भारत कर्नाटमा विधानसभा निर्वाचन : कंग्रेस आईलाई पूर्ण बहुमत

0
Shares

एजेन्सी । कर्नाटका विधानसभा निर्वाचनमा कंग्रेस आईले बहुमत प्राप्त गरेको छ ।  शनिबारदेखि सुरू भएको मतगणनाको अन्तिम परिणामअनुसार विधानसभाको १३६ सिट जित्दै कंग्रेसले सत्तामा पुनरागमन गरेको हो ।

कर्नाटका विधानसभामा २२४ सिट छन् । यहाँ बहुमतको सरकार बनाउन कम्तिमा ११३ सिट आवश्यक रहन्छ । १३६ सिट जितेको कंग्रेसले अब प्रदेशमा एकल बहुमतको सरकार बनाउनेछ ।

टाइम्स अफ इन्डियाका अनुसार कर्नाटकामा कंग्रेसको जित १९८९ पछिको सबैभन्दा ठूलो जित हो । यहाँ अघिल्लो निर्वाचनमा १०४ सिट जितेको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) यसपालि ६५ सिटमा खुम्चिन पुगेको छ । अबको पाँच वर्ष भाजपा सरकारबाहिर रहनेछ।

भारतका विभिन्न राजनीतिज्ञहरूले कर्नाटकामा भाजपाको हारलाई प्रधानमन्त्री नरेन्द्र मोदीको हार भनेका छन् । लगातार दुई कार्यकाल सत्ता चलाइरहेका मोदीलाई कर्नाटकाको चुनावी परिणामले ठूलो धक्का लागेको छ ।

कर्नाटकामा भाजपा पराजय हुनुको सम्पूर्ण जिम्मेवारी लिँदै मुख्यमन्त्री बासवराज बोम्माईले राजीनामा दिएका छन् ।  यहाँ जेडिएसले १९ र अन्य दलले ४ सिट जितेको छ ।

कंग्रेसले बहुमत ल्याएपछि अब त्यहाँको मुख्यमन्त्री को बन्ने भन्ने विषय पेचिलो बन्ने भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । त्यहाँ प्रदेश अध्यक्ष डीके शिवकुमार र पूर्वमुख्यमन्त्री सिद्धारमैयाले मुख्यमन्त्रीको दाबी गर्दै आएका छन् ।

मुख्यमन्त्रीको विषयमा छलफल गर्न कंग्रेसले आज बैठक बोलाएको छ । कर्नाटकामा बुधबार विधानसभाको निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनम ७३.१९ प्रतिशत मत खसेको थियो। यसलाई अहिलेसम्मकै रेकर्ड भनिएको छ ।

कर्नाटकाको  सत्तामा पुनरागमन हुनुको महत्व कंग्रेसका लागि त्यो राज्यमा मात्र सीमित हुने छैन । यही वर्ष छत्तीसगढ, मध्यप्रदेश, मिजोरम, राजस्थान र तेलंगनामा विधान सभाको चुनाव हुँदैछ । छत्तीसगढ र राजस्थानमा कंग्रेसको सरकार छ ।

ती राज्यमा आफ्नो सरकार जोगाएर अन्त पनि बहुमत ल्याउन कंग्रेसलाई कर्नाटकाको जितले हौसला दिनेछ । त्योसँगै अर्को वर्ष हुने आम निर्वाचनका लागि पनि कर्नाटकाको चुनावले अर्थ राख्नेछ। कर्नाटकामा लोकसभाका २८ सिट छन् ।