेटमा प्रकाश बुढाथोकीले गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रतामा राखे । तर, यो अग्रता केही मिनेटको लागि मात्रै सावित भयो । आफिजले चार मिनेटपछि गोल गरेर खेल १–१ बराबरीमा ल्याए ।

यसपछि ७९ औं मिनेटमा रफिक अमिनुले गोल गर्दा फ्रेन्ड्स खेलमा फेरि अग्रतामा पुग्यो । तर, यहाँनेर पनि यो अग्रतालाई फ्रेन्ड्सले रक्षा गर्न सकेन । आफिजले फेरि ४ मिनेटपछि नै गोल फर्काएका थिए । उनले गोल गरेपछि खेल पुन बराबरीमा फर्किएको थियो । अन्ततिर आफिजले दुई वटा क्लोज रेन्ज प्रहारमा गोल गर्न नसक्दा भने मच्छिन्द्र ३ अंक लिन वंचित भएको थियो ।

यो नतिजापछि मच्छिन्द्रको १९ खेलमा ३१ अंक भएको छ । टोली शीर्ष स्थानको चर्च ब्वाइजभन्दा २ अंकले पछि छ । यद्दपि चर्चले १९ औं चरणको खेल खेल्न बाँकी छ । दोस्रो स्थानमा जावलाखेल रहेको छ । जावलाखेलको १९ खेलपछि ३२ अंक भएको छ । शीर्ष तीन टोलीवीचको उपाधि होड जारी लिगमा रोचक बनिरहेको छ ।

दशरथ रंगशालामै भएको दोस्रो खेलमा जावलाखेलले पहिलो हाफमा अग्रता बनाएर स्पष्ट तीन अंक जोड्ने छनक देखाएको थियो । तर, दोस्रो हाफमा एनआरटीले गोल फर्काएर खेल १–१ बराबरीमा ल्यायो र यही स्कोरमा खेल सकियो । यो नतिजासँगै दुबै टोलीले एक–एक अंक बाँडे ।
यो नतिजापछि जावलाखेलको लागि उपाधि जित्ने संभावना पनि कमजोर बन्दै गएको छ । दोस्रो लेगका पछ्रिल्ला खेलमा जावलाखेलले त्यति राम्रो गर्न सकेको छैन । पहिलो लेगमा जावलाखेलले शानदार प्रदर्शन गर्दै शीर्ष स्थान लिएको थियो । अर्कोतिर बालगोपाल महर्जनले नेतृत्व सम्हालेपछि चर्च ब्वाइजको प्रदर्शनमा निकै सुधार भइरहेको छ । मुख्य खेलाडी अन्जन विष्ट टोलीमा फर्केपछि खेलाडीमा हौसला पनि बढेको छ ।

आफीज शीर्ष स्थानमा

मच्छिन्द्रका लागि दुबै गोल गरेपछि आफीज गोलकर्ताको सूचीमा शीर्ष स्थानमा पुगेका छन् । उनले जारी लिगमा १४ गोल गरिसकेका छन् । उनले पहिलो लेगमा खुमलटारविरुद्ध हेट्रिक पनि गरेका थिए । उक्त खेलमा उनले एक्लैले ५ गोल पनि गरेका थिए । दोस्रो स्थानमा जावलाखेलका मासोबी र खुमलटारका मेसुके रहेका छन् । उनीहरुले १३÷१३ गोल गरेका छन् ।

मनाङ पनि अग्रता जोगाउन असफल

हिजै भएको अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लबले दुई पटक अग्रता लिएर पनि जोगाउन सकेन । मनाङले संकटा क्लबसँग २–२ गोलको बराबरी खेल्नु प¥यो । मनाङका लागि दुवै गोल कोफी कोउडुले गर्दा संकटाका युसेफ एट्रिस र मनिष डाँगीले बराबरी गोल फर्काएका थिए ।
खेलको १९औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए । ४४औं मिनेटमा युसेफले गोल गर्दै खेललाई १–१ गोेलको बराबरीमा ल्याए । त्यसको एक मिनेटपछि नै कोफीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि मनाङले पहिलो हाफमा २–१ को अग्रता लिएको थियो ।

५२औं मिनेटमा मनिषले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि गोल नभएपछि खेल बराबरीमा सकियो । पछिल्लो ५ खेलमा मनाङको यो पाँचौ बराबरीमा हो । आर्मीलाई १–० ले पराजित गरेयता मनाङले लगातार ५ खेलमा बराबरी नतिजा आत्म सात गरेको छ । सातौं स्थानमा आएको मनाङको १९ खेलबाट २३ अंक भएको छ भने संकटा २२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्