हरिया रुख काट्न रोक लगाएपछि सालका रुख सुकाइँदै



डडेल्धुरा । वन विनास र तस्करीका कारण पटक पटक चर्चामा आउने गरेको डडेल्धुराको भित्री मधेस क्षेत्रमा हरिया सालका रुखहरु सुकाईन थालिएको छ ।

डिभिजन वन कार्यालय डडेल्धुराले हरिया रुख काटन रोक लगाएपछि काठ तस्करीमा संलग्न ब्यक्तिहरुले हरिया सालका रुखमा रिङ लगाएर सुकाउन थालेका हुन् । वन क्षेत्रमा रहेका हरिया सालका रुखको फेदमा रिङ काटेर सुकाउने काम भइरहेको स्थानीय बताउँछन् ।

भित्री मधेस क्षेत्रका अधिकांस सामुदायीक वन र राष्ट्रिय वन क्षेत्रमासमेत हरिया सालका रुखहरु सुकाउन थालिएको स्थानीय अगुवा हरिप्रसाद पनेरुले बताउनुभयो । ‘कतिपय स्थानमा रुखको फेदमा रिङ काटेर सुकाईन थालिएको छ भने कतिपय वन क्षेत्रमा सालका हरिया रुखमा बर्माले प्वाँल बनाएर हिङ राखेर रुख सुकाउने काम भइरहेको छ ।’

विभिन्न राजनीतिक दलसँग सम्वद्ध काठका ठेकेदारहरुले मजदुर लगाएर रुख सुकाउने काम गरिरहेको स्थानीय बताउँछन् । वन विनास कार्यमा संलग्न भएको भन्दै भित्री मधेस क्षेत्रका एक सय आठ सामुदायीक वनका पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतको फैसलापछि हाल सर्वोच्च अदालतमा वन विनास सम्बन्धि मुद्दा विचाराधिन छ ।

वन विनास कार्यमा संलग्न कुनै पनि काठका ठेकेदारलाई कारबाही नभएकाले पछिल्लो समय उनीहरुको मनोबल बढ्दै गएको हुँदा वन विनासमा संलग्न हुने गरेको स्थानीयको गुनासो छ । सामुदायीक वन उपभोक्ता समितिका पदाधिकारीलाई प्रभावमा पारेर सामुदायीक वन क्षेत्रमा काठका ठेकेदारहरुले मनोमानी वन विनास गर्न थालेको स्थानीय वीरसिँह क्षेत्रीले बताउँनुभयो ।

परशुराम नगरपालिका ६ मा रहेका बिभिन्न वन क्षेत्रमा सालका रुख सुकाउन रिङ लगाएको घटनाका सन्दर्भमा स्थलगत अध्ययन गर्न डिभिजन वन कार्यालय डडेल्धुराको टोली घटनास्थल पुगिसकेको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख रामविचारी ठाकुरले बताउँनुभयो ।

हरिया रुख काटन कडाई गरिएकाले सालका रुख सुकाउने काम भइरहेको वनकर्मीहरु बताउँछन् । वन विनासका कारण वर्षेनी बाढी पहिरोको जोखिम बढ्दै गएको अबस्थामा यथाशीघ्र वन विनास रोक्न स्थानीयले माग गरेका छन् ।

चुरे क्षेत्र वन तथा पर्यावरण संरक्षण समन्वय समितिका अध्यक्ष कैलाशकुमार पाण्डेयले भित्री मधेस क्षेत्रमा वन विनासका कारण प्राकृतिक प्रकोपको जोखिम बढ्दै गएको बताउँनुभयो । उहाँले अत्यन्तै सम्वेदनशिल मानिने चुरे पर्वतको काखमा रहेको भित्री मधेस क्षेत्रमा वन जङ्गल विनासको सिलसिला कायमै रहेमा बस्तीहरुको अस्थित्व संकटमा पर्नसक्ने बताउँनुभयो ।

वन विनाससँगै भित्री मधेस क्षेत्रमा वन अतिक्रमणसमेत बढदै गएको छ । वर्षेनी वन अतिक्रमण बढन थालेकाले अतिक्रमित वन क्षेत्र खाली गराउने पहल भइरहेको जोगबुडास्थित सव डिभिजन वन कार्यालयले जनाएको छ । ‘योजनावद्ध रुपमा वन विनास र अतिक्रमण रोक्न पहल थालेका छौ,’ सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले भन्नुभयो, ‘वन अतिक्रमण गरिएको क्षेत्र खाली गराउँनका लागि स्थानीय तह र सबै सरोकारवाला निकायहरुसँग छलफल भइरहेको छ ।’

सामुदायीक वन उपभोक्ता महासंघ परशुराम नगर समितिले भित्री मधेस क्षेत्रमा भइरहेको वन विनास र अतिक्रमण रोक्न माग गरेको छ । वन तस्करी र फडानीमा संलग्न व्यक्तिलाई कडा कारबाही हुनुपर्ने महासंघका केन्द्रीय प्रतिनिधि लालबहादुर थापाले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्