म्याग्दीको कालीपुल बसपार्कका होटल तथा रेस्टुरेन्टमा अनुगमन



म्याग्दी ।

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित होटल तथा रेस्टुरेन्टहरुको आज (सोमबार) अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा बेनी नगरपालिका–८, कालीपुल बसपार्क र हस्पिटलचोकमा सञ्चालित होटल तथा रेस्टुरेन्टहरुको अनुगमन गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका खाद्य निरीक्षक प्रेम अर्यालको नेतृत्वमा म्याग्दी सदरमुकाम समेत रहेको बेनीको कालीपुल बसपार्क क्षेत्रमा सञ्चालित होटल तथा रेस्टुरेन्टहरुको अनुगमन गरिएको कार्यालयले जनाएको छ । खाद्य निरीक्षक अर्याल नेतृत्वको अनुगमन टोलीले कालीपुलको कृपा होटल एन्ड रेस्टुरेन्ट, मिरा रेस्टुरेन्ट एन्ड खाजा घर, खयरबराही होटल, सुवास होटल थकाली भान्छा घरको अनुगमन गरेको थियो ।

यसैगरी कालीपुल बसपार्कमै सञ्चालित दाना होटल एन्ड थकाली भान्छाघर, होटल महत, न्यु शिख होटल एन्ड लज, वेलकम रेस्टुरेन्ट, होटल थकाली शेरचन भान्छाघर, मिना क्यान्टिन एन्ड रेस्टुरेन्ट, थकाली माइला रेस्टुरेन्ट, रियाना रेस्टुरेन्ट, बागलुङ रेस्टुरेन्ट, थकाली प्रमित भान्छाघर, निसी गलकोट होटल र न्यु निशा थकाली होटल एन्ड लजसहित कुल २३ वटा होटल तथा रेष्टुरेण्टहरुमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका अर्का खाद्य निरीक्षक सहन्साकुमार मेहताले बताउनुभयो ।

अनुगमनको क्रममा अधिकांश होटलहरुको किचनमा सरसफाइको कमी देखिएको छ भने मदिराजन्य पदार्थ बिक्री वितरण गरेको भए पनि कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट इजाजतपत्र नलिईकन म्याद सकिएका मदिराजन्य पदार्थहरु बिक्री गरेको पाइएको छ । त्यस्तै केही होटल तथा रेष्टुरेण्टहरु दर्ता तथा नवीकरण नभएको जस्ता कमी कमजोरीहरु पनि भेटिएका छन् । अनुगमनको क्रममा भेटिएका कमी कमजोरीहरुलाई तत्काल सुधार गर्न निर्देशन दिइएको बताइएको छ।

होटल तथा रेष्टुरेण्टहरुको अनुगमनमा खाद्य निरीक्षकद्वय अर्याल र मेहतासहित पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषनाथ शर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, जिल्ला प्रहरी कार्यालय, बेनी नगरपालिकालगायत कार्यालयबाट सहभागिता रहेको थियो । यसअघि पनि खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले म्याग्दीको बेनीबजारमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरुको अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्