लोपोन्मुख हुँदै घाटु नाच, संरक्षणमा युवा



स्याङ्जा । 

गुरुङ समुदायको संस्कृतिसँग जोडिएको नृत्य हो सतीघाटु । पछिल्लो समय यो नृत्य हराउँदै जान थालेको छ । रजस्वला नभएका कन्याहरुलाई ३ दिनसम्म नचाएर मनाउने सती घाटु नृत्य संरक्षण गर्न अहिले युवायुवतीहरु लागिपरेका छन् । स्याङ्जाको वालिङ नगरपालिका ३ राम्चेका युवाहरुले यसको संरक्षणमा ध्यान दिन थालेका छन् ।

युवाहरुकै सक्रियतामा यही वैशाख पुर्णिामाको दिनदेखि तीन दिनसम्म उक्त नृत्य प्रदर्शन गरिएको थियो । विशेष गरी गुरुङ समुदायमा नाचिने घाटु अहिले अधिकांश ठाउँबाट लोप भैसकेको अवस्था छ । विश्व महामारीका कारण घाटु नृत्य प्रदर्शनमा केही वर्ष स्थगन भएपनि यसवर्ष बाट भने शिवमित्र तमु युवा परिवारको व्यवस्थापनमा निरन्तरता दिन लागेको हो । पौराणिक कथाहरुमा आधारित घाटुका विभिन्न प्रकारमध्ये सती घाटु कमै ठाउँमा नाच्ने गरिन्छ । यसको सुरुवात र समापन निकै रोचक हुने स्थानीय शिवमित्र तमु युवा परिवारका अध्यक्ष देवराज गुरुङले बताउनुभयो ।

“पहिला–पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ । नयाँ पुस्ताको चासो कम छ”, वालिङ नगरपालिका–८ आग्री डाँडाका केशभक्त गुरुङले भन्नुभयो, “अहिले कतै–कतै मात्रै घाटु नचाएको पाइन्छ ।” बदलिँदो अवस्थाअनुसार नयाँ पुस्तामा संस्कृतिप्रति कम चासो भएकाले घाटु लोप हुँदै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिला–पहिला घाटु नचाउँदा निकै उल्लासपूर्ण अवस्था हुन्थ्यो, अहिले त संरक्षणका लागि मात्रै भनेर घाटु नचाउने गरेको पाइएको छ ।”

यो नृत्य शुरु भएपछि गाउँमा कुनै पनि ठुला काम गर्न हुँदैन भन्ने मान्यता रहेको छ । घाटु सुरु हुनुपुर्व गाउँको चारै दिशातिर देवी देउतालाई भाक्ने गरिन्छ । नृत्य चलिरहेका बेला कुनै भूत, पिचासको आगमन नहोस् भनेर देवी देउतालाई सम्झिने अध्यक्ष गुरुङले बताउनुभयो । हरेक वर्षको बुद्ध पूर्णिमामा प्रदर्शन हुने यो नृत्यमा कन्याहरुले तिन दिन सम्म एक छाक मात्रै खाना खाएर सहभागी हुने गर्दछन् । नृत्यमा सहभागी हुने कन्याहरुले रातको १२ बजेपछि मात्रै खान पाउँछन् । बिजोर कन्याहरुबाट नचाइने यो घाटुमा धेरैजसो ५, ७, ९ र ११ जना सम्म रहने गर्दछन् ।

बाध र साज श्रृगार भन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको सती घाटुमा गुरुवा गुरुआमाले गीतबाटै मंगलचरण गरी घाटु देवता जगाउने, घाटुसारी चयन, नृत्यकला सिकाउने, सती ढलाउने, सती जगाउने आदि काम गर्दछन् । अहिलेका युवापुस्तालाई आफ्नो संस्कृतिप्रति जिम्मेवारी बोध गराउन र पुर्खौँदेखि चल्दै आएको संस्कृतिको जगेर्ना होस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको शिवमित्र तमु युवा परिवारका सल्लाहकार धनु गुरुङले बताउनुभयो ।

वैशाख २२ गतेदेखी सुरु भएर २४ गते बेलुका यो नाच समापन भएको धनु गुरुङले जानकारी दिनुभयो । घाटु नाच नजिकैको डाँडासम्म नाच्दै पूजाआजा सहित बली दिएर समापन गरिएको छ । यो नृत्य चलिरहँदा गुरुङ समुदायमा ठुलै चाडबाडमा झैँ बाहिर रहेका गुरुङ दाजुभाइ दिदिबहिनीहरुको सहभागिता हुने गर्दछ । यसको संरक्षणमा सरकारी तवरबाट अहिले सम्म कुनै पहलकदमी नभएको गुरुङ समुदायको गुनासो छ । यो संस्कृतिको जगेर्ना र संरक्षणमा ध्यान दिने हो भने भावी पुस्ताले पनि घाटुको अनुभव गर्न पाउने उनीहरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्